मूल्य घटाउन निर्देशन

|

काठमाडौं : आयातमा प्रतिबन्ध लगाएर चिनीको मूल्य वृद्धिमा सरकारले सहयोग पुर्‍याएको आरोप लगाएका सांसदहरूले कोटा निर्धारणको विषयमा छानविन गर्न माग गरेका छन्। एक किलो चिनी उपभोक्तासम्म आइपुग्दा एक महिनाअघिको तुलनामा २० रुपैयाँसम्म मूल्य वृद्धि भएपछि संसदीय समितिहरूमा यो विषय बहसमा छ। सांसदहरूले यसमा सरकारको मिलेमतो नभएको भन्दै आरोप लगाएका छन्।

यसअघि गत बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिमा तीन घण्टा लामो बैठक उद्योग वाणिज्य तथा उपभोक्ता समितिमा छलफलपछि पनि सम्बन्धित समितिले कुनै निर्णय लिन नसकेको अवस्थामा सोमबार बसेको लेखा समितिले मूल्य वृद्धि फिर्ताका लागि निर्देशन दिएको छ। 'हामीले यसअघि सरकारसँग उद्योगीले गरेका प्रतिवद्धताअनुसार मूल्य नबढाउन निर्देशन दिएका छौँ', लेखा समिति सभापति भरतकुमार शाहाले थाहाखबरसँग भने। समितिले मूल्य वृद्धि फिर्ताको निर्देशन दिए पनि समिति सदस्यहरूले छानविन समिति बनाएर अघि बढ्नका लागि सभापति शाहलाई आग्रह गरेका छन्।

सत्ता पक्षीय सांसदहरूले समेत चिनीको कोटा निर्धारणमा ठूलो आर्थिक चलखेल भएको आरोप लगाएका छन्। सोमबारको बैठमा नेकपाका सांसद तथा समिति सदस्य लेखनाथ भट्टले कोटा निर्धारणमा ठूलो आर्थिक चलखेल भएको भन्दै छानविनको माग गरेका हुन्।

'चिनी आयातमा कोटा तोक्ने निर्णय लिँदा ठूलो आर्थिक चलखेल भएको छ', भट्टले भने, 'परिमाणात्मक बन्देज लगाउने सरकारको निर्णयमाथि छानविन गर्नुपर्छ।' समिति सदस्य हृदयेश त्रिपाठीले पहिला अत्यधिक रूपमा चिनीको आयात बढाएर बन्देज लगाउने निर्णयले चलखेलको आशंका जन्माएको बताए।

समिति सदस्य प्रेमबहादुर राईले आयात प्रतिबन्धको निर्णय नै खारेज गर्नुपर्ने माग गरे। ‘चिनीको भाउ किलोमै सय रुपैयाँ पुग्ने अवस्था देखिँदै छ, यसको जिम्मेवारी कसले लिन्छ?’, राईले भने, 'आयातमा प्रतिबन्धको निर्णय खारेज गर्नुपर्छ।'

उद्योग वाणिज्य तथा आपूर्ति सचिव चन्द्र घिमिरेले चिनीको आयात अत्यधिक भएकाले आयातमा कोटा तोक्नुपरेको दाबी गरे। सरकाले प्रत्येक वर्ष एक लाख टन चिनी आयात मात्रै गर्न दिनेगरी परिमाणात्मक बन्देज लगाएकामा यो वर्षको लागि एक लाख टन आयत भइसकेको पूर्ण बन्देज भएको यस अघि अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा स्पष्टोक्ति दिएका थिए।

उद्योगीहरूले भने आफ्नोतर्फबाट प्रति किलो सात रुपैयाँ घाटा खाएर भ्याटसहित ६५ रुपैयाँमा मात्रै चिनी उपलब्ध गराएको दाबी गरका छन्। 'हामीले ६५ रुपैयाँमा चिनी उपलब्ध गारएका छौँ, बजार कतिमा बेच्छन्? नियमन हामीले गर्ने होइन', नेपाल चिनी उद्योग महासंघका अध्यक्ष शशिकान्त अग्रवालले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.