|

बागलुङ : निर्धारित मितिमा पुल नबन्दा गलकोटको मुटुमै स्थानीय बासिन्दाले सास्ती खेपेका छन्। हटिया बजारदेखि गलकोट नगरपालिकाको कार्यालय जाने बाटोमा बनाउन लागिएको पुल वर्षौदेखि अलपत्र अवस्थामा हुँदा यात्रीले दुःख पाएका हुन्।

दैनिक गाडी गुड्नुपर्ने बाटो र सवारीसाधन भएकाहरुले पनि गौदीखोलाको पुल नबनेपछि हटिया बजारमै गाडि रोकेर हिँड्न बाध्य छन्। वर्षातमा पानी ठूलो भएकोले सवारी चल्न सकेका छैनन् भने हिउँदमा पनि पुल बनाउन लागिएकोले सवारी जान अप्ठ्यारो छ।

तीन वर्ष पहिलेदेखि गौदीखोलामा निर्माणाधीन पक्कीपुल अलपत्र भएपछि स्थानीय बासिन्दाले झोलुंगेपुल तरेर जान बाध्य भएका हुन्। डेढ वर्षमा काम सक्नेगरी जिम्मा लिएको निर्माण कम्पनीले तीन वर्ष बितिसक्दासमेत विभिन्न बहानामा पुल निर्माणको काम अल्झाएर राखेको गल्कोट नगरपालिका ४ का वडाअध्यक्ष बल बहादुर खत्रीले बताए। नगरपालिकाको कार्यालयदेखि हरिचौरतर्फ जान पनि खोला तर्नुपर्छ। त्यता पनि पुल छैन। दुई खोलाको बीचमा भएकोले सवारीसाधन टाढै राखेर कर्मचारीहरु हिँडेरै कार्यालय जान बाध्य छन्।

सडक डिभिजन कार्यालयको ठेक्कामा निर्माणधीन पक्की पुल गत वर्ष निर्माण सकिनुपर्नेमा अहिलेसम्म अलपत्र परेको हो। ‘नगरपालिकाको बजेटले सडक सुधारको काम गरे पनि पुल नभएपछि सहजै जाने अवसर छैन’ नगर प्रमुख भरत शर्मा गैरेले भने, ‘ठेक्का लिएकाहरुले समयमा नगरिदिएपछि हामीमाथि अपजस आउने गरेको छ।’ मन्त्रालयबाट आएका पाहुनालाई पनि पैदलै कार्यालय लगेको उनले गुनासो गरे। स्थानीयले भने नगरपालिकाले काम नगरेको आरोप लगाइरहेकोमा जवाफ दिन नसकेको गैरेले बताए।
नयाँबाटो जुम्ली आचार्य’ संयुक्त निर्माण कम्‍पनीले साँढे ३ करोड रुपैयाँको लागतमा गत बर्ष सक्ने गरी काम थालेको थियो। समय सकिएपछि डिभिजन सडक कार्यालयले पटक पटक पत्राचार गर्दासमेत कम्पनीबाट काम नभएको ईन्जिनियर चन्द्रेश्वर शाहले बताए। ‘गत असारसम्म म्याद थप्न कम्‍पनीले आग्रह गरेको थियो’ शाहले भने, ‘हामीले किन थप्ने भनेर कारण खोजेको एक वर्ष पुग्न लाग्यो जवाफसमेत आएको छैन।’ विभाग तहमा पनि उनीहरुले काम नगरेको गुनासो पुगेको उनले बताए।
मध्यपहाडी लोकमार्गको पनि बुर्तिवाङ देखि देविस्थानतर्फ जाने खण्डमा पुल नभएपछि जेठ अन्तिम सातादेखि पश्चिमतर्फ सवारी चलेका छैनन्। बडिगाड खोलामा पुल नभएपछि खोला पारी बसेका सवारीले देविस्थान, बोहोरागाउँ र निसी सम्मको ढुवानी गर्छन्। बुर्तिवाङबाट सबै सामान पिठ्यु“मा बोकेर लगेपछि मात्र सवारी साधनमा लोड गर्नुपर्दा उपभोग्य बस्तुको मूल्य दोब्बर परेको बोहोरागाउ“का डम्बर बुढामगरले बताए।

‘बागलुङमा पाइने बस्तुको दोब्बर तिर्नुपर्दा आर्थिक अवस्था कमजोर भएकाले दुइ छाक खान पनि पाउँदैनन्’ बुढाले भने, ‘घरको उत्पादन खान नपुगेकाहरुले ज्याला मजदुरी गरेर आफैँ बोकेर लैजाने गरेका छन्।’ सडक राम्रो बने पनि पुल अभावमा यातायातको समस्या भएको उनले बताए। राष्ट्रिय आयोजनाहरुले काम गरेकोले तत्काल निर्देशन दिन र काम सक्ने दबाब दिन नसकेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताए।

‘हामीले पनि आग्रह गर्ने हो, काम गरिरहेका छौं भन्छन्’ खरेलले भने, ‘वर्षातको कारण पनि उनीहरुले काम रोकेका छन्।’ हिउँदमा छिटो काम गर्न लगाएर आगामी वर्षातमा समस्या नहुने बनाउन लगाउने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.