फिचर

अतिथि स्वागतका लागि तयार छ इलामको माइमझुवा
SHARES

असोज २२, २०७५

    इलाम : हराभरा डाँडामा सजिएको चियाबारी, कृषिले सुधारिएको जीवनशैली, सूर्योदय र हिमशृंखला दृश्यावलोकन, जैविक, धार्मिक र सांस्कृतिक महत्त्वका अनेकन स्थान। ‘पहाडकी रानी’ उपनाम पाएको इलाम जिल्लामा बितेका दशकमा यस्तै महत्त्वलाई उजागार गर्न निकै पहल भएका छन्। 

    इलाममा पर्यटन पूर्वाधारको विकास भइरहे पनि प्रचार प्रसार नहुँदा ती क्षेत्रहरू ओझेलमा परेका छन्। इलाम भ्रमणका लागि आउने अधिकांश पर्यटक कहाँकहाँ घुम्ने भन्नेमा अलमल परेका देखिन्छ। इलाम बजारदेखि करिव २५ किलोमिटर उत्तरपूर्वी क्षेत्रमा रहेको माइमझुवा प्रकृति र संस्कृतिको संगम हो। भारतको सिंहलीला राष्ट्रिय निकुञ्जसँग जोडिएको यो क्षेत्र समुद्री सतहबाट एक हजार ५०० मिटरदेखि इलाम जिल्लाकै सबैभन्दा उच्च भाग तीन हजार ६३६ मिटर उचाइको सन्दकपुरसम्म सिमाना रहेको छ। 

    सन्दकपुर

    समुद्री सतहबाट तीन हजार ६३६ मिटरको उचाइमा अवस्थित इलाम जिल्लाकै सबैभन्दा अग्लो स्थान हो, सन्दकपुर। इलाम र भारतको दार्जिलिङ जिल्लाको सिमानामा अवस्थित सन्दकपुर नेपाल, भारत र नेपालका सगरमाथा, कंचनजंघा, कुम्भकर्ण मात्र होइन, सिक्किमको पान्डिम र भूटानको कुलाकाङ्गीसम्म तीन दर्जन बढी हिमचुचुराहरू १८० डिग्रीको सोझो सतहमा देख्न सकिन्छ। सूर्योदय, सूर्यास्त प्राकृतिक सुन्दरता र जैविक विविधताको अवलोकनका लागि परिचित रहेको यो स्थान भारतीय तथा तेस्रो मुलुकका पर्यटकहरूका लागि आकर्षक गन्तव्यका रूपमा रहेको छ।

    यस स्थानमा भारतीय सीमावर्ती क्षेत्रबाट मात्रै सडक यातायातको सुविधा रहेको थियो। हाल सन्दकपुरसम्म जानका लागि माइमझुवाको बुधबारे गोरुवाले भञ्ज्याङ हुँदै पुग्न सकिन्छ भने माबुको कालापोखरी बिखे भञ्ज्याङ हुँदै सन्दकपुरसम्म सडक यातायातको सुविधा रहेको छ। सन्दकपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लक्षित गरी नेपाल र भारततर्फ आधारभूत सुविधासहितका होटलहरू संचालनमा रहेका छन्। सन्दकपुरदेखि दुई किलोमिटर पश्चिममा अवस्थित आहालडाँडा पनि प्राकृतिक दृश्यावलोकनका लागि रमणीय स्थान रहेको छ। सन्दकपुरमा इलामको प्रमुख नदी माईको मुहान र शिवालयसमेत रहेको छ। 

    छिन्तापु

    इलामका उत्कृष्ट पर्यटकीय गन्तव्यहरूमध्ये समुद्री सतहबाट करिव तीन हजार २०० मिटरको उचाइमा अवस्थित एउटा मनोरम स्थान, जैविक विविधता र प्राकृतिक सम्पदाहरूको बेजोड समायोजनको स्थल, प्रकृतिको उपहारका रूपमा पाँचथर र इलामको सीमा क्षेत्रमा अवस्थित  छिन्तापुलाई लिइने गरिन्छ। फागुन, चैत, बैशाख महिनामा थरिथरिका गुराँसहरू फुलेर छिन्टापुक्षेत्रलाई नै रमणीय बनाउँछन्। छिनछिनमा परिवर्तन हुने मौसम र चिसो बतासले आगन्तुकहरूसँग लुकामारी खेल्छ। प्राकृतिक सुन्दरताको अनुपम दृश्य हेर्ने अवसर छिन्टापुजानेहरूलाई नै प्राप्त हुन्छ। छिन्तापुको अर्को आकर्षण भनेको हिमशृंखलाहरूको जीवन्त दृश्यावलोकन हो।

    कंचनजंघा, कुम्भकर्ण, सगरमाथालगायतका नेपाल, भारत र भूटानका हिमालशृंखलाहरूलाई नजिकैबाट अँगालो हाल्न सकिएला जस्तो गरी धित मरुञ्जेल हेर्न सकिन्छ। यति मात्र होइन, सीमापारि सिक्किम, दार्जिलिङ, इलाम जिल्लाको अधिकांश भूभाग, तराईका फाँट, इलाम, पाँचथर र ताप्लेजुङका मिलेका होचा अग्ला डाँडाकाँडा र बस्तीहरूको रमणीय अवलोकन रहेको छ।  लालीगुँरासको निकै ठूलो घना जंगल, रेडपाण्डा, थार, चराचुरुङ्गी, जडिबुटी र सुन्दर भौगोलिक बनावटको अवलोकन छिन्तापुबाट जति सहज र रमणीय तवरमा पाउन सकिन्छ, त्यति सायदै अरू ठाउँबाट पाइएला। 

    छिन्तापुकै डाँडामा दुईवटा सुन्दर पोखरीहरू रहेका छन्, जसले यहाँको सौन्दर्यलाई अझै थपेको छ। छिन्टापुभन्दा केही तल तालपोखरी, डढेली पोखरी, हाँस पोखरीलगायतका आधा दर्जन पोखरी, धप्पर झर्ना, बालागुरु गुफालगायतका दृश्यावलोकनका लागि उत्कृष्ट स्थलहरू समेत रहेका छन्। छिन्टापुभन्दा केही तल पौराणिक किंवदन्ती रहेको आकर्षक दैलाढुंगा रहेको छ। छिन्टापुसम्म जानका लागि इलामकै माईपोखरी हुँदै माइमझुवाको बुधबारे गोरुवालेसम्म गाडीमा गएर डेढ घण्टाको पैदल मार्गको प्रयोग गर्न सकिन्छ। 

    माईपोखरीबाट सिधै पैदल जानसमेत सकिन्छ भने माइमझुवाको शेर्पेगाउँ हुँदै पनि पैदल पाँच घण्टामा छिन्टापु पुग्न सकिन्छ। 

    टोड्के झर्ना 

    समुद्री सतहबाट एक हजार ६०० मिटर उचाइमा अवस्थित टोड्के झर्ना २८० फिट अग्लो छ। माईखोलाभन्दा करिव ४० किलोमिटर पश्चिममा रहेको यो झर्ना तेह्रथुमको ह्यातुङपछिको दोस्रो अग्लो  झर्ना हो। यस झर्नाको अवलोकनका लागि सयौँ आन्तरिक तथा बाह्य पर्यटकहरू वर्सेनि यहाँ आउने गर्छन्। जंगलका बीचमा पहराका बीचबाट झर्ने यो झर्ना निकै रमणीय पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। टोड्के झर्नाभन्दा २०० मिटर माथि १०५ फिट अग्लो छाँगे झर्ना रहेको छ। साविकको माइमझुवा गाविस वडा नं. ६ र ७ बीच धप्परको पुछारमा करिव १५० फिट अग्लो धप्पर झर्नाको दृश्यावलोकनसमेत निकै रमणीय हुने गरेको छ भने दुई तले झर्नाको मनमोहक दृश्य पनि हेर्न सकिन्छ। 

    पोखरी र तालतलैयाहरू

    इलाम जिल्लामा रहेका प्राकृतिक पोखरी र तालतलैयाहरूमध्ये सबैभन्दा बढी अर्थात् १० वटा माइमझुवामा रहेका छन्। माइमझुवाको फुस्रे पोखरी, छिन्टापु पोखरी, ताल पोखरी, डढेली पोखरी, हाँस पोखरी, जम्ले पोखरी, जलजले पोखरी, हाँडे पोखरी यहाँका प्रमुख र आकर्षक प्राकृतिक पोखरीहरू हुन्। जैविक विविधता र साँस्कृतिक, धार्मिक महत्त्वसमेत रहेका यी पोखरीहरूको दर्शन गर्नाले मनोकामना पूरा हुने विश्वास स्थानीय बासिन्दामा रहँदै आएको छ। तालपोखरीमा कंचनजंघा र कुम्भकर्ण हिमालको छाया पर्दा फेवातालमा माछापुछ«े हिमालको छायाको सौन्दर्यको जस्तै आभास पाइन्छ भने सामुदायिक संरक्षणको नमुना फुस्रेपोखरी दृश्यावलोकनका लागि अब्बल रहेको छ। 

    जैविक विविधता र रमणीय भूपरिदृश्य

    माइमझुवाको सन्दकपुर र छिन्टापु क्षेत्रमा ३० बढी प्रजातिका लालीगुराँस, सेतो गुराँस, चिमाल, चाप, लौठ सल्ला, विभिन्न प्रजातिका जडिबुटीलगायतका वनस्पति, विश्वकै दुर्लभ रेडपाण्डा, थार, भालु, चितुवा, मृग, बँदेल, घोरललगायतका वन्यजन्तु, मुनाल, हुचिललगायतका चराचुरुङ्गी र पाहाका विभिन्न प्रजातिहरूले यहाँको जैविक विविधतालाई समृद्ध बनाएका छन्। 

    चिराइतो, लोक्तालगायतका जडिबुटीहरूको खेती अभ्यासको नमुनाहरू यस क्षेत्रमा देख्न सकिन्छ। पूर्वी हिमालयअन्तर्गत कंचनजंघा सिंहलीला भूपरिधि र जैविक मार्गको महत्त्वपूर्ण क्षेत्रका रूपमा यस क्षेत्रलाई जैविक विविधताको अध्ययन, अनुसन्धान र संरक्षणको उपयुक्त स्थानका रूपमा लिइँदै आएको छ। साथै भारतीय सीमावर्ती क्षेत्रहरूको अवलोकन तथा साथै रमणीय भूपरिदृश्य दृश्यावलोकन एवं पदयात्राका लागिसमेत यो क्षेत्र उत्कृष्ट गन्तव्यका रूपमा रहेको छ।

    कृषि, पशुपालन र जडिबुटी खेती

    यस क्षेत्रको जीविकोपार्जनको मूल आधार र सम्भावना कृषि, पशुपालन, जडिबुटी खेती र विस्तारै विकास हुन थालेको सामुदायिक पर्यटन नै हो। प्रांगारिक कृषि उत्पादन एवं जडिबुटी र गैह्रकाष्ठ वनपैदावारहरूको खेती यस क्षेत्रमा प्रचुर रहेकोछ भने माथिल्लो क्षेत्रमा चौरीपालनबाट दूध, घिउ, छुर्पी उत्पादन गर्न परम्परागत गोठ राख्ने चलनसमेत रहेको छ। पछिल्लो दिनमा यस क्षेत्रमा परम्परागत कृषिबाहेक जडिबुटी खेतीको आकर्षण बढ्दै गएको छ। यहाँका भेडाको ऊनबाट बनेका राडीपाखी, बुर्कासन, काठको टोलुङ, लाजिम, दुधेरो स्थानीय उत्पादनहरू हुन्।

    यात्रा/सामान

    काठमाडौंदेखि इलाम सदरमुकामसम्म रात्रि बस सेवाको सुविधा छ। हवाई यात्राबाट आउने हुँदा काठमाडौंबाट भद्रपुरसम्म यात्रा गर्न सकिन्छ। भद्रपुरदेखि भाडाको गाडीबाट इलाम सदरमुकाम आउन सकिन्छ। इलाम सदरमुकामदेखि माइमझुवाको बुधबारेसम्म दैनिक यात्रु बोक्ने गाडी पाइन्छन्। माइमझुवाको बुधबारेदेखि आफ्नो यात्रा पर्यटकीयस्थलमा तय गर्न सकिन्छ।

    समुद्र सतहको तीन हजार ६३६ मिटरसम्म उचाइमा रहकाले ज्याकेट, टोपी र बाक्ला कपडा बोक्नुपर्छ। खान र बस्नका लागि होटलहरू तथा होम स्टेको व्यवस्था पर्यटकीयस्थलमा छ। माइमुझुवाको बुधबारेमा स्वास्थ्य चौकी भए पनि त्यसभन्दा माथि औषधि पसल पाइँदैनन्। त्यसैले सामान्य प्रकारका औषधि साथमै लगे राम्रो हुन्छ। चार दिनदेखि छ दिनसम्म भ्रमण गर्नुपर्ने भएकाले कम्तीमा १५ हजार रुपैयाँ खर्च साथमा हुनुपर्छ।

    हेर्नुहोस् फोटो :

नमीन ढकाल

ढकाल थाहाखबरका इलाम संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]