|

काठमाडौं : नेपाली समाज लामो समयदेखि छुवाछुत, बलात्कार, उत्पीडन अनि निरीह, गरिब र एकल महिलालाई दिइने बोक्सीको उपमाले जकडिएको छ। यही सामाजिक कुरीति र विभेदलाई विषय बनाएर लेखिएको नाटक 'बोक्सी उद्योग' गत असोज ५ गतेदेखि २० गतेसम्म थापागाउँस्थित कुन्ज नाटकघरमा मंचन भइरहेको छ। समाजमा भइरहेको दर्दनाक यौन उत्पीडनको विषयवस्तुलाई उक्त नाटकमा कलात्मक रूपले देखाइएको छ।

पछिल्लो समय नेपाली नाटकको उन्नयन र प्रवर्द्धनमा युवा पुस्ताको आगमन नेपाली नाटकका लागि भरपर्दो आधार बनेको छ। नाटक विशुद्ध नाटक मात्र नभएर समाजको वास्तविकता र वास्तविकताले उब्जाएको समस्यालाई निराकरण गर्नका लागि झक्झकाउने माध्यम पनि बनेको छ। यस नाटकले हाम्रो समाजमा आज पनि आर्थिक रूपमा जो दुर्बल छ, त्यसलाई समाजका उपल्लो जाति र धनाढ्य व्यक्तिले चाहे भने कसरी कुरूप बनाइदिन सक्छन् र कसरी सुमधुर रूपमा चलिरहेको कुनै पनि परिवारको अवस्थालाई तहसनहस पार्न सक्छन् भन्ने ज्वलन्त उदाहरण देखाएको छ।

देशमा लोकतन्त्र आउँदा पनि हाम्रा चेलीबेटीहरू बलात्कारको शिकार हुनुपरेको वास्तविकतालाई देखाएको छ यस नाटकले। यही समाज हो, जसले जात बनायो। महिलालाई खेलौना सम्झ्यो र एकल महिलालाई बोक्सीको आरोपमा मलमुत्र खुवाउनेदेखि लिएर गाउँ निकालासम्म गरिरह्यो, हालसम्म पनि गरिरहेको छ।

गरिब हुनु भनेको अभावसँग जुध्नु हो। गरिबीको चंगुलमा डुबेर सामाजिक रूपमा बाँच्नु साँच्चै कति कष्टपूर्ण छ हाम्रो समाजमा! गरिब हुनु भनेको कथित माथिल्लो आर्थिक हैसियत भएका मान्छेको इसारामा बाँच्नु हो। मानौँ, आर्थिक रूपमा सम्पन्न भएका व्यक्ति मुठ्ठी हुन् र गरिब माखा, जसले च्याप्प समाते जीवन सकियो र धर्म गरेर छाडिदिए जीवनको अध्याय केही दिनका लागि लम्बियो। के गरिब हुनु भनेको आत्मसम्मान सकिनु हो? गरिबले किन आत्मसम्मानपूर्वक बाँच्न पाउँदैन? के गरिबलाई बाँच्न पाउने अधिकार छैन? यदि छ भने उसले आफ्नो हैसियतअनुसार नै समाजमा बाँच्न पाउनुपर्छ। यसका लागि चेतना जगाउनु आजको आवश्यकता हो।यही कुरालाई यस नाटकले सशक्त रूपमा उठाएको छ।

नेपालको ग्रामीण परिवेशलाई केन्द्र राखेर महिलामाथि हुने यौन हिंसा, यौन हिंसाबाट न्याय नपाउँदा उसको परिवारका सदस्यले गर्न सक्ने अपाराधिक क्रियाकलाप कुन हदसम्म तल्लो हुन्छ भन्ने कुरा यस नाटकमा देखाउन खोजिएको हुन्छ। २१औँ शताब्दीमा आइपुग्दा पनि हाम्रो चेतनाको स्तर कुन हदसम्म रहेको छ भन्ने यथेष्ट प्रमाण यस नाटकले देखाएको छ। एउटा गरिवमाथि हुने शोषणमा समाज किन मुकदर्शक बनेर देखापर्छ भन्ने तथ्यको जगमा पुगेर यो नाटक देखाउन खोजिएको छ।

नाटकमा महिलामाथि हुने यौनजन्य हिंसा र उक्त हिंसालाई लुकाउन गरिने अर्को हिंसालगायतका विभिन्न पाटाहरू रहेका छन्। लालटिन नेपाल संस्थाका कलाकारले पहिलो पटक मंचन गरेका हुन्, यो नाटक। नाटकको निर्देशन गरेका छन् विगत लामो समयदेखि नेपाली नाट्यक्षेत्रमा काम गरिरहेका कलाकार प्रभाकरदेव शर्मा। उनले यस नाटकमा एक निर्देशकको हैसियतले गर्नुपर्ने पूरा मिहिनेत गरेका छन् भन्ने लाग्छ नाटक हेरिरहँदा।

नेपाली नाटकमा विषयवस्तु, संवाद, उत्कृष्ट हुँदाहुँदै पनि कलाकारहरूले प्राकृतिक र स्वाभाविकभन्दा बढी कृत्रिम अभिनय गर्ने गरेको देखिन्छ। तर यस नाटकमा हरेक कलाकारहरूको अभिनय बेजोड देखिन्छ। नाटक हेरिरहँदा लाग्दैन कि हामीले नाटक हेरिरहेका छौँ। लाग्छ- हामीले हाम्रो कुरूप समाज देखिरहेका छौँ। यो आफैँमा नाटकको सफलता हो। नाटकमा झगरु, बागमती हवल्दार, सुर्मा, सेडाईं कान्छो, घट्टालाल, काजी/बडाघरेको पात्रले गरेको अभिनयले दर्शकको हृदय छुन्छ।

यस्तै, तेस्रो लिंगीले भोग्नुपरेका समस्यालाई पनि निर्देशकले थोरै यस नाटकमा देखाउने प्रयास गरेका छन्। समाजले कसरी तेस्रो लिंगीलाई विभेद गर्छ र उनीहरूले समाजमा पाउने हैसियत के छ भन्ने कुरा यस नाटकमा देखाउन खोजिएको छ। के तेस्रो लिंगीले यहाँ बाँच्न पाउने कुनै अधिकार छैन? अथवा उनीहरूले भोगेका र देखेका कुरा तेस्रो लिंगी भएकै आधारमा हामीले नकार्न सक्छौँ? यो गम्भीर प्रश्न समाजतर्फ नै निर्देशकले फ्याँकेका छन्। के हाम्रो समाजले यो प्रश्नको जवाफ दिन सक्ला? समग्रमा यस नाटकले हाम्रै समाजको वर्तमानको वास्तविकता देखाउने कोसिस गरेको छ।कलाकारको अभिनय जति दमदार देखिन्छ, उस्तै दमदार कलाकारले बोल्ने संवाद पनि छ। कहीँ हाँसो थाम्न नसकिने त कहीँ आँसुको धारा बग्ने अवस्था सिर्जना हुन्छ नाटक हेरिरहँदा। तर नाटक हेर्ने मान्छेले आँसु झरेको पत्तै पाउँदैन। यो पनि नाटकको सकारात्मक पाटो हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.