|

कपिलवस्तु : भूमिगत पानीको मुहान सुकेपछि कपिलवस्तुका दर्जनौँ गाउबस्ती काकाकुल बनेका छन्। चुरेको अनियन्त्रित उत्खनन तथा अत्यधिक दोहनले जिल्लाका अधिकांश स्थानमा रहेका भूमिगत जलका स्रोतहरू सुक्न थालेपछि खानेपानीको हाहाकार भएको हो।

पछिल्लो समय चुरे क्षेत्रसँग जोडिएको जिल्लाको बाणगंगा नगरपालिका, बुद्धभूमि नगरपालिका र कपिलवस्तु नगरपालिकाका विभिन्न स्थानमा समस्या देखिएको हो। सो क्षेत्रका एक दर्जनभन्दा बढी गाउँबस्तीका ६०० घरधुरीका परिवारलाई खानेपानीको अभाव देखिएको छ।

जिल्लाको बाणगंगा नगरपालिकाको कोपवा, सुठौली, भगलापुर र सोही नगरपालिकाको मोतिपुर, भलवाड, जिनुवालगायतका स्थानमा रहेका भूमिगत जलका स्रोतका रूपमा रहेका धारा र आर्टिजन बोरिङ सुक्ने क्रम बढेको छ। बाणगंगा, बुद्धभूमि र कपिलवस्तु नगरपालिकाको सिमानामा रहेको बाणगंगा नदीमा पानीकोे मात्रा घटेको र अर्टिजन बोरिङका कारण पानीका मुहान धारा, नल सुकेका छन्। बाणगंगा नगरपालिका–५ कोपवाको मनरापुरमा १० वर्षअघि बाह्रैमास आउने गरेको आर्टिजन बोरिङ सुकेको स्थानीय बलराम घिमिरेले बताए।

जिल्लाको बुद्धभूमि नगरपालिका–१० पिपरहवामा रहेको तिलौराकोट इँटा उद्योग (सोनी) इँटा उद्योग नजिक लगाइएको अर्टिजन बोरका कारणले एक सय बढी ह्याण्ड पम्प सुकेका छन्। गत शनिबारदेखि देखिएको यो समस्याले  देउपुरा, लोहरौला, गजरैया, पोखरहवा, झलवा र नयाँ बस्तीका करिब २०० घरधुरीका मानिस पीडित बनेका छन्। अहिले सबै ह्याण्डपम्प सुकेर पानी आउन छोडेको छ। गत वर्ष पनि यस्तै समस्या देखिएपछि गाउँलेहरुले विरोध जनाएका थिए। यो वर्ष पनि उही समस्या दोहोरिएर गर्मीको समयमा पानी खान समेत नपाएको ७८ वर्षीय केदार केवटले बताए। 

गत शनिबारदेख भूमिगत पानीका मुहान सुकेर पानी नआउँदा आफ्नो दिनचर्यामा समस्या भएको लोहरौलाका फूलचन्द केवटले बताए। खेतमा लगाएको बालीनाली सबै गर्मीले ढडेर सुक्न लागेको दुखेसो संगीता तेलीको भनाइ छ। पानीको मुहान सुक्दा स्थानीयले दैनिक खाना पकाउन, सरसफाइ गर्न गाईभैँसीलाई खुवाउन समेत नपाएको बताएका छन्। अहिले उनिहरूले गाउँ नजिकैको घोरही नालाको, खोल्साको पानी उपभोग गर्दा समुदायमा सरूवा रोग लाग्न सक्ने त्रास भएको स्थानीय बहराइची केवट बताउँछन्। 

उता इँटा भट्टाले गत वर्ष ४०० भन्दा बढी फिटमा लगाएको अर्टिजन बोरमा ८० फिटभन्दा तल परेका सबै लेयरहरुमा जाली राख्दै गएकोले यस्तो समस्या उत्पन्न भएको स्थानीयको भनाइ छ। पानी नहुँदा गाउँमा सय हेक्टर बढीमा लगाएको तरकारी बाली सुक्न थालेको छ। जिल्लाकै तरकारीको नमुना पकेट क्षेत्रको रूपमा रहेको सो क्षेत्रमा पानीको अभाव भएपछि कृषकहरू चिन्तित छन्।

यता डिप बोरिङले समस्या नपारेको तिलौराकोट इँटा उद्योग (सोनी ईटा)का सञ्चालक महबुव मियाँले बताए । पिपरहवाका कृषकको उपभोक्ता समूह बनाएर उनले इँटा उद्योगका लागि डिप बोरिङ गाडेका हुन्। माथिल्लो भागमा पाइने पानीको सतह धेरै शक्ति भएको मोटरबाट तानिएपछि अन्यत्र छेउछाउका छापाकल (धारा) सुक्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका निमित्त प्रमुख युद्धप्रसाद गुप्ताले बताए। समस्या समाधानका लागि त्यहाँ गाडिएको डिप बोरिङ थोरै समय मात्र चलाउन सकिने उनले बताए। 

कतिपय सिँचाइ प्रयोजनकै लागि अनियन्त्रित रूपमा डिप बोरिङ जडान गर्न थालिएपछि सो समस्या बढदै गएको हो। पछिल्लो केही वर्षयता चुरे क्षेत्रको अत्यधिक दोहनले समेत भूमिगत जलको सतह घटदै जाँदा धारामा पानी नआउने समस्या देखिएको सिमसार विज्ञ कमलसिंह थापा बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.