|

तेह्रथुम : वर्षाका कारण ज्यादै जीर्ण भएको म्याङ्लुङ–वसन्तपुर सडकखण्डको मर्मत कार्य सुरु भएको छ। दशैं-तिहारलाई लक्षित गरी तत्काललाई मर्मत गरी सवारी सञ्चालन गर्नका लागि स्थानीय तहको अगुवाईमा सडकको मर्मत कार्य सुरु गरिएको म्याङ्लुङ नगरपालिकाले जनाएको छ। 

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्य पहाडी) मार्गअन्तर्गत २६ किलोमिटर दूरीको म्याङ्लुङ-वसन्तपुर सडकखण्ड ट्रयाक खुलेको ३० वर्ष वितिसक्दा पनि जस्ताको तस्तै रहेपछि तत्काल काम चलाउनका लागि मर्मत कार्य थालिएको बुझिएको छ। सडक कालोपत्रे गर्नका लागि पटक-पटक तागेता गरिए पनि हालसम्म हुन सकेको छैन। 

तेह्रथुमवासीको सर्वाधिक चासोको विषय रहेको म्याङ्लुङ-वसन्तपुर सडकखण्डको जिरिखिम्तीदेखि पिंगुवा खोलासम्म बिग्रिएको सडक बहीबारदेखि तीन दिनसम्ममर्मत गरिने म्याङ्लुङ नगरपालिकाका प्रमुख संजय तुम्वाहाम्फेले बताए। उनले पिंगुवा खोलादेखि वसन्तपुरसम्मको सडक मर्मतका लागि भने मध्य पहाडि लोकमार्गसँग समन्वय गरी म्याङ्लुङ नगर क्षेत्रभित्र भत्किएको सडक मर्मत गर्न लागिएको जानकारी दिएका छन्। 

म्याङ्लुङ नगरपालिकाका प्रमुख, वडाध्यक्षहरू, नगर कार्यपालिकाका सदस्यहरू, कर्मचारी, नागरिक लगायत स्थानीयको सहभागितामा सडक मर्मत गरिएको छ। जनता तथा यात्रुले नेतालाई पटक-पटक गाली गर्न थालेपछि म्याङ्लुङ नगरपालिकाको अगुवाईमा नगर क्षेत्रभित्रका सडक मर्मत गर्न लागिएको प्रमुख तुम्बाहाम्फेले बताए। उनले म्याङ्लुङ नगरपालिकासँग सिमाना जोडिएको लाली गुराँस नगरपालिकालाई पनि सडक मर्मतको लागि समन्वय गरिएको बताएका छन्।

यो सडक निर्माण भएको ३० वर्ष बितिसक्दा पनि बाह्रै महिना सवारी साधन चल्न नसक्दा यात्रुलाई सास्ती भएको छ। वर्षायाममा सडक हिलाम्मे हुँदा २६ किलोमिटर दूरीको सडक पार गर्न गाडीलाई छ घण्टा बढी समय लाग्ने गरेको छ। वसन्तपुर-लसुने खण्डको सडक मर्मत भइरहेको र पिंगुवा खोलानजिकै भत्किएको सडकमा भने शुक्रबारदेखि ढुंगा छाप्न थालिने मध्य पहाडी लोकमार्गका पूर्वी खण्डका इन्जिनियर सुरेश तुम्बाहाम्फेले बताए। 

सडकमर्मत कार्यमा स्काभेटर, टिपर, ट्रयाक्टर, रोलर लगायतका सडक मर्मतमा आवश्यक साधनको प्रयोग गरिएको छ। त्यसै गरी जिरिखिम्ती सिमाना क्षेत्रका सडकखण्डका साथै जिरिखिम्ती मोराहाङ सडकको मर्मत कार्य पनि यस सँगसँगै गरिने म्याङ्लुङ नगरपालिकाले जनाएको छ। 

क्षतिग्रस्त सडकमा यात्रा गर्दा ज्यानै जोखिममा राखी यात्रा गर्नुपर्ने बाध्यता रहेकोमा अब मर्मतपछि केही सहज हुने आशा पलाएको यात्रु बताउँछन्। जिल्लाको सदरमुकामलाई पूर्वका झापा, मोरङ, सुनसरी र धनकुटासँग जोड्ने तथा जिल्लाका विभिन्न गाउँहरूलाई सदरमुकामसँग जोड्ने यो सडक मर्मतपछि नियमित सवारी साधन सञ्चालनमा सहजता आई बिरामीलाई उपचारमा लैजानका साथै यात्रुलाई दैनिक यात्रा तथा उपभोग्य वस्तुको ढुवानीमा समेत सहजता आउने कुरामा विश्वस्त हुन सकिन्छ।

जिल्लावासीले भने नजिकिँदै गरेको नेपालीको महान् चाड दशैंतिहार अगाडि नै सडक मर्मत भई सहज रुपमा सवारी साधन सञ्चालन हुने कुराले हर्षित भनाएको भन्दै घर बाहिर रहेका आफ्ना आफन्तहरू समयमा सहज रुपमा नै घर आउन पाउने भएकोमा खुसी व्यक्त गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.