|

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पाँच दिने चीन भ्रमण सकेर प्रदेशको राजधानी कास्की पोखरा फर्किएका छन्। उनी चीनको हाइनान प्रान्तको भ्रमण सकेर मंगलबार स्वदेश फर्किएका हुन्। असोज ९ गते हाइनान गएको मुख्यमन्त्री गुरुङसहितको टोली सोमबार काठमाडौं र मंगलबार पोखरा आइपुगेकाे हाे।

मुख्यमन्त्री गुरुङले पत्रकारसँगकाे कुराकानीमा चीनबाट आफूले केही नलिई आएको प्रतिक्रिया बताएका थिए। ‘यसपालीको भ्रमणमा गण्डकी प्रदेशको स्टाटसको बारेमा जानकारी दिने काम भयो’ पोखरा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘विदेश गएर आएपछि केके ल्यायो? कति पैसा ल्यायो भनेर सोध्छन्। के के सम्झौता भयो भनेर सोध्छन्। तर मैले केही पनि ल्याएको छैन। उनीहरूलाई गण्डकी प्रदेशको बारेमा जानकारी मात्रै गराएको छु।

गण्डकी प्रदेश र हाइनान प्रान्त, पोखरा महानगर र हाइकाओ नगरबीच भगिनीसम्बन्ध कायम गर्ने, मित लाउने कुरा भएको मुख्यमन्त्रीले जानकारी दिए। उनले टेक्निकल इन्स्टिच्युट स्थापना र नेपाली विद्यार्थीलाई छात्रवृत्तिमा त्यहाँका कलेज तथा विश्वाविद्यालयमा पढाउने विषयमा छलफल भएको बताए। आगामी नोभेम्बर ११ र १२ तारिखमा हाइनान्का गभर्नरसहितको टोली पोखरा आउँदा केही सम्झौता, भगिनी सम्बन्ध तथा मितेरी सम्बन्ध कायम हुने उनको भनाई छ। उनले त्यहाँका गभर्नरसँग पर्यटन, पूर्वाधार, अर्गानिक एग्रिकल्चर विकासमा सहयोग गर्ने विषयमा छलफल भएको बताए।

हाइनान प्रान्तले पर्यटन उद्योग, सोलार ऊर्जा र अन्य कलकारखाना खोल्ने विषयमा चासो देखाएको उनले बताए। ‘हाइनान्का निजी क्षेत्र र अन्य सरकारी निकायबीच पनि परस्पर सम्बन्ध स्थापित गर्ने गरी छलफल भयो,’ उनले भने, ‘ विशेष गरी अर्गानिक खेती, नेपालको पर्यटन, उर्जा, औषधि कारखानामा उनीहरू लगानीका लागि इच्छुक देखिएका छन्।’  

नेपाल संघीय संरचनामा गएको जानकारी 

हाइनान प्रान्तलाई नेपाल संघीय संरचनामा गएको विषयमा आफूले जानकारी गराएको उनको भनाई छ। ‘नेपालमा पनि प्रदेश छ भनेर उनीहरुलाई जानकारी गरायौं,’ उनले भने, ‘हामी संघीयतामा गएको कुरा पनि थाहा रहेनछ।’ उनले हाइनान् भ्रमममा नेपाल किन विकास हुन नसकेको भन्ने विषयमा महसुस हुने गरी जानकारी भएको बताए। ‘हाइनानमा राजनीतिक स्थिरता छ। नेपालमा त्यो नभएर पनि विकास हुन नसकेको मैले महसुस गरेँ’ उनले भने। 

अरुको नक्कल होइन आफ्नै माटोमा टेकेर विकास गरौँ

मुख्यमन्त्री गुरुङले अरु देशको नक्कल गरेर आफ्नो ठाउँको विकास नहुने विषयमा आफुले नयाँ ज्ञान पाएको बताए।  ‘हाइनान् पनि ३० वर्ष पहिले नेपालको कर्णाली जस्तै रहेछ,’ उनले भने, ‘उनीहरूले आफ्नो विशेषता पहिल्याएर त्यसैमा लगानी केन्द्रित गरे। अर्काको नक्कल गरेर विकास हुँदैन भन्ने उदाहरण हामीले देख्यौँ। केन्द्र सरकारले पनि महत्व दिएको छ। त्यसैले विशेषता पहिल्याएर लगानीको वातावरण तयार गर्ने हाम्रो पनि जोड रहन्छ।’ त्यस्तै हाइनान सरकारले रेल, सडक र हवाई क्षेत्रमा लगानी गर्न इच्छा देखाएको उनले बताए। विभिन्न विषयमा अध्ययन गर्न अक्टोबर अन्तिम हप्ता हाइनानका टेक्निकल टिम पोखरा आउने र नोभेम्बर ११, १२ मा एमओयू हुने उनको भनाई छ। 

संघ र प्रदेश मिल्नै पर्छ 

संघीय सरकार र प्रदेश सरकार नमिलेर विकास सम्भव नभएको कुरा हाइनान्मा देखेर आएको उनले सुनाए। उनले जसरी हुन्छ त्यहाँको पूँजी गण्डकी प्रदेशमा भित्र्याउने वातावरण बनाउन आफू लागेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.