विचार

जिम्मेवारहरू कर्तव्यच्यूत : न कानुनको भर न त रह्यो धर्मको डर
SHARES

असोज १८, २०७५

    सन्दर्भ–१

    गत साउन ११ गते कञ्चनपुर  की १३ वर्षीया निर्मला पन्त हराइन्। खोजीका लागि परिवारले प्रहरीमा उजुरी गर्‍यो तर बेवास्ता गरियो भोलिपल्ट दिउँसो बलात्कारपछि हत्या गरी हत्या भएको अवस्थामा फेला परिन् तर प्रहरी प्रमाणहरूलाई कुशलतापूर्वक संग्रह गरेन। लापरबाही गरियो। मृतक बालिकाका कपडा फुकालेर धोइयो। प्रमाण फेला पर्ने बालिकाका अंगसमेत उखुबारीको धमिलो पानीले पखाल्ने काम भयो। 

    अनुसन्धानमा बेवास्ता गर्दै परिवारलाई शव बुझ्न र अन्त्येष्टि गर्न दबाब दिइयो। गाउँका निर्दोष युवायुवतीलाई कारागारमा लग्दै यातना दिने काम चलिरह्यो । प्रहरी प्रशासनले शक्तिको दुरुपयोग गर्दै मानसिक असन्तुलन भएका व्यक्तिलाई हत्या र बलात्कारको स्वीकार गर्न लगायो। असन्तुष्टि व्यक्त गर्दै आन्दोलनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले गोली चलायो। एक किशोर अनाहकमा मारिए। एक गल्ती लुकाउन सय गल्ती गर्न पूरै प्रहरी प्रशासन लागिरह्यो।

    स्थिति यस्तो आयो, पूरै जिल्लाको सुरक्षाको जिम्मेवारी लिएर बसेका तत्कालीन एसपी डिल्लीराज विष्ट र उनका छोराको समेत 'डीएनए' जाँच गर्नुपर्‍यो। दुई महिना बित्दा पाँच जनाको डीएनए 'टेस्ट' गरियो तर कसैसँग मेल खाएन। युट्युबमा राखिएका जुन किसिमका दृश्य देखिएका छन्, तिनले के देखाउँछन् भने मृत बालिकाको शवबाट प्रमाणहरू सुनुयोजित रूपमा नष्ट गरिएका छन्। त्यसले गर्दा डीएनए परीक्षणबाट पनि दोषी तत्काल पत्ता नलाग्लान्।

    दिनप्रतिदिन कलिला बालिकाहरू बलात्कृत हुने क्रम बढ्दो छ। सुन्दा पनि मुटु चिरिने घटनामा अनुसन्धानको सन्दर्भमा जोडिने यी पात्रहरूमा किन अलिकति दयाभाव नपलाएको होला? प्रलोभनमा फसेर मोटो रकम हात पार्ने वा नजिककालाई बचाउने नाममा यिनमा किन कर्तव्यबोध नभएको होला? आफ्ना घरका वा नजिकका छोरीचेलीको सम्झना किन नभएको होला तिनलाई।

    मुलुकका प्रधानमन्त्रीज्यूको आश्वासनलाई आधार मान्ने हो भने ढिलै भए पनि अपराधी पत्ता लाग्ला। तर जुन किसिमले प्रमाणहरू नष्ट गरिएका छन्, माथिल्लै पहुँचका व्यक्ति जोडिएका घटना अनुमान गरिएकाले पत्ता नलाग्न पनि सक्ला। अनुसन्धानका नाममा सर्वसाधारणलाई जुन किसिमले यातना दिइयो यो घटनामा प्रमाण नष्ट गर्न लागिपरेका सबै प्रहरीलाई त्यही प्रक्रिया अपनाई अनुसन्धान गर्ने हो भने दोषी चाँडै पत्ता लाग्थ्यो होला। 

    सन्दर्भ–२

    गत भदौ ८ गते धनुषाको जनकनन्दनी गाउँपालिका–२ बल्हागोठमा १२ वर्षीया बलात्कृत भइन्। भोलिपल्ट बिहानै जनकपुर अञ्चल अस्पताल लगिएकी बालिकाको स्वास्थ्य परीक्षण चिकित्सकद्वय विजयकुमार सिंह र रम्भा गोइतले गरे। ११ दिन लगाएर निकालिएको प्रतिवेदनमा बालिकाको बलात्कार नभएको ‘नर्मल’ रहेको उल्लेख थियो। 

    अञ्चल अस्पतालको प्रतिवेदनमाथि विश्वास नलागेर परिवारले जिल्ला अस्पताल सिरहामा जाँच गरायो। त्यहाँका चिकित्सकले बालिकाको बलात्कार भएकै प्रतिवेदन सार्वजनिक गर्‍यो। बालिकाको शारीरिक अवस्था पीडित र स्थानीय बासिन्दाको बकपत्र र पीडकले समेत अपराध स्वीकार गरिसकेको अवस्थामा पनि दोषीले उन्मुक्ति पाउने अवस्था देखियो। अब त लापरबाही गरेको भन्दै संघीय न्यायाधिवक्ताको कार्यालयले दुवैमाथि कारबाही गर्न सिफारिस गरेको छ। 

    अघिल्लो दिन बलात्कारमा परेर भोलिपल्ट अस्पताल पुगेकी बालिकाको अवस्था कस्तो होला अलिकति मानवता भएको मानिसले सहजै अनुमान गर्नसक्ने कुरा हो। तर अंगअंगको परीक्षण गर्ने जिम्मा पाएको चिकित्सकले यो किसिमको फट्याइँ गर्छ भने त्यसलाई लापरबाही मात्र मान्न सकिन्छ र !

    कहाँ जाँदैछौँ हामी ?

    दिनप्रतिदिन कलिला बालिकाहरू बलात्कृत हुने क्रम बढ्दो छ। सुन्दा पनि मुटु चिरिने घटनामा अनुसन्धानको सन्दर्भमा जोडिने यी पात्रहरूमा किन अलिकति दयाभाव नपलाएको होला ? प्रलोभनमा फसेर मोटो रकम हात पार्ने वा नजिककालाई बचाउने नाममा यिनमा किन कर्तव्यबोध नभएको होला? आफ्ना घरका वा नजिकका छोरीचेलीको सम्झना किन नभएको होला तिनलाई।

    पहिलो घटनामा ‘सत्य सेवा सुरक्षणम्’को मन्त्र जपेर जिल्लाको सुरक्षाको जिम्मा बोकेर बसेका व्यक्तिले घटनालाई सामसुम पार्न गरेका अनेक किसिमका तिगडम अपनाए। तिनको के स्वार्थ थियो होला अपराधीको संरक्षण गर्नुपर्ने? सरकारी बर्दी लगाएर देश र नागरिकको सुरक्षा गर्छु भनेर सपथ लिएकाको धर्म के हो? तिनको कर्तव्य के हो?

    यस्तै बिरामीको ज्यान बचाउन हरसम्भव प्रयास गर्ने चिकित्सकको धर्म। बालिकाको परिवार कति भरोसा लिएर पुगेको थियो अस्पताल। बेलैमा सही रिपोर्ट दिएको भए बालिकाले न्याय पाउँथिन्। भएको कुरा खुट्याइदिएको भए अपराधी चाँडै कारबाहीको दायरामा आउँथ्यो। 

    अपराध गर्नेहरू त पशु भइहाले। जति निन्दा  गरे पनि वा तिनलाई जति नै कठोर सजाय दिए पनि कम नै हुन्छ। यस्ता घटनामा पनि अपराधीहरूसँग मिलेमतो गरेर समाजलाई भ्रममा पार्नेहरूले कहाँ गएर भोग्ने होला? के त्यो पापले पोल्दैन उनीहरूलाई?

    सुन्दा पनि कहालीलाग्दो दृश्यको प्रत्यक्षदर्शी हुँदा पनि तिनको हृदय पग्लिएन। जघन्य अपराधका दोषीलाई जोगाउन किन मरिमेटेर लागे। कानुनले उनीहरूलाई सफाइ देला तर, इतिहास र नेपाली समाजले विष्टलगायत प्रहरी अधिकारीलाई कहिल्यै माफ गर्ने छैन।

    कर्तव्य पालना गर्नेहरू च्यूत भईदिँदा अपराधमा संलग्नले पुनः यस्ता घटना दोहोर्‍याइरहन सक्छ। यही घटनाबाट पाठ सिकेर आपराधिक मनोवृत्ति भएका अरुले पनि सिक्नसक्ने भए। कर्तव्यच्यूत हुनेहरूमा पुरस्कृत हुने क्रमले कर्तव्यपालना गर्नेहरूमा पनि उदासीनता पैदा भई उनीहरू पनि त्यही बाटोमा लाग्ने खतरा बढ्छ। यस्तो प्रक्रियाले हाम्रो समाज कस्तो बन्दै जाला?  

    यी दुई घटनामा प्रहरी र चिकित्सकले खेलेको भूमिकाले अपराधकर्म गर्ने र गर्न चाहनेको मनोबल वृद्धि भएको छ। पैसा हुने वा पहुँच हुनेले त जस्तै अपराध पनि लुकाउन सक्ने रहेछ भन्ने सन्देश प्रवाह भएको छ। कर्तव्य पालना गर्नेहरू च्यूत भईदिँदा अपराधमा संलग्नले पुनः यस्ता घटना दोहोर्‍याइरहन सक्छ। यही घटनाबाट पाठ सिकेर आपराधिक मनोवृत्ति भएका अरुले पनि सिक्नसक्ने भए।

    कर्तव्यच्यूत हुनेहरूमा पुरस्कृत हुने क्रमले कर्तव्यपालना गर्नेहरूमा पनि उदासीनता पैदा भई उनीहरू पनि त्यही बाटोमा लाग्ने खतरा बढ्छ। यस्तो प्रक्रियाले हाम्रो समाज कस्तो बन्दै जाला?  

    कर्तव्यबोधको चेतना

    बढ्दो आधुनिकतासँगै समाजबाट पाप धर्मको ख्याल हराइसकेको हो। आफ्नो कर्तव्यमा रहनु धर्म हो भने अकर्तव्य गरी व्यक्ति र समाजलाई पीडा दिनु अधर्म वा अपराध हो। सनातन धर्मको मान्यताअनुसार कर्तव्यबाट च्यूत हुने, जघन्य अपराधलाई ढाक्न खोज्नेले मृत्युपछि विभिन्न यमयातना भोग्नुपर्ने बताइएको छ। अहिले हाम्रो समाजमा धर्मको डर मात्र होइन कानुनको भर पनि हराउँदै गएको छ। राजनीति र धनका आडमा छल र बलको प्रभावमा काम भइरहेका छन्। 

    मरेपछिका स्वर्ग र नर्कका कुरा कतिले विश्वास गर्लान्, कतिले नगर्लान्। कर्मको फल यही जन्ममा विभिन्न किसिमका भोग्नुपर्छ। राम्रा कामको परिणाम राम्रै अाउँछन्। खराब काम लुकाउन अनेक प्रपञ्च गर्नुपर्छ। जीवनभरि लखेटिरहन्छ। त्यसले पोल्छ।आफूले मात्र नभई सन्तान दरसन्तान र आफन्तले समेत भोगिरहनुपर्ने हुनाले कर्तव्यपालनामा चुक्नु हुँदैन। आफ्नाहरू चुक्न लागे भने पनि बाटो देखाउनु पर्छ। संस्कार र नैतिकताको बोध भएन भने समाजमा कानुन कार्यान्वयनको पाटो सहज नहुने प्रष्ट छ। 

रामप्रसाद धिताल

पत्रकार धिताल भाषा, धर्म–संस्कृति र सामाजिक विषयमा कलम चलाउँछन्। इमेल : dhitalramprasad@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]