थाहा संवाद

चिनीको मूल्यमा सात रुपैयाँ घाटा छ, बजार नियमनको जिम्मा हाम्रो होइन : उद्योगी अग्रवाल
SHARES

असोज १७, २०७५

    काठमाडौं : चिनीको आयातमा सरकारले परिमाणात्मक बन्देज लगाएका कारण मूल्य बढेको भन्दै सरकारले आलोचना खेपेको छ। चिनी उद्योगीको दबाबमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै चिनीमा परिमाणात्मक बन्देज लगाउनका लागि पहल कदमी लिएपछि संसदीय समितिहरूमा समेत यो विषय पेचिलो बनेको छ। प्रतिनिधिसभाका लेखा समिति सदस्यहरूले यसमा आर्थिक चलखेल भएको आरोपसमेत लगाएका छन्।

    दुई महिनाअघिसम्म बजारमा ७५ रुपैयाँमा पाइने चिनी अहिले ८५ रुपैयाँभन्दा महँगो छ। सरकारी स्वामित्वका संस्थानले संचालन गरेका सहुलियत मूल्य पसलमा ७० रुपैयाँमा चिनी बिक्री गरिएको थियो तर केही डिपार्टमेन्ट स्टोरहरूमा ५९ रुपैयाँमा चिनी दिइएको छ। लेखा समितिले चिनीको मूल्य घटाउन निर्देशन दिएको छ। यसै विषयमा नेपाल चिनी उद्योग महासंघका अध्यक्ष शशिकान्त अग्रवालसँग थाहाखबरकर्मी भागवत भट्टराईले गरेको कुराकानी प्रस्तुत छ।

    चिनीको मूल्य घटाउन सकिने अवस्था छ?

    विगतका वर्षहरूको तुलनामा चिनीको मूल्य घटेको छ। विगतमा ८५ रुपैयाँ भएको चिनी अहिले उपभोक्ताले ७० रुपैयाँमा पाउनुपर्ने हो। अहिले हाम्रो कारखानाले उत्‍पादन गरेको चिनीको मूल्‍य भ्याटसहित ६५ रुपैयाँमा उपलब्ध गराइरहेका छौँ। ६५ रुपैयाँमा भाडा जोडेर, केही कमिसन राखेर पनि ७० रुपैयाँमा चिनी उपलब्ध हुनसक्छ। 

    तर बजारमा त पाइएको छैन नि?

    खुद्रा मूल्य नियन्त्रण गर्न हामी सक्दैनौँ। हामीले आफ्नो मूल्यमा दिएका छौँ। उद्योगीले नै महँगो लियो भन्ने अफवाह फैलाएपछि हामीले घोषणा गरिसकेका छौँ कि ५७ रुपैयाँ ५० पैसा हाम्रो मूल्यमा दिएका छौँ, त्यसमा भ्याट जोड्दा पनि ६५ रुपैयाँ हो। हामी ६५ रुपैयाँमा जति चिनी चाहिन्छ, उपलब्ध गराउन सक्छौँ। नेपालका सबै चिनी उद्योगले ६५ रुपैयाँमा चिनी उपलब्ध गराएका छन्।

    उद्योगीले नै चिनीको मूल्य बढाएको भनिएको छ, यसअघि अलिक महँगो लिएर अहिले घटाएको हो?

    वास्तविक कुरा गर्ने हो भने अहिले हामीले बेच्ने चिनीको मूल्‍यमा पहिलेको भन्दा ४-५ रुपैयाँ सुधार (घटेर) आएको हो।

    कहिलेको तुलनामा घटेको हो चिनीको मूल्य?

    पछिल्लो १२ दिनको अवधिमा नै यो मूल्य घटेको हो। हाम्रो तर्फबाट अघिल्लो वर्ष ७१-७२ रुपैयाँ प्रति किलो चिनीको मूल्य पुगेकोमा अहिले ६५ रुपैयाँमा बेच्‍न पाएका छौँ। हाम्रो तर्फबाट ५७ रुपैयाँ ५० पैसा र भ्याट तिर्दा ६५ रुपैयाँमा जाने गरेको हो। तर यो मूल्यमा हामीलाई ६-७ रुपैयाँ घाटा रहेको छ। नेपालमा हाम्रो उखुको लागत संसारकै सबैभन्दा महँगो छ।

    उखुको मूल्य सरकारले निर्धाण गर्ने हो। त्यो मूल्य अधिक महँगो भएका कारणले गर्दा नै हाम्रो चिनीको मूल्य महँगो पर्न गएको हो। 

    प्रतिस्पर्धा गर्दा चल्न नसकेका कारण प्रतिबन्धको माग गर्नुभयो अनि मूल्य बढाउँदैनौँ भनेर बढाउनुभयो होइन?

    कसरी यो कुरा आउँछ, थाहा भएन। हाम्रो प्रधानमन्त्रीज्यूसँग के प्रतिवद्धता थियो भने उत्पादन मूल्य, जुन नेपाल सरकारको कृषि मन्त्रालय र उद्योग मन्त्रालयले संयुक्त रूपमा चिनीको मूल्य ६३ रुपैयाँ छ भनेर नेपाल सरकारले निकालेको थियो। यो गत वर्षको उत्पादन मूल्य हो। अहिले ज्याला पनि बढेको छ, अन्य कुरा पनि बढेको छ। 

    तथापि, हामीले एउटा प्रतिवद्धता गराका थियौँ- यो वर्षका लागि भ्याटबाहेक ६३ रुपैयाँभन्दा बढी मूल्य बढ्न दिँदैनौँ भन्ने। ६३ रुपैयाँमा भ्याट जोड्ने हो भने ७० रुपैयाँ हुन्छ। अहिले हामीले ६५ रुपैयाँमा नै चिनी उपलब्ध गराएका छौँ। हामीले उत्पादन मूल्यभन्दा पनि सस्तोमा चिनी उपलब्ध गराएका छौँ। 

    भन्नाले अहिले घाटा खाएर बेच्नुभएको हो

    हो, अहिले प्रत्यक्ष रूपमा सात रुपैयाँ घाटा छ। कसैले पनि हाम्रो मूल्यांकन गर्‍यो भने सात रुपैयाँ घाटा पाउनुहुन्छ। 

    त्यसो भए व्यापार घाटामा चलाउनुभएको छ?

    व्यापार भनेकै त्यस्तै त हो नि- कहिले नाफा, कहिले घाटा। सधैँ नाफा वा सधैँ घाटा हुनु त व्यापार नै भएन नि! कर्मचारीको तलब आएजस्तै त होइन नि व्यापार भनको। 

    संसारभर चिनीको मूल्य घटेपछि चिनी आयात गरेर स्टक राखिएको र मूल्य बढाएको आरोप तपाईंहरूको नियमन गर्ने निकायले नै लगाएको छ त?

    हामीकहाँ पनि दुई लाख किसानको संरक्षणको कुरा आउँछ। आफ्नै नेपालमा उपज भएको कृषि बचाउनुपर्छ भने सरकारले आफ्नै उद्योग प्रवर्द्धन गर्नलाई अझै यथेष्ट कदम चालेको छैन। 

    चिनीलाई संरक्षण दिनु भनेको उद्योगीलाई संरक्षण मात्रै होइन, किसानलाई पनि संरक्षण हो। व्यापार घाटा घटाउनु हो, उद्योगको प्रवर्द्धन गर्नु हो। उखु खेतीमा दुई लाख किसान आवद्ध छन्। विगतको वर्षमा चिनीमा अन्तर्राष्ट्रिय मन्दी आएपछि चिनीको भन्सार आयातमा १५ प्रतिशतले नेपालले बढाएको थियो त। भारत सरकारले १०० भन्सार शुल्क बढाएको छ।

    यो उसका किसानको संरक्षणका लागि हो। हामीकहाँ पनि दुई लाख किसानको संरक्षणको कुरा आउँछ। आफ्नै नेपालमा उपज भएको कृषि बचाउनुपर्छ भने सरकारले आफ्नै उद्योग प्रवर्द्धन गर्नलाई अझै यथेष्ट कदम चालेको छैन। 

    नेपाली उत्पादन विश्‍व बजारसँग प्रतिस्पर्धी बन्नुपर्दैन?

    सधैँ यो मूल्यमा चिनी पाइने होइन, यसपालि अन्तर्राष्ट्रिय बजारमा चिनीको उत्पादन साह्रै बढेका कारणले गर्दा मूल्य घटेको हो। उखुको उत्पादन बढेका कारण। जहाँ पनि कृषकको भुक्तानी समयमा भएन भनेर सरकारले चिनी किन्छ। चिनी नकिन्ने ठाउँमा सहुलियत दिने हो। यसमा सरकारले विशेष प्याकेज ल्याएर पनि सहुलियत दिनुपर्छ।

    चाडपर्वको समयमा चिनीको मूल्य यसरी बढाउँदा उपभोक्ता त महँगीमा परे नि?

    चिनीमा खास अर्थ पार्दैन। एक उपभोक्ताले वार्षिक औसत १० किलो चिनी खान्छ। वार्षिक एउटा परिवारमा तीन जना हुँदा प्रति परिवार २०० देखि ३०० रुपैयाँ प्रभाव पर्छ। चिनीको मूल्यमा खासमा राजनीति मात्रै गरिएको हो। आमउपभोक्तालाई यसले असर गर्दैन।

    चिनीबाट त्यसो भए अरू कुनै साम्रग्री बन्दैन?

    अरू सामाग्री बन्छ। मिठाइहरू, बिस्कुटहरू, चिया, त्यस्तै त हो नि!

    त्यसको मूल्यमा पनि त असर पार्ला नि! कि चिनीको मूल्य बढ्दा असर गर्दैन?

    मूल्यमा प्रभाव त केही न केही पार्ला तर विगतमा २० रुपैयाँ मूल्य घटाउँदा चकलेट, बिस्कुट, चिया कुनै क्षेत्रमा पनि मूल्य घटेको थिएन। यसले ठूलो प्रभाव पार्दैन।

    अहिले पनि उखु किसानलाई चार अर्ब रुपैयाँ बढी भुक्तानी दिन बाँकी राखेका छन् त किसानले?

    हामीले किसानबाट १० अर्ब रुपैयाँ बराबरको चिनी खरिद गरेका हौँ। धेरै पैसा तिरेका छौँ। अहिलेसम्मको अवस्थामा नौ अर्ब रुपैयाँ बराबरको मूल्य तिरेकोमा बाँकी एक अर्ब दशैँअघि नै तिर्ने लक्ष्य छ। स्वदेशी चिनी पहिले खरिद भएको भए हामीले बाँकी राख्नुपर्दैनथ्यो।

    आयात नगरी नेपाली उत्पादनले बजार धान्‍न सक्छ?

    डाटाको हिसाबले दुई लाख ५० हजार मेट्रिक टन चिनीको माग छ। यो आउँदो सिजनमा दुई लाख ५० हजारभन्दा पनि बढी उत्पादन गर्छौं हामी। सरकारले चिनी उद्योगमा आउने समस्या भने समधान गर्नुपर्छ।

भागवत भट्टराई

भागवत भट्टराई आर्थिक र समसामायिक विषयमा रिपोर्टिङ गर्छन्। 

@BhagwatBhattrai

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]