|

दाङ : प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले दाङको गढवा गाउँपालिका- ८ मा रहेको सिद्ध बाघनाथ बाबा जंगलकुटीलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने बताएका छन्। उक्त क्षेत्र आइतबार अवलोकन गर्दै मन्त्री गिरीले थारू समुदायको धार्मिक आस्थाको धरोहरसमेत रहेको जंगलकुटीलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने बताएका हुन्।

मन्त्री गिरीले त्यसका लागि गुरुयोजना बनाएर काम गर्ने जानकारी दिए। ‘जंगलकुटी पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र रहेछ’, उनले भने, ‘त्यसलाई प्रदेश ५ को महत्त्वपूर्ण पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिन्छ।’ पर्यटन नै समृद्धिको एउटा आधार भएको भन्दै उनले जंगलकुटीलाई पर्यटकलाई आकर्षण गर्न सक्ने गरी व्यवसायमुखी पर्यटनको विकास गर्न सकिने बताए। मन्त्री गिरीसँगै प्रदेश ५ का प्रदेशसभा सदस्य इन्द्रजीत चौधरी, दामा शर्मा, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवलगायतले पनि अवलोकन गरेका थिए।

वि.सं. १८७९ मा भुवनेश्वर नाथले सिद्धि प्राप्त गरेको सिद्धनाथ बाबा जंगलकुटीलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विस्तार गर्न अन्य सरकारी तथा निजी क्षेत्रले समेत ध्यान दिएका छन्। यसअघि पनि कुटी संरक्षण समितिले कुटी क्षेत्रमा अतिथिगृह, शौचालय र कार्यालय निर्माण, मन्दिर क्षेत्रलाई सुरक्षित राख्न तारबार, मुख्य प्रवेशद्वार तथा पुरानो संरचना नबिग्रिने गरी भवनको चारैतर्फ पिलरसहितको छत निर्माण तथा रङरोगन गरिएको छ।

ऐतिहासिक महत्त्व तथा पुरातात्त्विक सम्पदासमेत रहेको कुटीमा सिद्धि प्राप्त गरेका भुवनेश्वरनाथ बाघमा चढेर जंगल घुम्ने गरेकाले उनलाई ‘बाघनाथ’ भन्न थालिएको कुटीका पुजारी देवीसिंह चौधरीको भनाइ छ। कुटीमा बाघनाथ बाबाको पूजाअर्चनाका लागि माघे स‌ंन्तिमा सबैभन्दा ठूलो मेला लाग्ने गर्छ भने दशैँ, तिहार, शिवरात्रि र चैते दशैँमा समेत भक्तजन आउने गर्छन्। बाबाको खराउ, खाट, पूजाको सामग्री, ओछ्यानलगायत थुप्रै पुरातात्त्विक सामग्री कुटीमा रहेका छन् भने १९३ वर्षअघि अँगेनामा बालिएको आगोलाई अझै निभ्न दिइएको छैन। थारू समुदायमा उत्पादन गरेका अन्नपात सर्वप्रथम बाबाको कुटीमा चढाई मात्र आफ्ना लागि प्रयोग गरेमा निरोगी हुनुका साथै बाबाको आशीर्वाद सधैँ प्राप्त हुने विश्वास रहिआएको छ।

ऐतिहासिक रूपमा अगाध धार्मिक आस्था रहेको उक्त जंगल कुटीलाई राष्ट्रिय तथा विश्व सम्पदा सूचीमा अभिलेखीकरण गर्न सकियो भने ऐतिहासिक सम्पदाको संरक्षणमा कोसेढुंगा सावित हुने र पर्यटकीय सम्भावनासमेत बढाउने विश्वास गरिएको छ। दाङ-बुटवल सडक खण्डको कालाकाटेबाट १६ किलोमिटर पश्चिम गढवा-कालाकाटे सडकमा पर्ने गोवरडिया गाउँदेखि ७ किलोमिटर दक्षिण चुरे पहाडको काखमा जंगलकुटी रहेको छ।

जंगलकुटीको पहाडको टुप्पो, जसलाई भ्यूटावर पनि भन्ने गरिएको छ, यस स्थलबाट हेर्दा देउखुरी उपत्यकाको अधिकांश भूभागको दृष्य देख्न सकिन्छ। रोल्पाबाट माण्डवी र प्युठानबाट झिमरुक दुवै नदीको संगम स्थल ऐरावतीमा बनेपछि नामकरण हुने राप्ती नदीको नागबेली आकृति, उर्वरा खेतीयोग्य भूमि, राजमार्ग दायाँबायाँमा बाक्लो बस्तीको मनोरम दृष्य भ्यू टावरको चुचुराबाट अवलोकन गर्न सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.