सयौँ विद्यार्थी विद्यालयबाहिर

|

सिन्धुपाल्चोक : ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बर्सेनि घट्दो क्रममा रहेको छ। पठनपाठन राम्रो नभएपछि सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा कमी आएको हो।

आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउने र आफू सामुदायिक विद्यालयमा अध्यापन गर्ने प्रचलनले गर्दा सामुदायिक विद्यालयको पठनपाठन कमजोर बन्दै गएको हो। स्थानीय तहको निर्वाचनपछि सिन्धुपाल्चोकका केही तहले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकले आफ्नो छोराछोरी निजी विद्यालयमा पढाउन नपाउने महत्वपूर्ण निर्णय गरेका छन्। 

गरिब जनताका छोराछोरीले पढ्ने विद्यालयमा शिक्षककै कारणले पठनपाठन कमजोर बन्दै जाने भएकाले निजी विद्यालयमा सामुदायिक विद्यालयमा पढाउँने शिक्षकको छोराछारीले पढाउन नपाउने निर्णय गरेको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले जनाए। ‘हामीले यस्तो निर्णय गरेपछि सामुदायिक विद्यालयको पठनपाठनमा केहि सुधार आएको पाएका छौँ, त्यसैले समान शिक्षा पाउने अधिकार भएकाले सबैले समान शिक्षा पाउनुपर्ने हाम्रो धारणा छ’ उनले भने।

सयौँ विद्यार्थी विद्यालयबाहिर

सिन्धुपाल्चोक जिल्ला पहिलो साक्षर जिल्ला भएपनि यहाका सयौं बालबालिका विद्यालय बाहिर रहेको जिल्ला शिक्षाविकास तथा समन्वय समितीको प्रमुख गौरीशंखर पाण्डे बताउँछन्। सिन्धुपाल्चोक जिल्लामा जनजातिको बहुल्यता छ, जनजाती र पीछडिएका क्षेत्रका सयौँ बालकालिका अझै विद्यालय जान नपाएका बताए। 
अशिक्षा, गरिबी र आर्थिक अभावको कारणले विद्यालय उमेरका बालबालिका हातमुख पाल्नकै लागि विभिन्न क्षेत्रमा काम गर्न जाने गरेको उनको भनाइ छ। सिन्धुपाल्चोक जिल्लाका दनुवार, तामाङ, पहरीजातीको बसोबास भएका भेगका धेरै बालबालिका विद्यालय बाहिर रहेका छन्। विद्यालय छाड्ने र सानैमा उमेर बढाएर वैदेशिक रोजगारीमा जानेको संख्या व्याप्त भएको उनको भनाइ छ। 

गतबर्षमा सिन्धुपाल्चोकमा ६ सय ४४ जना विद्यार्थी विद्यालय बाहिर रहेको उनको भनाइ छ। ‘यसवर्ष हामीले विद्यार्थीलाई विद्यालयमा भर्ना गराउन तहतहमै विशेष अभियान नै चलाएको हुनाले अब कति विद्यार्थी विद्यालय बाहिर छन् भन्ने यकिन तथ्यांक छैन’ प्रमुख पाण्डेले भने।  

जनप्रतिनिधि आएपछि शिक्षामा सुधार 

स्थानीय तहकोे निर्वाचनपछि दुई दशकपछि जनताले जनप्रतिनिधि पाएका छन्। जनप्रतिनिधि पाएपछि शिक्षामा सुधार आएको पाइएको छ। १२ वटा स्थानीय तह रहेको सिन्धुपाल्चोकको लिसंखुपार गाउँपालिका नेपालमै पहिलो पूर्ण बालबालिका विद्यालयमा सुनिश्चित भएको घोषणा भएको छ। 
भदौको ५ गते प्रदेश तीनका सामाजिक विकास मन्त्री युवराज दुलाल शरदले पालिकालाई पूर्णरूपमा बालबालिका विद्यालयमा भएको घोषण गरे। यस्तै, बलेफि र पाँचपोखरी थाङपाल गाउँपालिकाले पनि पूर्णरूपमा बालबालिका विद्यालयमा भएको सुनिश्चित गर्न अन्तिम चरणमा पुगेको जनाएको छ।     

पाँच विद्यार्थी, चार शिक्षक ! 

मेलम्ची नगरपालिका-११ सालबिसौनाको भैरवीदेवी आधारभूत विद्यालय विद्यार्थीको संख्या अत्यन्तै न्यून रहेको छ। विद्यार्थी अभावकै कारणले बन्द हुने अवस्थामा पुगेको छ। विद्यालयमा जम्मा पाँच विद्यार्थी मात्र नियमित आउँने गरेको पाइएको छ भने चार शिक्षक रहका छन्। स्थानीय प्रेमबहादुर तामाङको दुई कोठे घर भाडामा लिएर अस्थायी रुपमा पढाइ सञ्चालन भइरहेको छ। 

मेलम्ची नगरभित्र अरू सात विद्यालयको अवस्था पनि यस्तै रहेको मेलम्ची नगरपालिकाका स्रोतव्यक्ति भीम कार्की बताए। ‘यस्ता विद्यालयलाई कसरी अगाडि बढाउने भन्नेमा नगरपालिकामा छलफल चलिरहेको छ’ उनले भने। विद्यार्थी संख्या बढाउन लागिरहेको तथा बैठक बसेर यसबारे के गर्ने भन्नेमा आफुहरु लागिरहेको व्यवस्थापन समितिका अध्यक्ष दिनेश घलेले जनाए। विद्यालय व्यवस्थापन समिति, स्थानीयवासी र शिक्षकको बेवास्ताका कारण विद्यालय बन्द हुने अवस्थामा पुगेको हो । विद्यालयमा शिक्षक तथा विद्यार्थी दैनिक हाजिरीसमेत नहुने गरेको पाइएको छ । 

धेरै विद्यालय बन्द हुने अवस्था 

सिन्धुपाल्चोक जिल्लामा विद्यार्थी अभावको कारणले धेरै विद्यालय बन्द हुने अवस्थामा पुगेको छन्। विद्यालयमा विद्यार्थी भर्ना हुने तर, नियमित विद्यालय नआउने भएकाले धेरै विद्यालय बन्द हुने अवस्थामा पुग्न लागेको जिल्ला शिक्षा विकास तथा समन्वय समितीका प्रमुख पाण्डे जनाए।  ‘हामीले यस्ता विद्यालयलाई कसरी अगाडि बढाउने भन्नेमा छलफल चलाइरहेका छौँ, अब स्थानीय तहका जनप्रतिनिधिकै सहमतिमा निर्णय गर्ने छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.