|

काठमाडौं : वर्षा सिवाकोटीका बुबा बैंकमा कर्मचारी थिए। त्यसैले पनि वर्षामा सानैदेखि बैंकमा काम गर्ने इच्छा थियो। धेरैले उनलाई बाबा जस्तै बन्नुपर्छ भनेकाले पनि उनमा त्यो इच्छा बढ्दै गएको थियो। तर अहिले वर्षाको बैंकमा काम गर्ने सपना मरिसकेको छ किनकि उनी नेपाली फिल्म क्षेत्रमा रुचाइएकी नायिकामा पर्छिन्। फिल्म क्षेत्रमा उनको सुन्दरता र अभिनयको प्रशंसा पनि भइरहेको पाइन्छ।

वर्षाले फिल्म 'नाइँ नभन्नू ल २' बाट आफ्नो फिल्म करिअर सुरु गरेकी हुन्। 'नाइँ नभन्नू ल २' मा उनको सानो भूमिका थियो तर उनी त्यही फिल्ममा भएको सानो भूमिकाबाट नै दर्शकमाझ नोटिस भएकी थिइन्। उनको सुन्दरता र 'इनोसेन्ट लुक्स'को धेरै प्रशंसा भएको थियो।

अफर आएको दोस्रो दिन सुटिङमा

नेपाली फिल्म उति हेर्दिनथिन् वर्षा। उनलाई फिल्ममा खासै चासो थिएन। कलेजमा हुने अतिरिक्त क्रियाकलापमा भने उनी चासो राख्थिन्।

कलेजले मिस्टर एण्ड मिस कार्यक्रम आयोजना गरेको थियो, जहाँ वर्षाले नृत्य प्रस्तुत गरेकी थिइन्। त्यहाँ रंग पत्रकार सुमन गैरे पनि उपस्थित थिए। 'नाइँ नभन्नू ल २' का लागि एक 'इनोसेन्ट' क्यारेक्टरको खोजी भइरहेको सुमनलाई थाहा थियो। सुमनले निर्देशक विकास आचार्यसम्म वर्षाको कुरा पुर्‍याए।

विकासबाट 'ओके' भएपछि उक्त मिस्टर एण्ड मिस कार्यक्रममा कोरियोग्राफी गरेकी प्रतिमा श्रेष्ठको माध्यमबाट वर्षासम्म कुरा पुग्यो। वर्षा भन्छिन्, 'फिल्म गर्छु भन्ने सोचेको पनि थिइनँ। एक्कासि फिल्मको अफर आउँदा त छक्क परेकी थिएँ।'

उता, धमाधम फिल्मको छायांकन भइरहेको थियो। वर्षाले निर्वाह गर्नुपर्ने भूमिकाको छायांकन बाँकी थियो। अफर गरिएका दुई दिनमा नै वर्षाले सुटिङ सेट ज्वाइन गरिन्। वर्षा सम्झिन्छिन्, 'मलाई अफर आएको दुई दिनमा नै म सुटिङमा गएकी थिएँ।'

'डरले ओठ काँपेर मुस्कुराउन सकिनँ'

वर्षाले पहिलो पटक सुटिङ देखेकी थिइनन्। फिल्म कसरी खिचिन्छसमेत थाहा थिएन उनलाई। वर्षाको पहिलो सिन खिच्नका लागि सबै तयार भयो। वर्षाले केटालाई हेरेर मुसुक्क हाँस्नुपर्ने सिन थियो। पहिलो पटक क्यामेरामा टेक दिन लागेकी वर्षामा धेरै डर थियो। उनी भन्छिन्, 'त्यो बेला म कति नर्भस थिएँ, अहिले सोच्न पनि सक्दिनँ।'

केटालाई हेरेर मुस्कान दिनुपर्ने सिन थियो, उनको ओठ डरले काँपिरहेको थियो। मुसुक्क हाँसेको सिन खिच्न सम्भावना नै रहेन। लगतार छ टेक लिँदा पनि उनी मुस्कुराउन सकिनन्। उनी भन्छिन्, 'डरले ओठ काँपिरहेको थियो। मुसुक्क हाँस्ने त कुरै भएन नि!'निर्देशक विकासले त्यस सिनलाई पछि खिच्ने भन्दै अर्को सिन खिच्ने तयारी गरे, जहाँ वर्षाले डाइलग पनि बोल्नुपर्ने थियो। तर विकासले उनलाई निकै हौसला दिए। डाइलग बोल्नुपर्ने सिनचाहिँ राम्रोसँग गरिन् वर्षाले। 'डाइरेक्टर आएर मलाई उत्साह दिनुभयो। त्यसपछिचाहिँ मैले पनि काम गर्ने सकेँ। पछि त फ्रेण्ड्ली हुँदै गइयो।'

'नसोचेको क्षेत्रमा काम गर्ने इच्छा जाग्यो'

फिल्म सुटिङ सकियो। फिल्मले प्रचार साम्रग्री सार्वजनिक गर्दा वर्षालाई पनि राम्रो स्थान दियो। उनको चर्चा त्यहीँबाट सुरु भयो। परिवार र साथीभाइहरूले पनि निकै राम्रो प्रतिक्रिया दिइरहेका थिए। मिडियामा पनि उनले राम्रै स्थान पाइन्।

फिल्ममा उनको भूमिका छोटो थियो तर धेरैको आश थियो कि 'फिल्ममा वर्षाको अभिनय राम्रै हेर्न पाइन्छ।' तर उक्त कुरा सम्भव थिएन। वर्षा भन्छिन्, 'प्रचार प्रसारमा मलाई जति ठाउँ दिइएको थियो, त्यसअनुसार मेरो परिवर र साथीभाइहरूले धेरै आश गर्नुभएको थियो तर त्यो सम्भव थिएन।'

जति भूमिका उनले निर्वाह गरेकी थिइन्, त्यसको भने सबैले खुलेर प्रशंसा गरे। उनी भन्छिन्, 'त्यही प्रशंसा सुनेर पनि अझै केही गर्नुपर्छ भन्ने लाग्यो र यही क्षेत्रमा काम गर्ने अठोट लिएँ।'

वर्षा आफूलाई यो स्थान दिने डेब्यु फिल्म 'नाइँ नभन्नू ल २' नै भएको बताउँछिन्। उनी भन्छिन्, 'मलाई यो स्थान दिने नाइँ नभन्नु ल २ नै हो। यदि उक्त फिल्मबाट मैले डेब्यु नगरेकी भए म यस क्षेत्रमा हुने नै थिइनँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.