|

पोखरा : हिमालै हिमालको देश नेपाल। त्यसमा पनि गण्डकी प्रदेश र आसपासका क्षेत्रहरू हिमालै हिमालले घेरिएका छन्। यही हिमालै अगाडिको पोखरामा केही वर्षयता अल्ट्रालाइट र जाइरोकोप्टरले उडान भरिरहेका छन्। 

नेपालमै पढेर अल्ट्रालाइट (पुतली जहाज) उडाउने पहिलो पाइलट हुन् उनी। जाइरोकोप्टर उडाउने पनि पहिलो नेपाली पाइलट नै हुन्। गोरखाको दुर्गम गाउँ मान्बुमा जन्मिएका सन्तबहादुर लामिछाने अल्ट्रालाइट र जाइरोकोप्टर उडाउँदै आएका छन्।

विद्यालय शिक्षा गोरखाकै मान्बुमा सिध्याएका सन्त उच्च शिक्षाका लागि काठमाडौँ हानिए। जीवनमा जन्मिँदाबाहेक अरूमा उनी पहिलो नै भइरहे। विद्यालय जीवनमा दोस्रो नभएका उनले कक्षा ५ को रिजल्ट हुँदा जिल्ला नै टप गरे। आइएस्सी अमृत साइन्स क्याम्पसबाट उत्तीर्ण गरे। सानैदेखि पाइलट बन्ने धोको मनमा साँचेका उनी त्यसपछि पोखरा हानिए।

यसरी भए पाइलट

उच्चमाध्यमिक तहको पढाइ सकेका उनी पाइलट तालिम लिन पाइने थाहा पाएपछि एभिया क्लब नेपालमा आवद्ध भए।

नेपालमै पढेर अल्ट्रालाइटको पहिलो नेपाली पाइलट त बने तर उनलाई व्यावसायिक बन्ने ठूलो चुनौती थियो। ‘सन् २०१२ को मार्च १५ मा मैले नागरिक उड्डययन प्राधिकरणबाट लाइसेन्स पाएँ। त्यसकै छ दिनपछि मैले पहिलो उडान भर्न सफल भएँ’, उनले सम्झिए, ‘सन् २००७ देखि अल्ट्रालाइटमा आवद्ध भएको थिएँ। म त्यहाँ कहिले विद्यार्थीको रूपमा त कहिले प्राविधिकको रूपमा हुन्थेँ।’ 

त्यो बेलासम्म यस्ता उडान भर्ने सबै विदेशी मात्रै हुन्थे। उनलाई मनमनै एउटा डरले सताएको रहेछ– उड्न आउनेहरूले विदेशीलाई मात्रै रोज्छन् कि भन्ने। उनको सीप, दक्षता र क्षमता हेरेर धेरैलाई उनैलाई रोजे। 

अल्ट्रालाइटमा जस्तै एउटा चुनौतीलाई मुस्किलले चिरेका छन् उनले। पहिले विदेशी पाइलटले चलाएको जाइरोकोप्टरमा चढ्न रुचाउनेहरू उनको खुबी र अनुभव बुझेपछि उनैले उडान भर्ने जाइरोकोप्टरमा जाने गर्छन्। 

उनी पाइलट मात्र नभई अल्ट्रालाइटको दक्ष प्राविधिकसमेत हुन्। उनी अल्ट्रालाइट उडानको प्रशिक्षक पाइलट पनि हुन्। उनले १० जनालाई प्रशिक्षण दिइसकेका छन्। करिब दुई हजार घण्टा आकाशमा उडान भरेको अनुभव छ उनीसँग। उनले हालसम्म करिब सात हजार पटक पोखरा र आसपासको हिमाल छेवैका आकाशमा उडान भरेका छन्। 

जाइरोकोप्टरको यात्रा 

नेपालमै पढेर पहिलो अल्ट्रालाइटको पाइलट बनेका सन्त जाइरोकोप्टर उडाउनेमा पनि पहिलो नै बने। अल्ट्रालाइटमा उनले अहिले थुप्रै नेपालीहरूलाई भित्र्याएका छन् तर जाइरोकोप्टरमा त अहिलेसम्म उनी एक्ला नेपाली पाइलट हुन्। सन् २०१७ देखि अल्ट्रालाइटको मात्र नभई जाइरोकोप्टरको समेत पाइलट बनेका हुन् उनी। नेपालमा जाइरोकोप्टर हेली एयर नेपालले पहिलो पटक सन् २०१७ मा भित्र्याएको हो। उनी हेली एयर प्रालिको अपरेसन डाइरेक्टरसमेत हुन्। अल्ट्रालाइटमा जस्तै एउटा चुनौतीलाई मुस्किलले चिरेका छन् उनले। पहिले विदेशी पाइलटले चलाएको जाइरोकोप्टरमा चढ्न रुचाउनेहरू उनको खुबी र अनुभव बुझेपछि उनैले उडान भर्ने जाइरोकोप्टरमा जाने गर्छन्। 

त्यो पहिलो उडान 

नेपालमै सिकेर कसैले पनि नगरेको भएर उनमा खुसीसँगै सुरक्षित र व्यावसायिक उडान गर्ने चुनौती थियो। सानैदेखि पाइलट बन्ने चाहना थियो उनको। पहिलो उडान भरेर माछापुच्छ्रेको काखैमा पुगेर पोखरा विमानस्थलमा ओर्लिएका उनमा खुसीको सीमा थिएन। उनी जब विमानस्थलमा ओर्लिए, खादा र फूलमाला लिएर आफ्नै गुरु अलेक्जेण्डर म्याक्सिमोभ (रसिया)ले सम्मान गर्दा हर्षको आँसु झर्‍यो। ठूलै कर्म गरेझैँ लाग्यो उनलाई। 

उनले पहिलो दिनमै दुई फ्लाइट पाए। एउटा १५ मिनेटको र अर्काे ३० मिनेटको, त्यो पनि विदेशीलाई बोकेर। उनी हालसम्म १२ हजार ५०० फिटसम्मको आकाशमा पुगेका छन्। ९० मिनेटमा अन्नपूर्ण राउण्ड गरेका छन्। जाइरोकोप्टर नेपालमा दुईवटा छन्। अर्काे फ्रान्स र जर्मनीका पाइलटले उडाउँछन्। अल्ट्रालाइट जम्मा १२ वटा छन्। 

च्याम्पियनसीप गर्ने सपना 

विश्वकै अग्ला हिमशृंखलाहरू यहीँ भएकाले उनको मनमा पोरखरामै विश्व एयर च्याम्पियनसीप गर्ने सपना छ। नेपालमै त्यस्ता पाइलट उत्पादन गरी च्याम्पियनसीपमा सहभागी गराउने रहर छ उनमा । ‘विश्वकै अग्ला हिमशृंखलाहरू यहाँ छन्। यसलाई देखाउन यो प्रविधि उपलब्ध छ। च्याम्पियनसीप गर्ने मन छ। विश्वमै चिनाउने मन छ’, उनले भने, ‘एयर स्पोर्ट्सको सम्भावना पोखरासँगै नेपालका धेरै ठाउँहरूमा छ।’ विदेशमा यसखाले प्रतियोगिता भइरहे पनि नेपालमा सरकारले चासो नदिँदा प्रतियोगिता गर्न नसकेको उनको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.