मनोरञ्जन

सदाबहार छ यादव खरेलको 'तिहारै आयो लै झिलीमिली'
SHARES

खरेल : गीत सामान्यै लेखेको थिए तर स्रोता तथा दर्शकले अझै रुचाइदिए।

कात्तिक १३, २०७३

    काठमाडौं : २०५० सालको कुनै दिन।

    यादव खरेललाई शम्भु प्रधानले भेटेर भने- 'दाइ एउटा गीत लेख्दिनु पर्‍यो।'

    आफ्ना मित्रसमेत रहेका चलचित्र निर्देशक शम्भु प्रधानको आग्रह उनले टार्न सक्ने कुरै थिएन।

    शम्भु चलचित्र 'स्वर्ग' को निर्देशनमा व्यस्त थिए। यही फिल्मको लागि उनलाई गीत चाहिएको थियो। शम्भुले फिल्मको दृश्य पनि सुनाए। नायिका नायकको घरमा भैलो खेल्न गएकी हुन्छे। त्यहीँ देउसीभैलो भट्याउँदा उसले प्रेमका कुरा पनि गर्छे। र, नायक-नायिकाबीच प्रेम हुन्छ। 

    शम्भुलाई यही 'सिन' का लागि गीत चाहिएको थियो। गीतमा प्रेम र संस्कृति दुबै हुनुपर्ने शम्भुको माग थियो।

    लोचन भट्टराई र नूतन प्रधानको स्वर तथा शम्भुजित बास्कोटाको स्वरमा रहेको यो गीत यति सदाबहार बन्यो कि हरेक तिहारको 'आइकन' गीत बन्यो। 

    हरियो गोबरले लिपेको,

    लक्ष्मी पूजा गरेको

    हे औँसी बार गाई तिहर भैलो....

    यादव खरेल आफूले लेखेको यही गीतको रचनागर्भ थाहाखबरलाई सुनाउँदै थिए।

    पशुपतिनाथ मन्दिर पछाडि गौरीघाटबाट अलि अगाडि टुसाल मार्गको छेउमा छ खरेलको घर। उनी कुनै कार्यक्रममा जाने तयारीमा थिए।

    तिहारको माहोल। यो बेला बजिरहने र सबैले गुनगुनाइरहने गीत 'तिहारै आयो, लौ झिलीमिली, सुन हजुर…' सम्झाएपछि उनले एकछिन सोचे। 

    'ए, यो त मैले कहिले लेखेको थाहै भएन' यति भनिनसक्दै उनले मोबाइल उठाए र कतै फोन लगाए। उनले 'स्वर्ग' का निर्देशक शम्भु प्रधानलाई फोन गरेका थिए।

    केहीबेर भलाकुसारीपछि उनले सोधे- 'शम्भु भाइ, स्वर्ग फिल्म कहिले बनाउनुभएको हो रे?'

    फोन वार्ता टुंग्याएपछि उनले भने- 'ए, सन् १९९३ मा बनाएको फिल्म हो यो त !'

    गीत आजभन्दा २३ वर्ष पहिले लेखिएको थियो। २०५० सालमा। महिना भने खरेलले बिर्सेछन्। '

    ओहो, कुन महिना थियो त्यो त भन्न गाह्रो', उनले भने, 'सायद तिहार आउने बेला फिल्म रिलिज हुँदै थियो कि। त्यै माहोल होला।' 

    गीत श्रोताको मनमा बस्यो

    शम्भूले लोचन भट्टराई र नूतन प्रधानको स्वरमा रहेको उक्त गीतमा गौरी मल्ल र शिव श्रेष्ठ लगायत कलाकारलाई अभिनय गर्न लगाए। अनि गीत दर्शक श्रोताकहाँ पुग्यो। दर्शक श्रोताले मन पराए।

    'ठिकठिकै छ भनेर लेखेको थिएँ। दर्शक श्रोताले मन पराइदिए', खरेल भन्छन्, 'दुई दशकपछि पनि यही गीत गाएर देउसीभैलो खेलिरहेका छन्। श्रोता न्यायाधीशको मनमा बस्यो गीत।'

    गीतमा तिहारको झिलीमिलीको व्याख्या छ। अलिकति प्रेमको कुरा पनि छ जसलाई खरेल 'कथाको माग' भन्न रुचाउँछन्। 'तर सांस्कृतिक पक्ष नभएको भए यति लामो समयसम्म तानिँदैनथ्यो', उनले भने।

    गीतमा समाज

    गीतका शब्दमा गाउँले परिवेशलाई व्याख्या गरिएको छ। 'हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको…' गीतले गाउँको ब्याख्या गर्छ। अनि तिहारमा हुने 'झिलीमिली बत्ती' ब्याख्या गरिएको छ।

    गीतले झिलीमिलीको मात्र कुरा गर्दैन, लाहुर जानेहरुलाई सन्देश पनि छ। 'मेरो हजुर नजाउ लाहुर, नेपालमा पाइन्छ जागिर…' त्यतिबेलाको लाहुर जाने परिस्थिति गीतमा पोखिएको छ। देउसी खेल्न आएका उनीहरु मनका धनी नभेटेपछि मन दुखाएर फर्केको कुरा पनि गीतमा छ- 'टाढाका हामी धाएर आयौँ, हाम्रो त घर हो गैरीगाउँ ! मनका धनी रैनछन् यहाँ, हिँड है साथी फर्की जाँउ।'

    त्यो तिहार, यो तिहार

    सहरका चोकचोकमा 'तिहारै आयो, लौ झिलीमिलि…'  गीत बजेको छ। रेडियो, टिभी, इन्टरनेट, मोबाइल जता सुने पनि भयो, सुविधा अनुसार।

    तर त्यतिबेला काठमाडौंबासीकै पनि सञ्चारमा पहुँच थिएन। 'अहिले तपाईँको हातमा इन्टरनेट छ,यानेकि संसार छ' उनले भने, 'त्यो बेला डिजिटल युग थिएन, जुन अहिले छ। अहिलेको आमसञ्चार र प्रविधिको विकास त झनै परको कुरा!' 

    खरेल देउसीभैलो खेल्ने परम्पराबारे बुझाउन उतिबेला र यतिबेलाको तुलना गरिरहेका थिए। 'त्यतिबेला रातभर र बिहान हुन्जेल भैलो खेल्थे', उनी भन्छन्, 'त्यो देउसीभैलोमा संस्कृति हुन्थ्यो।' अहिलेजस्तो १० बजेपछि देउसी भैलो खेल्न रोक थिएन। बरु धेरै महिलाहरु दिउसो आउँथे, राती खेल्न आउनेहरु धेरै पुरुष हुन्थे। 

    अहिले देउसी भैलो खेल्ने कुरा संस्कृति भन्दा पनि पैसा कमाउने मेलो भएको अनुभूति छ खरेलको। 'त्यतिबेला देउसी भैलो खेल्नेले आशिष दिन्थे। अनि घरबेटीले थालमा सेलरोटी, फूलपाती, अक्षता, पैसा र बीचमा दीप राखिदिन्थे', उनी भन्छन्, 'अहिलेका दशैंमा संघसंस्था आउँछन्, पैसामात्र ध्यानमा हुन्छ।'

    गुनासोभन्दा पनि उनले यसलाई समयको परिवर्तन भन्न रुचाउँछन्। भन्छन्- 'दुनिया बदलिइरहेको छ।'

    घरदेखि दार्जिलिङसम्म आफ्नै गीत सुन्दा

    देउसी भैलो खेल्नेहरु यही गीत भट्याउँदै खरेलको आँगन टेक्छन् हरेक वर्ष।

    'एक वर्ष त ७३ भन्दा बढी टोली आएका थिए', खरेलले तिहारमा उनको आगन टेक्ने टोलीको रेकर्ड राखेका रहेछन्। साना ठूला गरी अहिले पनि उनको आँगनमा ५० भन्दा बढी टोली आउछन्। गीत गाउँछन्, नाच्छन् र जान्छन्।

    'यहाँ आउने नयाँ जेनेरेसनले पनि यहीँ गीत गाइरहेका हुन्छन्', हाँस्दै उनले भने।

    उनले यो गीतको आफ्नो आँगनदेखि भारतको दार्जिलिङसम्म सुनेका छन्। 'एक चोटी दार्जिलिङ र पश्चिम बंगाल जाँदा पनि यही गीतमा देउसी भैलो खेलेको भेटेको थिएँ', उनले सुनाए। नेपाली पुगेको विश्वको हरेक ठाउँमा यो बज्छ भन्ने उनको अनुमान छ। 

    तर, खरेलले नै भने यो गीत गाउँदै देउसी खेलेका छैनन्। खरेल आफैले देउसी नखेले पनि उनका शब्दले विगत २ दशकदेखि देउसी खेलिरहेका छन्। खेलिरहनेछन्।

    गीतको भिडियोः

     

     

     

जयसिंह महरा

जयसिंह महरा राजनीति, अपराध, कला, साहित्य र संस्कृतिमाथि कलम चलाउँछन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]