|

पोखरा : सरकार गठन भएको सात महिना पछि गण्डकी प्रदेश चिनाउने प्रतीक (लोगो) तयार भएको छ। सहजै प्रदेशको नाम र राजधानी टुंग्याएको गण्डकी सरकारले प्रतिस्पर्धाको आधारमा आफ्नो लोगो पनि सोमबार सार्वजनिक गरेको हो।

लोगोमा गण्डकीले समग्र ठाउँ, भेषभूषा र पहिचान झल्किने लोगो सोमबार सार्वजनिक गरेको हो। लोगो तथा पोशाक सिफारिस समितिको भदौ ३० गतेको बैठकले गरेको निर्णयानुसार गण्डकी प्रदेशको लोगो सार्वजनिक गरिएको हो। दुई तर्फ धानका बालाले घेरेको गोलाकारभित्र रहेको माछापुच्छ्रेको चुचुरोको आकार सहितको अन्नपूर्ण हिमश्रृंखला छ। त्यसभन्दा तल गाढा र फिका रङको पहाड छ। यसले क्रमश पहाडी क्षेत्र र भित्री मधेसको पहाडी क्षेत्रलाई चिनाउँछ।

प्रतीकको माथिपट्टि देखिने हिमालले अन्नपूर्ण हिमाल क्षेत्रलाई जनाउँछ। हिमाली जिल्लालाई समेत यसले प्रतिनिधित्व गर्दछ। लोगोको दायाँ-बायाँ राखिएका धानको बाला समृद्धिका प्रतीक हुन्। नेपालको नक्साभित्र गण्डकी प्रदेशको छुट्टै नक्सा छ। यसले प्रदेशको भूगोल चिनाउँछ। उक्त भूगोलभित्र ११ वटै जिल्लाका जातजाती अटाएका छन्। गण्डकी प्रदेशमा बोलिने भाषा, भेषभुषा र संस्कृतिको प्रतिनिधित्व गरेको छ। युवादेखि वृद्धहरूसम्म नक्सामा अटेका छन्। पहाडको काखबाट नदी बगेको छ। नदीको वारिपारि गैँडा र जरायो चरेका छन्।

चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने गण्डकी प्रदेशका वन्यजन्तुको प्रतिनिधित्व यी जनावरले गरेका छन्।लोगोभित्र डाँफेको पनि फोटो छ। त्यस्तै लैंगिक समानता झल्काउन महिला र पुरुषले हात मिलाएको स्केच राखिएको छ। लोगो तथा पोशाक सिफारिस समितिका संयोजक मायानाथ अधिकारीले नवलपुरदेखि मुस्ताङसम्मको भूगोल, सम्पदा र महिला-पुरुषको सहअस्तित्व झल्कने चिह्न बनाइएको बताए। यो लोगो गोरखाका विनित रानामगरले बनाएका हुन्। उनी प्रदेशसभा सचिवालयका कर्मचारी समेत हुन्।

समितिले साउन २१ गते लोगो बनाउन सार्वजनिक आह्वान गरेको थियो। उनलाई नगद २५ हजार पुरस्कार प्रदान गरिएको छ। लोगो र पोशाक निर्धारण गर्न कार्यव्यवस्था परामर्श समितिलाई जिम्मा दिइएको थियो। समितिले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सचेतकहरूलाई समेटेर छुट्टै लोगो तथा पोशाक सिफारिस समिति बनाएको थियो। यो समितिले लोगो टुंग्याएर प्रदेशसभालाई बुझाइसकेको छ।

पोशाक खैरो 

यस्तै समितिले प्रदेशसभा सदस्यहरूको लागि खैरो रंगको पोशाक सिफारिस गरेको छ। गण्डकी प्रदेशका प्रदेशसभा सदस्यहरूले लोगोसहित खैरो कोट लगाउनु पर्नेछ। सचिवालयले २०७५ सालको साउन २१ गते सार्वजनिक सूचना जारी गर्दै खुल्ला प्रतिष्पर्धा मार्फत लोगो माग गरेको थियो। त्यसका लागि १२ जनाले लोगो प्रदेश सभामा पठाएका थिए। ती मध्ये प्रतिस्पर्धाको आधारमा विनित मगरको लोगो छनोट भएको हो।

लोगोको लागि विभिन्न पाँच जनाले १२ वटा स्केच पेश गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.