|

जनकपुरधाम : महोत्तरीको गौशाला नगरपालिका–१ का धनेश्वर महतोको शरीरभरि मासु पलाएको छ। कसैले आफूलाई हेर्दा उनलाई दिक्क लाग्छ। उनलाई हिँड्डुल गर्न समेत मन लाग्दैछ। ‘मलाई देखेर फर्कीफर्की हेर्ने, कुरा काट्दै हिँड्छन्, बालबालिका डराउँछन्, छिछि दुर् दुर् गर्छन्,’ उनले भने भने, 'तर, घरपरिवारेको मायाले बाँचेको छु।'

धनेश्वरको जन्मदै औंलामा एउटा गिर्खा थियो। एक वर्षको हुँदा उनका अभिभावकले त्यो गिर्खालाई लौवा (हजाम)कहाँ लगेर काट्न लगाए। त्यसपछि उनको शरीरभरि मासुको डल्ला पलाएको आमा रामवती देवी महतोले बताइन्। ‘जन्मदा दाहिने हातको एउटा औंलामा एउटा मात्र गिर्खा थियो। त्यसलाई काटेपछि शरीरभरि मासु पलायो,’ उनले भनिन्, ‘हामीले त हातमा हुँदा राम्रो देखिँदैन, तेल मालिस गर्न समेत असहज हुन्छ, त्यही भएर काट्न लगायौं।’

शरीरमा पलाएको मासु देखेर धनेश्वरका साथीहरु घिनाएपछि कक्षा १० पूरा नगर्दै उनले पढाइ टुंग्याए। विद्यालयमा साथीहरुले गरेको व्यवहार सम्झेर धनेश्वर राति रुने गर्थे। ‘साथीहरु मलाई देखेर परपर भागेको, घिन मानेको सहनै सकिनँ,’ उनले ती दु:खदायी दिन सम्झिए, ‘त्यसपछि स्कुल जानै छाडेँ। सँगै पढेका साथीहरु अहिले कहाँ–कहाँ पुगिसके।’ 

उनको शीरदेखि पैतलासम्म जताततै मकैको दानादेखि अण्डा वा आलु जत्रा मासुको डल्ला छन्। सुत्दा वा बस्दा पोको पेलिएर असह्य दुख्ने उनले बताए। ती पीडाको बयान गरी साध्य नभएको उनको भनाइ छ। ‘पिठ्युको ठूलो डल्लो त म अडेस लाग्दा, सुत्दा पेलिएर फुट्छ। कहिलेकाहीँ रगत समेत आउँछ,’ उनले भने, ‘सहेरै बस्नुपर्ने बाध्यता छ। कहिले काहीँ त जीवन जिउनुभन्दा नजिउनु नै ठीक लाग्छ, तर छोराछोरी र जहानलाई सम्झेर पीडा बिर्सन बाध्य हुन्छु।’

अहिले पनि उनको दुःख गएको छैन। गाउँ नजिकैको बजार जाँदा, गाडी चढ्दा मान्छेहरु तर्सिने गरेको उनले बताए। बसको सिटमा बस्दा सँगैका यात्रु सिट छोडेर जान्छन्। ‘कोही दुर्वचन बोल्छन्, बालबालिका डराएर भाग्छन्,’ उनले भने, ‘मेरोजस्तो पीडा अरु कसैले भोग्न नपरोस्।’ 

मानिसका यस्ता व्यवहारले उनी रातभर घरमा सोच्छन्। ‘मेरो पीडा बुझ्ने यो संसारमा भगवान् त छैनन्,’ ३६ वर्षका धनेश्वरले भने, ‘बुबा त बित्नु भो, आमा, जहान, छोराछोरी र भाइको साथ र सहयोगले बाँचिरहको छु।’ टोलछिमेकीको माया  र सहयोगले पीडा बिर्सन सहयोग गरेको उनले बताए।

धनेश्वरले सानोतिनो कामबाहेक अरु केही गर्न नसक्ने उनकी श्रीमती तीलादेवी महतो बताइन्। ‘औषधि उपचार गर्दा हजारौं हजार खर्च भइसक्यो तर अलिकति पनि ठीक हुने नामै छैन्,’ उनले भनिन्, ‘श्रीमानको अवस्था हेरेर वहाँभन्दा बढी पीडा मलाई हुन्छ, तर के गर्नु सबै सहेर बस्नुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.