समिति सभापतिमा भीम रावलका भिनाजुदेखि दार्चुलाकी बमसम्मको चर्चा

|

धनगढी : सुदूरपश्चिम प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसद बैठक बहिस्कार गर्दै आइरहेको छ। असोज १२ गते प्रदेशको नाम र स्थायी राजधानी घोषणा गर्दा संसद बहिस्कार गरेको कांग्रेसले बुधबार पनि बैठक बहिस्कार गरेको छ।

शुक्रबार बहिस्कार गरेको कांग्रेसले, आइतबार पनि बैठक बहिस्कार गरेको थियो। मंगलबार आह्वान गरिएको बैठकमा पुनः बहिस्कार गर्ने चेतावनी दिएपछि बुधबारका लागि सूचना टाँस गरेर स्थगित भएको थियो। बुधबार पनि कांग्रेसले बैठक बहिस्कार गरेको छ। विगतमा कांग्रेस र राष्ट्रिय जनता पार्टी दुवैले बैठक बहिस्कार गरेपनि बुधबार भने राजपाका कृष्णबहादुर चौधरी बैठकमा सहभागी भए। राजपाका दुई सांसद मध्ये एक जना भने अनुपस्थित भए।

बुधबार प्रदेश सभाको बैठक शुरु भए लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले टेबुल ठोकेर अवरोधलाई निरुन्तरता दियो। सभामुख अर्जुनबहादुर थापाले कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावललाई बोल्न समय दिएपछि उनले बहिस्कार गरेको बताए। ‘संसदमा प्रतिपक्षीको सहमती विपरीत सत्तारुढ दलले राजधानीको निर्णय गरेको छ। यसमा हाम्रो सहमति छैन। हामी बहिस्कार गर्छौँ’ रावलले भने।

विशेष समयमा धारणा राख्दै राजपाका कृष्णबहादुर चौधरीले राजधानीको विषयमा राजपाको सुरुदेखि असहमती रहेको बताए। ‘राजधानी तोक्ने विषयमा र प्रकृयामा सुरुदेखिनै असमति छ तर अब प्रदेशसभाबाट निर्णय भइसकेकाले यसमा अवरोध गर्नुको अर्थ छैन’ चौधरीले भने।

विशेष समयमा सात्तारुढ दलका प्रदेशसभा सदस्यहरू कृष्णराज सुवेदी, लिलाधर भट्ट र पूर्णा जोशीले पनि राजधानीको निर्णयका पक्षमा धारणा राखेका थिए। उनीहरूले प्रदेशसभाले पारित गरेको स्थान राजधानीका लागि सबैभन्दा उपयुक्त रहेको बताए।

एउटा विधेयक टेबल

सुदूरपश्चिम प्रदेशसभाको बैठकमा प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ टेबुल भएको छ। प्रमुख प्रतिपक्षी दलको बहिस्कारका बाबजुल सामाजिक विकासमन्त्री दीर्घ सोडारीले विधेयक टेबुल गरे। प्रदेश सरकारका सामाजिक विकासमन्त्री सोडारीले प्रदेश सरकारको काम कारबाहीलाई चुस्तदुरुस्त बनाउन विधेयक ल्याएको बताए।

विषयगत समितिले पाउला त नेतृत्व?

बुधबारको प्रदेशसभा बैठकमा सभामुख अर्जुनबहादुर थापाले विषयगत समिति सभापतिको निर्वाचन मिति तोकेका छन्। उनले असोज २२ गते निर्वाचनको समय तोकेका हुन्। यसअघि सभापति निर्वाचनको मिति तीनपटक सरिसकेको छ।

समितिका सम्भावित सभापति यी हुन्

प्रदेशसभामा चारवटा विषयगत समिति रहेका छन्। समितिको नेतृत्व चयन हुन नसक्दा अहिले समितिको जेष्ठ सदस्यले समितिको सभापतित्व गरिरहेका छन्। चौथो पटक सभामुखले निर्वाचनको मिति घोषणा गरेसँगै समितिको नेतृत्वका लागि दैडधुप शुरु भएको छ। निर्वाचनको मिति घोषणा हुनुपूर्व नै समितिको सभापतिको चर्चा शुरु भइसकेको छ।

अर्थ विकास तथा प्राकृतिक समितिमा हर्कबहादुर कुवँरको नाम सबै भन्दा बढी चर्चामा छ। विशेष स्रोतका अनुसार कुवँरलाईनै सभापति बनाउने विषयमा छलफल भइरहेको छ। उनी अछामबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। कुँवर नेकपाका नेता तथा प्रदेश सातका इञ्चार्ज भीम रावलका भिनाजु हुन्। सामाजिक विकास समितिमा कुन्ती जोशीको नाम चर्चामा छ। उनी डडेल्धुराबाट समानुपातिक मार्फत प्रदेशसभा सदस्य भएकी हुन्। जोशी तत्कालिन माओवादीकी नेतृ हुन्। विधायन तथा प्रदेश मामिला समितिमा कुलवीर चौधरी र नेपालु चौधरी मध्ये एकजना सभापति हुने सम्भावना रहेको छ। कुलवीर कञ्चनपुरबाट निर्वाचित हुन् भने नेपालु कैलालीबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। दुवै तत्कालिन एमालेबाट प्रदेशसभा सदस्य बनेका हुन्।

प्रतिपक्षी दल सभापति रहने अर्थ, विकास तथा प्रकृतिक स्रोत समितिका विषयमा भने अहिले व्यापक छलफल भइरहेको छ। नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी मध्ये कसलाई नेतृत्व दिने भन्ने विषयमा छलफल भइरहेको स्रोतले बताएको छ। नेपाली कांग्रेलाई नेतृत्व दिए कुमारी नन्दा बम सभापति हुने सम्भावना रहेको छ भने राजपालाई दिए कृष्णबहादुर चौधरी सभापति हुने सम्भावना रहेको छ। बम दार्चुलाबाट सभानुपातिक मार्फत प्रदेशसभा सदस्य भएकी हुन् भने चौधरी कैलालीबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.