|

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका जनताको हितलाई केन्द्रमा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। बिहीबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरको कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री राईले यस्तो निर्देशन दिएका हुन्। 

'तपाईंहरू नयाँ जिम्मेवारीमा हुनुहुन्छ। प्रदेशका जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुहाेस्। हामी त्यहीअनुसार तपाईंहरूको मूल्यांकन गर्नेछौँ', कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री राईले भने, 'हामी अहिले नयाँ नेपालमा छौँ। त्यसैले तपाईंहरू नयाँ सोच, शैली र तरिकाबाट कार्यसम्पादन गर्दै सेवाग्राहीलाई छिटो छरितो सेवा प्रवाह गर्न म आग्रह गर्छु।' 

प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेट प्रभावकारी ढंगले कार्यान्वयन गरेर कृषकको अपेक्षाबमोजिम काम गर्न पनि मुख्यमन्त्री राईले कर्मचारीलाई निर्देशन दिए। 'हामी यस प्रदेशका किसानको समस्या अन्त्य गर्न चाहन्छौँ', मुख्यमन्त्री राईले भने, 'हाम्रो बजेट किसानका समस्या सम्बोधन गर्न केन्द्रित छ। यो प्रदेशको समृद्धिको आधार कृषि क्षेत्र भएकाले कृषिलाई हामीले पहिलो प्राथमिकता दिएका छौँ। अब हामी प्रत्येक किसानको भावना, आकांक्षा सम्बोधन हुने नीति तथा कार्यक्रम तर्जुमा गर्छाैं।' 

अब निर्वाहमुखी कृषि होइन, व्यावसायिक कृषिलाई विकास गर्नुपर्ने, जसबाट हजारौँ रोजगारी सिर्जना हुने उनको भनाइ थियो। 'अब हामीले उत्पादनमा ध्यान दिनुपर्छ', मुख्यमन्त्री राईले भने, 'आयातमुखी कृषिलाई विस्थापित गर्दै निर्याततर्फ प्रदेश सरकारले ध्यान केन्द्रित गरेको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.