|

बारा : बाराको जीतपुरबाट दूध बोक्ने गाडीबाट अवैध घरेलु मदिरा बरामद भएको छ। इलाका प्रहरी कार्यलय जीतपुरले हेटौँडास्थित दुग्ध विकास संस्थान (डिडिसी) कम्पनीको दूध बोक्ने गाडीबाट अवैध घरेलु मदिरा बरामद गरेको हो। 

अवैध मदिरा ओसारपसार हुने गरेको सूचनाको आधारमा चेकजाँच गर्दा हेटौँडाबाट वीरगंजमा नियमित दूध बोक्ने ना३ख ११७८ नम्बरको ट्रकबाट बिहीबार २९५ लिटर अवैध मदिरा बरामद भएको प्रहरीले जनाएको छ। 

प्रहरीले मदिरा बोक्ने गाडीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मकवानपुरको हेडौँडा- ९ का ५० वर्षीय राम लामा सोही स्थानका ४५ वर्षीय प्रेम अधिकारी र वीरगंज- २ छपकैयाका १८ वर्षीय मुम्ताज अन्सारी रहेका छन्।

नियन्त्रणमा लिइएको ट्रकसहित चालकलाई थप कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय सिमरामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक रंजितसिंह राठोरले जानकारी दिए।  

दूध राख्ने भाँडोमाथि लुकाई हरेक दिन मदिरा ओसारपसार हुँदै आएको प्रहरीले जनाएको छ। ‘डिडिसीको ट्रक सडकमा रोकेर चेकजाँच गर्दा कन्टेनरभित्र दूधको प्याकेट राखिएको थियो, क्यारेटमाथि एक दर्जन बोरा भेटियो’, प्रवक्ता राठौरले भने, ‘बोरा खाेलेर हेर्दा त्यसभित्र मदिरा ग्यालेनमा भरेर राखेको अवस्थामा भेटियो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.