|

बागलुङ : कुश्मीसेरा स्वास्थ्य केन्द्रमा भित्र्याइएको एक्सरे मेसिन एक वर्षदेखि कामविहीन बनेको छ। स्वास्थ्य केन्द्रमा सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति (स्वास्थ्य बीमा) कार्यक्रममार्फत् भित्र्याइएको मेसिन प्राविधिक जनशक्तिको अभावमा कामविहीन बनेको हो।

वार्षिक ५० हजार रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य उपचार गर्ने आशासहित प्रति परिवार न्यूनतम दुई हजार ५०० रुपैयाँ तिरेर बीमा गरेकालाई लक्षित गरी ल्याइएको एक्सरे मेसिन संचालन नहुँदा समस्या भएको स्थानीयबासी बताउँछन्। स्वास्थ्य बीमा कार्यक्रमले त्यस क्षेत्रमा स्वास्थ्य बीमामा आवद्धलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले एक्सरे मेसिन दिए पनि जनशक्ति नभएका कारण संचालनमा समस्या आएको स्वास्थ्य केन्द्रले जनाएको छ।

स्वास्थ्य बीमाले केन्द्रमा ल्याइएको मेसिन डार्क रुममा प्रयोग हुने अत्यावश्यक सामग्री नभएको र अहिले जनशक्ति नभएको भन्दै बन्द कोठामा राखिएको छ। ‘गत वर्षको भदौमा मेसिन आएको हो। २०-२५ दिन पहिला मात्रै डार्क रुमको सामान आयो’, स्वास्थ्य केन्द्रका प्रमुख डा. विजय शर्माले भने, ‘मेसिन चलाउने दक्ष जनशक्ति नभएका कारण सेवा सुरु गर्न सकिएको छैन।’

स्वास्थ्य केन्द्रले मेसिन चलाउनका लागि आवश्यक तालिम दिन समितिलाई आग्रह गर्दै आएको छ। ‘हामीले स्वास्थ्य केन्द्रमा कार्यरत अहेव डिल्लीप्रसाद शर्मालाई मेसिन चलाउन आग्रह गरेका छौँ। आवश्यक प्राविधिक ज्ञान दिए उनी काम गर्न तयार छन् तर तालिम नदिँदा काम गर्न सकेका छैनौँ’, डा. शर्माले भने। बीमाले दिएको मेसिनकाे मोडल र ब्राण्डको विषयमा समेत आफूहरूलाई जानकारी नभएका कारण जनशक्ति व्यवस्थापन गरेर तालिम दिन नसकिएको शर्माले बताए। ‘दिएको मेसिन कस्तो हो भन्ने विषयमा जानकारी नै छैन। कहाँ तालिम दिन सकिन्छ? कसरी दिने केही जानकारी छैन’, शर्माले भने। सेवा क्षेत्रभित्रका धेरै परिवार स्वास्थ्य बीमा कार्यक्रमसँग जोडिएकाले स्वास्थ्य केन्द्रमा आउने प्राय:ले निःशुल्क उपचारका साथै एक्सरे गर्न आवश्यकलाई धौलागिरी अंचल अस्पतालमा पठाउनुपरेको छ।

स्वास्थ्य केन्द्रमै एक्सरे सेवा भएकाले ५० हजार रुपैयाँ बराबरको नि:शुल्क स्वास्थ्य उपचार, बीमा गराइने अाश्वासन दिने गरिएकाे भए तापनि सर्वसाधारण स्वास्थ्य केन्द्रमा आएर सामान्य एक्सरे सेवासमेत नपाउँदा झर्किने र रिसाउने गरेका छन्। मेसिन किन नचलेको हो भन्ने विषयमा केन्द्र प्रमुखसँग सोधपुछ गरेको व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र थापाले बताए। ‘बीमाले दिएको मेसिन कसरी चलाउने भन्ने विषयमा हामीलाई जानकारी छैन’, थापाले भने, ‘पटक-पटक ताकेता गरेका छौँ। तालिम दिन्छौँ भन्दै म्याद सार्दै गर्दा एक वर्ष बितिसक्यो।’

आउँदो दशैँभित्र तालिम दिने आश्वासन दिएको भन्दै थापाले बीमाले तालिम दिन नसके आफैँ तालिम दिएर भए पनि एक्सरे संचालनमा ल्याउने बताए। यता, जिल्ला स्थास्थ्य कार्यालयले भने प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समितिले प्राविधिक जनशक्तिको व्यवस्थापन गर्नुपर्ने जनाएको छ।

स्वास्थ्य केन्द्रहरूमा एक्सरे मेसिन संचालनका लागि प्राविधिक दरबन्दी नहुने भएकाले स्थानीय स्रोतको परिचालन गरेर जनशक्ति व्यवस्थापन गर्नुपर्ने स्वास्थ्य कार्यालय गण्डकी प्रदेश बागलुङका प्रमुख दीपक तिवारीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.