|

धनकुटा : प्रदेश १ को पर्यटकीय स्थल धनकुटाको भेडेटारमा रहेको पुनर्निर्माण भइरहेको भ्युटावर अलपत्र बनेको छ। यहाँ रहेको भ्युटावर भूकम्पले जीर्ण बनेपछि पुनर्निर्माण थालिए पनि काम निरन्तर नहुँदा अलपत्र बनेको हो।

दुई वर्षअघि  निर्माण सुरु भएको भ्युटावर चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको भेडेटारका होटल व्यवसायी तथा निर्माण समितिका अध्यक्ष रमेश सुब्बाले बताए। ५१ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिएको भ्युटावरको हालसम्म २५ लाख रुपैयाँ बराबरको काम भइसकेको छ।

उक्त रकम तत्कालीन जिल्ला विकास समिति धनकुटाको १५ लाख रुपैयाँ र पर्यटन विकास कार्यालयको १० लाख रुपैयाँ हो। ‘यसपटक साँगुरीगढी गाउँपालिकाले १० लाख विनियोजन गरेको छ भने बाँकी १६ लाख कसले दिने अन्यौल रहेको छ’, सुब्बाले भने, ‘१६ लाखको बजेट पर्यटन कार्यालयले दिने भनिए पनि संघीय प्रणालीमा पर्यटन कार्यालय प्रदेश र स्थानीय तहमा गाभिएपछि अन्यौल भएको हो।’

साँगुरीगढी गाउँपालिकाले विनियोजन गरेको १० लाख र सबैतिर पहल गरेर १६ लाखको बजेटको पनि टुंगो लगाएर यही महिनाबाट निर्माण सुरु गर्ने सुब्बाले बताए। भूकम्प अगाडि ६० फिट अग्लो रहेको टावर भएको ठाउँमा नयाँ टावर ४९ फिटको हुने बताइएको छ।  

पुनर्निमाण हुँदै गरेको भ्युटावर भेडा जुधेको आकृतिको बनाइने बताइएको छ। उक्त भ्युटावर आगामी बैशाखसम्म सञ्चालनमा ल्याउने निर्माण समितिको दावी छ।

भ्युटावर नहुँदा घाटा

भ्युटावर नभएकाले कम पर्यटक आउने र आएका पर्यटकले आफ्नो ठाउँमा गएर भ्युटावर नभएको भनेर प्रचार गर्ने भएकाले पर्यटकको संख्यामा कमी आएको यहाँ रहेका व्यवसायीको गुनासो छ। पर्यटक कमी आउन थालेपछि व्यवसायमा गिरावट आएको सुब्बाले बताए।

सन् १९८० मा भेडेटारको डाँडामा सबैभन्दा पहिला चढेका बेलायती राजकुमार चाल्र्स डार्बिनको नाममा उक्त ठाउँको नाम चाल्स प्वाइन्ट राखिएको हो।

अर्को पनि टावर

भेडेटारमा अर्को नयाँ भ्युटावर पनि बन्ने भएको छ। नयाँ भ्युटावरका निर्माणका लागि विराट क्षेत्र पर्यटन प्रवद्र्धन समितिले जग्गा खोजिसकेको छ। भेडेटार बजारबाट करिब डेढ किलोमिटर पश्चिमको पाथीभरा मन्दिर जाने बाटो अगाडि रहेको साँगुरीडाँडामा नयाँ भ्युटावर बनाइने जनाइएको छ। 
उक्त टावर भूकम्प प्रतिरोधी हुने विराट क्षेत्र पर्यटन प्रवर्धन समितिका कार्यकारी निर्देशक गणेशराज तिम्सिनाले बताए।

नयाँ टावर चाल्स पाइन्टको भन्दा केही अग्लो हुने र क्षेत्रफल पनि ठुलो हुने बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.