|

तनहुँ  : तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य निर्माणको निर्माण कम्पनीसँग साेमबार ठेक्का सम्झौता गरेको छ। आयोजनाको नदी फर्काउने, बाँधलगायत पहिलो चरणको संरचना निर्माणका लागि न्यूनतम मूल्य प्रस्ताव गर्ने इटालेली कम्पनी सिएमसीसँग आज यहाँ सम्झौता गरेकाे हो।

तनहुँ हाड्रोपावर लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक प्रदीपकुमार थिके र सिएमसीका तर्फबाट आधिकारिक प्रतिनिधि सालभाटोर कास्कियरले सम्झौतापत्रमा हस्ताक्षर गरे। सिएमसीसँग २० अर्ब ६४ करोड ५२ लाखमा खरिद सम्झौता भएको हो। आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजका कामका लागि चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेडसँग सम्झौता भएको तनहुँ हाइड्रोपावर कम्पनीले जनाएको छ। 

तनहुँ हाड्रोपावर कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक थिके र सिनो हाइड्रोका तर्फबाट आधिकारिक प्रतिनिधि छेङ सोएस्याङले हस्ताक्षर गरे। कम्पनीसँग तीन अर्ब ८३ करोड १४ लाखमा खरीद सम्झौता भएको हो। दुवै प्याकेजको निर्माण दुई महिनापछि काम सुरु गरिने र सम्पूर्ण निर्माण आगामी पाँच वर्षभित्र अर्थात् ९ डिसेम्बर २०३० मा सक्ने लक्ष्य निर्धारण गरी ठेक्का सम्झौता गरिएको छ। 

प्रबन्ध सञ्चालक थिकेले तनहुँ जलविद्युत् आयोजना कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजना भएको र विद्युत्को भार व्यवस्थापनका लागि महत्वपूर्ण आयोजना भएकाले निर्धारित समय भन्दा अगावै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे। उनले आयोजना निर्माण निर्धारित समयमा सम्पन्न गर्ने प्रतिबद्धताका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र निर्माण कम्पनीका उच्च तहको व्यवस्थापनबीच केही समयभित्रै छलफल गर्ने र निर्माण कम्पनीले आयोजना निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। 

तनहुँ हाइड्रोपावर लिमिटेडले गत साउन ७ गते बोलपत्रको नतिजा सार्वजनिक गरी छनोट भएका निर्माण कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको थियो। पहिलो प्याकेज निर्माणका लागि पूर्वयोग्यतामा छनोट भएका पाँच कम्पनीमध्ये तीन वटाले र दोस्रो प्याकेजका लागि पूर्व योग्यतामा छनोट भएका तीन कम्पनीमध्ये दुई वटाले बोलपत्र पेश गरेका थिए। 

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि बोलपत्रको मूल्यांकन भइरहेको छ। नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भइसकेको छ। 

तनहुँको रिसिङ गाउँपालिका-१ मा कार्यालय तथा कर्मचारी आवासगृह निर्माणको काम अन्तिम चरणमा छ। जलाशय क्षेत्रको जग्गा प्राप्तिका लागि ९५ प्रतिशत मुआब्जा वितरण भइसकेको छ। बाँधतर्फ जाने पहुँच मार्ग निर्माण र व्यास नगरपालिका-५ मा बन्ने श्रमिक आवास गृहका लागि जग्गा अधिग्रहणका गर्न मुआब्जा निर्धारण भई मुआब्जा वितरण हुने क्रममा छ। आयोजनाको कूल लागत करिब ५० अर्ब ५० करोड रुपैयाँ रहेको छ।

आयोजनामा एशियाली विकास बैंक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), युरोपियन इन्भेस्टमेन्ट बैंक, नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरणलगायतले लगानी गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.