|

दमक : कलेजो रोगबाट पीडित पाँचथर याङवरक-४ घर भइ हाल दमकमा बस्दै आएकी ३८ वर्षीया सुवित्रामाया योङहाङ (तामाङ)लाई युके बस्दै आएका नेपालीहरूले ३ लाख बढी सहयोग गरेका छन्।

लामो समयदेखि कलेजको रोगबाट पीडित सुवित्रामायाको उपचारार्थ पाँचथर याङवरक-६ स्थायी घर भई हाल युकेमा बसोबास गर्ने सरला योङहाङ (काम्बाङ) र होमित योङहाङको अगुवाइमा युकेबाट सहयोग गरिएको हो। थर्पु समाज युकेबाट १ लाख ८ हजार ९ सय, महिला समूहको ५८ हजार ८ सय ७० रुपैयाँ र अन्य दाताहरूबाट प्राप्त १ लाख ३७ हजार बढी सहयोग संकलन गरी पठाएको ३ लाख ५ हजार ३२० रुपैयाँ सहयोग रकम बुधबार बिरामी र उनका आफन्तलाई हस्तान्तरण गरिएको हो। 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का सङ्घीय सचिव कमन देवानको नेतृत्वमा फोनिजका सङ्घीय पार्षदहरु विष्णु सुब्बा, डिकेश लामा र झापा जिल्ला उपाध्यक्ष देशराज नेम्बाङले बिरामीको घरमै पुगेर सो सहयोग रकम हस्तान्तरण गरेका हुन्।

कलेजोको रोगबाट पीडित सुवित्रालाई हाल उनका भाइबहिनी देउकला र मुक्तिप्रसाद योङहाङले स्याहार सम्भार गरिरहेका छन्। काठमाडौंस्थित वीर अस्पतालमा करिब ३ महिना सघन उपचार गराएर केही दिन पहिले घर फर्किएकी सुवित्राको ८ वर्षीया एक छोरी छिन्। उनका श्रीमान रामकुमार तामाङ भने ९ वर्षअघि नै वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका र सम्पर्क विहीन रहेको सुवित्राको भनाइ छ। 

उनका अनुसार काठमाडौंमा उपचार गराउँदा साढे तीन लाख रूपैयाँ खर्च भएको थियो तर, कलेजो प्रत्यारोपण असम्भव हुने र औषधिले मात्रै रोगको रोकथाम गर्नुपर्ने चिकित्सकहरुको सल्लाह अनुसार हाल सुवित्रा नियमित औषधि सेवन गरिरहेकी छिन्। आफू नाबालिका छोरीकै लागि भए पनि बाँच्न चाहेको भन्दै सुवित्राले उपचार सहयोगका लागि याचना गरेकी छन्।

यसैबीच सूर्य योङहाङ, लक्ष्मीप्रकाश योङ्हाङ लगायतले मलेसियाबाट ८४ हजार सहयोग प्रदान गरेको र अन्य विभिन्न व्यक्ति र संघसंस्थाहरुले पनि सहयोग गरेको सुवित्राकी बहिनी देउकलाले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.