|

उदयपुर : उदयपुर सिमेन्ट उद्योग स्थापना भएको २५ वर्षपछि उद्योगका केही मेसिनका पार्टपुर्जाको मर्मत र काम नलाग्ने पार्टपुर्जा फेरिएको गरिएको छ। करिब आठ करोड रुपैयाँ लागतमा उद्योगका महत्त्वपूर्ण पार्टपुर्जा मर्मत र परिवर्तन गरिएको उद्योगले जनाएको छ। 

उद्योगका मेकानिकल विभागका कर्मचारी टीका कुँवरका अनुसार स्थापना भएदेखि मर्मत नभएका सामानको मर्मत र केही परिवर्तन गर्न थालिएको हो। ‘धेरै सामानहरु खिएर कामै नलाग्ने र केही टुटेर उद्योग बन्द हुने अवस्था आएको थियो,’ उनले भने, ‘पाँच दशमलब एकमिटर भट्टी(किल्लर) नै चेन्ज गरिएको र धेरै पुरानो भएका पार्टपुर्ज मर्मत गर्ने र चेन्ज गर्ने काम भइरहेको छ।’

उद्योगमा पहिलो पटक ग्राफाइड सिल जडान गरिएको छ। २४ मिटर लम्बाइ र चार मिटर चौडाइ भएको कुलर, ग्राफभेड वेल्ड फिल्टर, एकपेन्सन जोइन्डको १४ ठाउँमा मर्मत गरिएको जनाइएको छ।

रमिल फ्यान, जिबिएस फ्यान, एफसिएफ फ्यान, १५ टनको ६ ठाउँमा डक चेन्ज, टोटल लुब्रिकेट स्टिम, लाइन्भर, बकट एलिवेल्ट, ४० वटा प्रेसर टान्मिटर चेन्ज, भेरी लेबल फ्रिकुइन्सी ड्राई पाँचवटा चेन्ज, इलेक्स सर्भिस गरिएको छ। ‘स्थापना भएको २५ वर्षपछि उद्योगले आठ करोड लागतमा मर्मत गरेको हो,’ नायब महाप्रबन्धक महेश काफ्लेले भने, ‘अबका दिनमा उदयपुर सिमेन्ट उद्योगमा केही नयाँपन आउने छ, उत्पादन समेत बढ्ने छ।’

उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलका अनुसार मर्मतका लागि उद्योगको सम्पूर्ण सामानहरु आफ्नै वर्कशपमा निर्माण गरिएका हुन्। उनले भने, ‘३० जना भारतीय प्राविधिक टोलीसहित एकसय ५० जनाभन्दाबढी जनशक्ति प्रयोग गरिएको छ।’ असोजको पहिलो सातादेखि सुरु भएको मर्मत कार्य केही दिनअघि भएको बन्दको कारण रोकिएपछि असोजको चौथो साता नलाग्दै उत्पादन सुरु गर्ने गरी मर्मत कार्य जारी राखिएको छ।

उद्योगको स्तरोन्नति तथा मर्मत कार्य भएपछि साविकभन्दा दैनिक एक हजार बोरा बढी सिमेन्ट उत्पादन गर्ने उद्योगले जनाएको छ। उद्योगको मुख्य भाग मानिने किल्लर (कच्चा पदार्थ पकाएर सिमेन्ट बनाउने अग्नि यन्त्र) लगायत २२ वटा ठूला यन्त्रको पूर्ण मर्मत र पुनःजडान गरेको छ। मर्मत गरेपछि उद्योगबाट कम्तीमा तीन वटा फाइदा हुने उद्योगको दावी छ।

दैनिक उत्पादनमा वृद्धि, बिक्री कार्यमा सहज तथा वार्षिक आयवृद्धि हुने उद्योगको अपेक्षा छ। महाप्रवन्धक पौडेलले भने, ‘मर्मतसम्भारपछि दैनिक उत्पादन बढ्नुका साथै मासिक २१ करोडसम्म आम्दानी गर्ने लक्ष्य छ।’ 

उद्योगको बिक्री शाखाका अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा चार लाख बोरा सिमेन्ट बिक्री गरेर ३६ करोड आम्दानी गरेको छ। अझै २२ करोड बराबरको अढाई लाख बोरा सिमेन्ट स्टक छ। कम्पनीले पछिल्लो दुई वर्षयता ७६० टन दैनिक उत्पादन गर्दै आएकको छ। मर्मतपछि कम्तीमा ८५० देखि ९०० टनसम्म सिमेन्ट उत्पादन हुने उद्योग व्यवस्थापन समितिले जानकारी दिएको छ। 

२०४४ सालमा जापान सरकारको सहयोगमा स्थापित उद्योग नेपाल सरकारलाई हस्तान्तरणसँगै राजनीतिककरण हुँदा बर्सेनि उत्पादन घट्दै गएको थियो। सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले गैंडा छाप सिमेन्टको उत्पादन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.