|

काठमाडौं : पत्रपत्रिका, टेलिभिजनमा आफ्नो छोरोको प्रशंसामा आउने दृश्यले जन्म दिने आमाको छाती कति चौडा हुँदो हो! सायद सन्तोष लामाकी आमाको पनि सपना थियो- छोराको गीत रेडियोमा सुन्ने। आफ्नो छोराबाट ती सपना र रहर पूरा गर्ने अवसर पाइन् उनले। नेपाली तारा सिजन २ भएकै दिन लामाले मनमनै आनन्दको सास लिँदै भने होलान्,  'थ्याङ्क्स गड! मैले आमाको सपना पूरा गरेँ।'

'बुबा पनि गाउनुहुन्थ्यो। उहाँको स्वर पनि राम्रो थियो तर पारिवारिक कठिनाइले निरन्तरता दिन पाउनुभएन। आमाको रहर थियो होला बुबाको गीत सुन्ने', लामा भन्छन्, 'बुबाको गीत सुन्न नपाउँदा छोराबाट अपेक्षा हुनु स्वाभाविक हो।' वि.सं. २०६४ पुस पहिलो साता उनी नेपालको दोस्रो नेपाली तारा घोषित भएका थिए। नेपाली तारा सिजन २ को अन्त्यसँगै उनको चर्चा सेलायो। नेपाली सांगीतिक बजारमा उनको आगमन सुस्त भयो। उनी जस्तोसुकै जनराको गीत गाउन सक्ने भए पनि  उनको गायन यात्रा किन सुस्त भयो त?

'हरेक कुराको पहिलो जस्तो महत्त्व दोस्रोको हुँदैन। यो अकाट्य सत्य हो। पहिलो नेपाली ताराको जस्तो चर्चा दोस्रोचोटिमा आउँदा अलि कम भएको थियो', उनी भन्छन्, 'कति गीतमा मेरो स्वर भए पनि गायक नचिन्ने भएकाले गर्दा पनि म छायामा परेको हुँ कि भन्ने अनुभव हुन्छ।' उसै पनि नेपाली तारा भइसकेपछि विभिन्न प्राविधिक कारणवस उनको पहिलो एल्बम तीन वर्षपछि मात्र रेकर्ड भयो, जतिखेर नेपाली ताराको चार्म घटिसकेको अवस्था थियो। 

बजारमा नयाँनयाँ रियालिटी शोहरूको दबदबा तीव्र भइसकेको थियो। नेपाली तारा हुनुअघिको घटना सम्झन्छन् उनी, 'दर्शकको भोटले मात्र को बन्ने नेपाली तारा भन्ने कुराको छिनोफानो हुने गर्थ्यो। भोटको आधार हेर्ने हो भने तारा लक्सम लिम्बूले जित्छ कि भन्ने लागे पनि स्वरको हिसाबले म कम छैन भन्ने लागेको थियो।' 

दुई जना फाइनलमा थिए, जसमध्ये एक जनाले उपाधि जित्ने पक्का थियो। संचार माध्यममा पनि उनीहरू छाइरहेका थिए। विभिन्न संचार माध्यममा समाचारहरूमा उनीहरू यसरी प्रकाशित/प्रसारित हुन्थे, मानौँ दुई जना प्रतिस्पर्धी होइन, दुश्मन हुन्। 'संचार माध्यममा यसरी एग्रेसिभ भएर समाचार आएजस्तो म र ताराको बीच खास त्यस्तो केही हुँदैनथ्यो। दुवै पहिलो नेपाली ताराको टप २० बाट आउट भएका थियौँ', उनी भन्छन्, 'दोस्रो नेपाली तारा हुँदा तारा भाग लिँदा म पनि किन नलिने भन्ने अवस्थाले गर्दा पनि हामी प्रतिस्पर्धी भए पनि दाजुभाइको जस्तो नाता थियो। दुई जना ती समाचार हेर हाँस्ने गर्थ्यौं।' 

समाचारहरूमा ताराका लागि यति पैसा उठ्यो। यहाँ यस्ता कार्यक्रमहरू भइरहेका छन् भन्ने समाचार पढ्दाचाहिँ ताराले जित्छ कि जस्तो लागेको थियो रे! तर नेपाली ताराको उपाधिचाहिँ लामाको पोल्टामा पर्‍यो। उनी त्यो दिन सम्झन्छन्, 'मैले उपाधि जित्दा पनि तारा उस्तै खुसी देखिन्थ्यो। सँगै रुम पार्टनर भएर बस्दा बस्दा म र ऊ नङ र मासु जस्तो भइसकेका थियौँ।'

नेपाली तारा हुँदाको महत्त्वपूर्ण फाइदा भनेको धेरै दर्शक/श्रोतासँग नजिक हुने अवसर पाइएको उनको अनुभव छ तर विजेता बनेर उपाधि जित्नु मात्र एउटा इमान्दार गायकका लागि ठूलो उपलब्धि होइन। दर्शकको अपेक्षालाई पूरा गर्नु नितान्त आवश्यक र अवसर पनि हो भन्ने लाग्छ उनलाई। धादिङका स्थायी बासिन्दा उनी नेपाली तारासम्मको यात्रा त्यति सहजै नभएको बताउँछन्। राजधानी नजिक भए पनि उनको गाउँ अलिक दुर्गममा नै पर्छ। गाउँमै हुर्केका हुनाले उनी अलिक लजालु स्वभावका थिए। जिल्लामा हुने गायन प्रतियोगितामा पुरस्कृत भएकाले ठूलो भएपछि गायक नै हुन्छु भन्ने लागेको थियो उनलाई।

उसो त उनी नेपाल टेलिभिजनले गर्ने अधिकांश प्रतियोगितामा भाग लिन्थे। कहाँ चुक्थ्यो उनको स्वर अनि आउट हुन्थे। उनी मुस्कुराउँदै भन्छन्, 'हारे पनि भाग लिन छाडिएन। गायक बन्ने पागलपन जो थियो मनमा।' उनी शहरको वातावरणसँग घुलमिल त एसएलसी सकेपछि मात्र भएका हुन्।

हँसिलो अनुहार उनको पहिचान हो। मुस्कुराउँदै उनी भन्छन्, 'शहरको भागदौड र करियर निर्माणसँगै लजालुपन खै कता बिलाई गयो, स्वयंलाई थाहा छैन।' उनी २०५७/०५८ मा एसएलसी पास भएपछि म्युजिक पढ्नका निम्ति रत्नराज्यलक्ष्मी क्याम्पसमा भर्ना भए। तर त्यहाँको वातावरणमा आफूले सिक्न नसक्ने भएकाले अंग्रेजी विषय लिएर पढे। लगत्तै उनले डोरेमीमा भानुभक्त ढकाल र ईश्वर अमात्यसँग संगीत सिक्न थाले।

बुबा ड्राइभर पेसामा आवद्ध थिए। बुबाको आम्दानीले छोराछोरीको दैनिकीमा आइलाग्ने सामान्य आवश्यकतामा सकिन्थ्यो। एसएलसीपश्चात् धादिङ जिल्लाबाट निकासी हुने निर्माण सामग्रीहरूको कर उठाउने ठाउँमा काम गर्न थाले। कर उठाउने काम मात्र हुँदैनथ्यो त्यहाँ, गिटी बालुवाको नाप जाँच पनि हुने गर्थ्यो। उनले त्यो काम पनि गर्थे। उमेरसँगै घरमा अपेक्षा बढ्दै जाँदा जागिर खानुपर्छ भनेर उनी त्यो काम गर्नतिर लागेको बताउँछन्। 'बिहान सबेरै उठ्यो। रत्नपार्क आउने गाडी चढ्यो। गाह्रो पो थियो त!', उनी भन्छन्, 'महिनाको २८ सय कमाइन्थ्यो। महिना दिनमा आफ्नो खर्च ८०० सय हुन्थ्यो। बाँकी रकम घरमा बुझाउँथेँ।'

उता, प्रशान्त तामाङ पनि इण्डियन आइडल भएका थिए, जसको चर्चाले उनी छायामा परे। नेपाली ताराको एग्रिमेन्टअनुसार उनले एल्बम ल्याउनुपर्थ्यो तर प्राविधिक कारणले गर्दा उनको एल्बम आउनै तीन वर्ष लागेको थियो।

उनी बिहानको कलेज, दिउँसोको संगीत सिकाइ साथसाथै बेलुका कर उठाउने काम गर्थे। राती २ बजे सुत्थे र बिहान ५ बजे उठेर कलेज पढ्न आइपुग्थे। यो उनले नेपाली तारा हुनुभन्दा अगाडि पाँच-सात वर्ष काम गरेको समय हो। जबकि उनी त्यसबेला नेपाली ताराको सिजन १ बाट आउट भइसकेका थिए। किशोरावस्थामा गायक बन्ने जोशका बाबजुद पनि टप २० बाट निस्किँदा एकदमै ठूलो दु:ख लागेको बताउँछन् उनी। जुन शान र गाएर ठूलो गायक बन्छु भन्ने लागेको थियो, त्यो सब चकनाचुर हुँदा तनावको उच्च बिन्दुमा पुगेको बताउँछन् उनी। तनावका बाबजुद पनि उनले उक्त काम छाडेनन्। त्यसबेला नेपाली ताराको सिजन १ को रौनक नै अर्कै थियो। उनी टप २० मा परेको हुनाले धेरैले उनीलाई चिन्थे।

उनी भन्छन्, 'मैले मास्क र टोपीचाहिँ कहिल्यै छाडिनँ। कहिलेकाहीँ मास्क र टोपी खोल्दा मान्छेहरूले उनलाई ओहो भनेर जिब्रो काड्थे। उनीहरूलाई लाग्दो हो- गायक हुने मान्छे के धुलोमा जिन्दगी बिताउन मन लागेको होला? तर जिन्दगी अरूले सोचेजस्तो हुँदैन। बाध्यता त उनी आफैँसँग थियो। कर उठाउने कामले गर्दा जिन्दगीमा कुनै पनि काम गर्न लाज मान्नुहुँदैन भन्ने सिकाएको उनी बताउँछन्। आत्मसम्मानमा ठेस नलाग्ने काम गर्दा आफू लज्जित हुनुभन्दा गौरव महसुस हुने उनको भनाइ छ।

अभावले आत्मनिर्भर हुन सिकाउने उनको अनुभव छ। उनी चाहन्थे, 'आफैँ कमाउन पाए बुबाआमासँग पैसा माग्ने झन्झटबाट मुक्त भइन्थ्यो र अर्को कुरा बुबा आमालाई पनि छोरो आफ्नो खुट्टामा उभिन सक्ने भइसक्यो भन्ने आभास दिलाउन पाइन्थ्यो।' जब उनी नेपाली तारा सिजन २ विजेता बने, अब भने उनको दैनिकीमा केही फरक आयो। सबै परिवार बोकेर उनी काठमाडौं आए।

उता, प्रशान्त तामाङ पनि इण्डियन आइडल भएका थिए, जसको चर्चाले उनी छायामा परे। नेपाली ताराको एग्रिमेन्टअनुसार उनले एल्बम ल्याउनुपर्थ्यो तर प्राविधिक कारणले गर्दा उनको एल्बम आउनै तीन वर्ष लागेको थियो। 'बटुवा' एल्बम लिएर आए तर भइदियो के भने त्यो क्लासिकल हेभी गीत थियो। उनी कल्याण सिंहको कम्पोजिसन र शब्द अनिल स्थापितको थियो। टाइटल गीत चल्तीको भन्दा अलिक फरक दार्शनिक जनराको भएकाले सर्वसाधारणको मन जित्न सफल भएन। यसले गर्दा सन्तोष लामा हरायो भन्ने आमजनताको प्रश्नमा ठूलो बल पुग्यो।

उनले ३०० बढी गीत गाइसकेका छन्, जसमा ५० बढी चलचित्रका गीत छन्। उनले आफैँले तीनवटा एकल एल्बम पनि बजारमा ल्याइसकेका छन्। पहिलो एल्बम सन् २०१० मा 'बटुवा', २०१२ मा दोस्रो एल्बम 'अम्बर' र तेस्रो एल्बम 'अक्षता' २०१४ मा निकाले। चलचित्रमा गाएका उनका गीत प्राय: हिट छन्। तर चलचित्रमा गाउने हरेक गीतमा गायकभन्दा नायक, नायिकाहरू केन्द्रित भएकाले उनको त्यति धेरै चर्चा हुँदैन।

प्रचारका लागि कहिल्यै उनी दौडधुप गरेनन्। 'मान्छे चिनिने उसको कर्मले हो। सस्तो लोकप्रियता खोज्दै जाँदा दुर्घटना हुने संभावना ज्यादा हुन्छ। एकचोटि दुर्घटना भइसकेपछि उठ्न गाह्रो छ', मुस्कुराउँदै भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.