|

पर्वत : म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलास्थित अमर माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई गरिएको निष्कासनको निर्णय फिर्ता भएको छ। 

नियमित रूपमा पठनपाठनको मागसहित आन्दोलित २२ विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिको निर्णयबाट एक महिना निष्कासन गर्ने निर्णय भएको थियो। मंगलबार गाउँपालिकाको कार्यालयमा आयोजित सर्वपक्षीय बैठकबाट निर्णय फिर्ता भएको हो। यससँगै विद्यार्थीहरू बुधबारदेखि नै विद्यालय जान पाउने भएका छन्। विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक अभिभावक संघ, वडाका जनप्रतिनिधि सहभागी भएको भेलाले पढ्न पाउने विद्यार्थीको अधिकार हनन भएको ठहर गर्दै निष्कासनको निर्णय फिर्ता लिएको हो।

बैठकमा विद्यालयमा ६ महिनादेखि रोकिएको कक्षा १० को विज्ञान विषयको पठनपाठन नियमित गराउन शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीमा करारमा शिक्षक नियुक्तिको लागि अनुमति माग गर्ने र समयमै शिक्षक उपलब्ध हुन नसकेमा निजी स्रोतबाटै भए पनि शिक्षकको व्यवस्थापन गर्ने निर्णय भएको छ। त्यस्तै केही महिनादेखि रोकिएको कम्प्युटर विषयको पठनपाठन नियमित गराउन यसअघि नै कार्यरत रहेका रिम पाइजालाई मासिक १८ हजार रुपैयाँ तलब दिनेगरी अध्यापनमा लगाउने निर्णय भएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए।

विद्यालयमा लामो समयदेखि विज्ञान र कम्युटर विषयका शिक्षक नहुँदा आफ्नो नियमित पठनपाठन नै प्रभावित बनेपछि विद्यार्थीहरूले विद्यालयको ध्यानकर्षण गर्न असोज १० गते तालाबन्दी गरेका थिए। विद्यालयमा अराजक र अमर्यादित क्रियाकलाप गरेको भन्दै तालाबन्दी र आन्दोलनमा सहभागी भएका २२ विद्यार्थीलाई निष्कासनको निर्णय भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.