|

सोलुखुम्बु :  नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल सोलुखुम्बु आउने भएको छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नवनिर्मित भवनको उद्घाटन गर्न महानिरीक्षक खनाल सोलुखुम्बु आउने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए। उनी (सोमबार) साँझ सल्लेरी आइपुग्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

प्रहरीको नवनिर्मित भवन करिब तीन करोड ५३ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको ठेकेदार कम्पनी इन्द्रेणी एपेक्स कन्स्ट्रक्सन गाईघाटले जनाएको छ। प्रहरी प्रधान कार्यालय र शान्ति तथा पुनः निर्माण मन्त्रालयको शान्ति कोषबीच नौ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएसँगै भवन निर्माण कार्य सुरु भएको थियो।

०६९ जेठ ११ देखि निर्माण सुरु गरेको ठेकेदार कम्पनीले निर्धारित समयमा निर्माण गर्न नसकेपछि पटक-पटक निर्माण अवधि थपेको थियो।  उक्त भवनमा तीनवटा ब्यारेक, १६ वटा कोठा भएको कार्यालय भवन, जुनियर तथा महिला प्रहरीका लागि ड्रिसिङ कक्ष र एउटा भान्छा घर रहनेछन्। त्यस्तै, थुनुवाहरू र उनीहरूका बच्चाका लागि तीन कोठा रहनेछन्। 

१५ वर्षअघि सशस्त्र द्वन्द्वका क्रममा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको कार्यालय नेपाली सेनाको कम्पाउण्ड भित्रबाट सञ्चालन गर्नुपर्दा प्रत्यक्ष जनतासँग सरोकार राख्ने दैनिक कार्य सञ्चालन गर्दा समस्या हुनेगरेको प्रहरीको भनाइ छ। नवनिर्मित भवनको उद्घाटनसँगै सेवा सञ्चालनमा सहजता हुने प्रहरीको विश्वास छ। नवनिर्मित जिल्ला प्रहरी कार्यालयको भवन सल्लेरीस्थित आबाडाँडानजिकै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.