सर्वसाधारण, पत्रकार र नेताका आ-आफ्नै दाबी

|

उदयपुर : प्रदेश १ मा प्रदेशसभा गठन भएको ६ महिनापछि राजधानी र नामको बहस चर्केको छ। प्रदेश ६ कर्णाली, प्रदेश ४ गण्डकी र प्रदेश ७ ले सुदूरपश्चिम नाम कायम गरी राजधानी टुंगो लगाइसकेका छन्। नाम र राजधानी टुंगो नलगाउने प्रदेशहरू अहिले विभिन्न समिति बनाएर अध्ययनमा जुटेका छन्। तर प्रदेश १ मा सहमतिमै नाम र राजधानी खोजिरहेको वेला प्रदेश सरकारले भेटेको छैन।

त्यही सहमति नभेटेपछि अहिले प्रदेश १ को नाम र राजधानीको चर्को बहस सुरु भएको छ। विशेष गरी मोरङ र सुनसरीमा छ। अस्थायी राजधानी तोकिदै गर्दा सुनसरीको इटहरी र धरान, धनकुटा अनि मोरङले आन्दोलनसमेत गरे। तर, अन्तमा प्रदेश १ को अस्थायी राजधानी खोज्ने सरकारी समितिले विराटनगर तोक्यो। अनि संघीयता कायममा आयो।

त्यही नाम र राजधानी तोकेर संघीयतालाई थप मजबुद बनाउन लागि परेको प्रदेशले नाम र राजधानी कसरी टुंगो लगाउँछन् भनेर सर्वसाधरण पखाईमा बसेका छन्। ‘नाम र राजधानी सुनसरी र मोरङ मात्र भएको अनुभव भइरहेको छ,’ उदयपुरका निजी विद्यालयका शिक्षक पदम राई भन्छन्, ‘अस्थायी राजधानी तोकिँदै गर्दा धनकुटा, सुनसरीको धरान र मोरङमा पनि आन्दोलन भएका थिए, अहिले पनि तिनै जिल्लाले बार्गेनिङ गर्दा खल्लो लागेको छ।’ १४ जिल्लालाई पायक पर्ने ठाउँमा र भौगोलिक, भाषिक, जातीय हिसाबले उपयुक्त ठाउँ र नाम रोज्न शिक्षक राईको सुझाव छ।

सर्वसाधारण, पत्रकार र नेताका आ-आफ्नै दाबी

प्रदेश १ को राजधानी सुनसरीको चतरा हुनुपर्ने र नाम प्रकृतिक हिसाबले राख्नुपर्ने सुनसरीका स्थानीय दीपा कटुवाललको भनाइ छ। ‘राजधानी ओखलढुंगा, सोलुखम्बुदेखि पाँचथर, इलाम, अनि झापालाई समेत मध्यनजर गरेर राख्नुपर्छ,’ उनले भनिन्, ‘राजधानी मोरङले लाने कि, सुनसरीले लिने भन्ने बहस भएको छ, नाम प्राकृतिक हिसाबले राख्नुपर्छ।’

यसैगरी उदयपुरका पत्रकार तुलसीप्रसाद कोइराला पनि नाम र राजधानीको बारेमा मोरङ र सुनसरीको मात्र बहस नभएको दाबी गर्छन्। ‘विकास निर्माण र सुविधाको हिसाबले मोरङ र सुनसरी अन्य जिल्लाभन्दा उपयुक्त होलान्,’ उनले भने, ‘भौगोलिक हिसाबले राजधानी केन्द्र तोकिँदा अति राम्रो हुन्छ, भने नाम प्राकृति तथा धार्मिक दृष्टिकोणबाट भयो भने उपयुक्त हुन्छ।’

यसैगरी नेपाल कम्युनिस्‍ट पार्टीका (नेकपा) उदयपुरका नेता भागवत राउतले सुनसरीको इटहरीभन्दा पनि सुनसरीकै चतारमा राजधानी हुनुपर्ने दाबी गर्छन्। ‘इटहरी र विराटनगर देशका पहिचान बोकेका सहर हुन्,’ उनले भने, ‘त्यहाँ राजधानी हुँदा पनि विकास हुन्छ, त्यसो भएकाले सुनसरीको चतरा क्षेत्र उपयुक्त होला।’ राउतले ठाउँ र सबैको पायक पर्ने भन्दै भने, ‘नाम प्रकृतिक हिसाबले राख्दा सबैको कल्याण हुनेछ।’

नामभन्दा राजधानीमा बहस

सोलुखम्बुका प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले चुनावको वेला भोट माग्दा पनि सगरमाथा प्रदेश भनेर मागेको र अहिले आफू सकेसम्म त्यसैको पक्षमा रहेको बताए। ‘नामभन्दा पनि राजधानीको बारेमा बहस चलेको छ,’ उनले भने, ‘एका थरीले नाम सगरमाथा नै भनेका छन्, राजधानीको विवाद मिलाउन, धरान, सुनसरी मोरङमा केही महत्पूर्ण कार्यालय बाडेर राख्दा उयुक्त होला’

यसैगरी प्रदेशसभा १ मा रहेको विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका उपनेता तथा उदयपुरबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य हिमाल कार्कीले कांग्रेसको संसदीय दलको बैठक बसेर मात्र एकीकृत धारणा जारी गर्न लागेको बताए। ‘कांग्रेसको संसदीय दलको बैठकले मात्र नाम र राजधानीको टुंगो लगाउने छ,’ उनले भने, ‘भौगोलिक हिसाबले सबैलाई केन्द्र पर्ने ठाउँ चतरानै हो।’ सुनसरी र विराटनगरका प्रदेशसभाका सदस्यहरु आ–आप्mनै जिल्लाको दाबी गर्छन् भने सोलुखम्बु, खोटाङ, ओखलढुंगा, भोजपुर लगायतका प्रदेशसभा सदस्यहरु राजधानी चतरा वा इटहरीलाई बनाउनुपर्ने दाबी छन्।

विवाद छिट्टै टुंगिन्छ : मन्त्री कार्की

प्रदेश १ सरकार प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम र राजधानी प्रदेशसभाले टुङग्याउने बताए। हाम्रो प्रयास दशैँअघि नै टुङग्याउने तयारी छ। धेरै विकल्पाहरू छन्। हाम्रो पार्टीले पनि नाम के राख्ने अनि राजधानी कहाँ बनाउने भनेर सुरु गरेको छ।

प्रदेशसभा सदस्यहरुबीच पनि छलफल गर्‍यौँ। एकदुई दिनभित्र पार्टीको एउटा धारणा बनाउँछौँ। सर्वसमतिका लाने एउटा प्रयास गर्दै छौँ। मन्त्री कार्कीले भने, ‘अहिले भइरहेको ठाउँ हटाएर किन अर्को ठाउँ लाने भन्ने पनि छ, अनि इटहरी लाने भन्ने पनि छ। चतरालगायत खाली रहेको ठाउँ गोठ गाउँका पनि कुरा आएका छन्। जहाँसम्म लाग्छ, प्रदेशसभाको दुई तिहाईले मात्र टुंगो लगाउँछ।

प्रदेशसभा सदस्यकै निर्णय हुन्छ : भामुख भण्डारी

प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले संविधानले तोकेबमोजिम प्रदेशसभाका माननीयको निर्णयबमोजिम नाम र राजधानीको निर्णय हुने बताए। ‘मैले विधि र प्रक्रिया बनाउने मात्र हो,’ उनले भने, ‘मैले यसमा टिप्पणी गर्न मिल्दैन, संविधान अनुसार प्रदेशसभाका मानीयहरूले जुन कुराको निर्णय गर्नुहुन्छ, त्यही कुरा लागू हुन्छ।’

के होला उपयुक्त नाम र राजधानी?

सामाजिक सञ्जालदेखि विभिन्न कार्यक्रममा समेत विभिन्न नामहरुले प्रदेश १ नामकरण हुन थालेको छ। कसैले किरात भनेका छन्, भने कसैले कोसी सगरमाथा नामाकरण गरेका छन्। सबैलाई मान्य हुने नाम र राजधानी प्रदेश १ मा बनाउन सम्बन्धित निकायको गहिरो चासो व्यक्त हुन थालेको छ।

नामभन्दा पनि राजधानीको बहसले प्रदेश १ तताएको छ। १४ जिल्लाको केन्द्र पर्ने अनि सहरको विकास हुने गरी राजधानी तोक्न सरोकारवालको भनाइ छ। पत्रकार शिव डाँगी विभिन्न कारणसहित बराह क्षेत्रलाई प्रदेश १ को राजधानी बनाउनुपर्ने दाबी गर्छन्। जनघनत्व र बस्ती विकासका हिसाबले विराटनगर, इटहरी, धरान, धनकुटा, दमक उपयुक्त मान्न सकिन्छ।

तर, १ नं प्रदेशमा यीभन्दा उपयुक्त स्थान छन् कि छैनन? भन्दै डाँगीले भने, १ नं प्रदेशका १४ वटै जिल्लालाई जोड्ने उपयुक्त स्थान चतरा क्षेत्र अर्थात बराह क्षेत्र हो। अरुण, तमोर र दूधकोशी नदीमार्फत १ नं प्रदेशका १४ मध्ये १२ जिल्ला चतरा क्षेत्रमा केन्द्रित भएका छन्। यो क्षेत्रले सगरमाथा, मकालु र कञ्चनजंघालाई जोड्छ। अरुण नदीको कोरीडोरले भोजपुर, धनकुटा, संखुवासभालाई जोडेको छ। तमोर नदीको कोरीडोरले धनकुटा, तेह्रथुम, पाँचथर र ताप्लेजुङलाई जोडेको छ। दूधकोशीको कोरीडोरले उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक हुँदै केन्द्रीय राजधानीलाई जोड्दछ।

यसरी जल तथा स्थलमार्गमार्फत पूर्वका सम्पूर्ण स्थानहरू सरल र सहज ढंगले व्यवस्थित यातायातको पहुँचमा आउने हुँदा चतराक्षेत्र प्रदेश राजधानीका लागि उपयुक्त हुन्छ भन्ने डाँगीको दाबी छ। गाडीकै शब्दमा पानी भनेको सुन्दरताको परिचय हो। मानवीय सभ्यताको विकास नदी किनाराबाट हुने गरेका छन्। विश्वका अधिकांश सहरहरू नदी किनारामा अवस्थित छन्। नदी किनारामा अवस्थित शहरहरु सरसफाइ, वातावरण र सुन्दरताका दृष्टिले उपयुक्त मानिन्छ।

चतरा क्षेत्र सुनसरी, उदयपुर, धनकुटा र भोजपुर जिल्लाको संगमस्थल हुनुको अतिरिक्त मधेश, पहाड र चुरेको त्रिवेणी क्षेत्र भएकाले प्राकृतिक र पर्यावरणीय दृष्टिले महत्वपूर्ण यस स्थानमा आधुनिक सहर निर्माणका लागि प्रशस्त जमिन रहेको छ। सांस्कृतिक हिसाबले चतरा क्षेत्र किरातहरूको आदिमकालदेखि बसोबास रहेको क्षेत्र हो।

धार्मिक हिसाबले बराहक्षेत्र हिन्दूहरुको महान पूण्य भूमिको रूपमा चर्चित छ। यस स्थानमा केही वर्षदेखि कुम्भ मेलासमेत लाग्न थाल्नुले यसलाई पुष्टि गर्दछ। यस ठाउँलाई प्रदेश राजधानीको रूपमा विकास गर्दा संसारभरिका हिन्दूहरुको धार्मिक पर्यटकको रुपमा ठूलो केन्द्रीकरण हुनेछ। बाराहा क्षेत्र ‘जल, जमिन र जाति’ को त्रिवेणी पनि हो। डाँगी भन्छन्, ‘अध्ययनकर्ता र पर्यटकहरूको संगमस्थल हो। तसर्थ यस ठाउँमा आधुनिक सहर निर्माण गर्नु उपयुक्त हुन्छ।‘

चतरा क्षेत्र धनकुटाबाट २० किमी, धरानबाट १५ किमी, इटहरीबाट १८ किमी र विराटनगरबाट ४२ किमीको दूरीमा छ। सप्तकोशी नदीलाई दीर्घकालीन योजना बनाएर व्यावस्थित ढंगले नदी नियन्त्रण गर्दा जोखिम मुक्त नयाँ शहरको निर्माण हुने निश्चित छ। नदी नियन्त्रणको गुरुयोजनासहित प्राकृतिक वरदानका रूपमा रहेको यो चतरा क्षेत्रलाई हामीले ६ महिनाभित्रमा विस्तृत परियोजना प्रस्ताव बनाएर तीन वर्ष भित्रमा स्थायी संरचना निर्माण गरी प्रदेश राजधानी बनाउँदा उत्तम हुने डाँगीको भनाइ छ।

डाँगीको शब्दमा प्रदेसभा सदस्य नारायण बुर्जा मगर पनि सहमत छन्। ‘मैले शिवजीले चतार हुँदा उपयुक्त हुनुपर्छ भन्ने कुरामा सहमति जनाएको छु,’ उनले भने, ‘चतरा हुँदै धेरै राम्रो हुने थियो, नाम सगरमाथा किरात वेश हुन्छ।’ खोटाङ, धनकुटा, भोजपुर, तेह्रथुम, ओखलढुंगा, सोलुखम्बु लगायतका प्रदेसभा सदस्यहरुले थाहाखबरको कुराकानीमा बराहा क्षेत्र चतरा हुँदा उपयुक्त हुन्छ भन्ने धारणा व्यक्त गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.