|

पोखरा : दोस्रो विश्व युद्धताका निर्माण भएको बेलायती प्रधानमन्त्री विन्स्टिन चर्चीलको ‘वार रुम’ अहिले पनि उत्तिकै चर्चामा छ। सोही शैलीमा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पनि वार रुम निर्माणको तयारी थालेको छ। 

‘विन्स्टन चर्चीलले बनाएको जस्तै हाम्रो पनि वार रुम बन्नेछ,’ सचिव लक्ष्मीराम पौडेलले भने ‘वार रुम निर्माणको लागि दशैं लगत्तै १५ दिने सूचना जारी गर्छाैँ। त्यसपछि निर्माण गर्ने पक्ष छनोट गरेर वार रुम खडा गर्छाैँ।’

वार रुममा विभिन्न प्रविधीको प्रयोग गरेर गण्डकी प्रदेशको ११ वटै जिल्लाको अनुगमन गर्ने सुविधा तयार हुने उनको भनाइ छ।  ‘वार रुमबाट पहिले युद्ध कसरी लड्ने, कहाँ सेना खटाउने तयारी र अनुगमनको काम हुन्थ्यो,’ उनले भने ‘अब प्रदेशमा भइरहेको विकास निर्माणका स्थिति, भूकम्प पीडित, बाढी पहिरो पीडितको अवस्थालगायत विकास निर्माण र शान्ति सुरक्षाको अनुगमन हुन्छ। विकास निर्माणको काम लथालिंग भएपछि मुख्यमन्त्रीले चिन्ता ब्यक्त गर्दै यसको कल्पना गर्नु भएको हो।’

‘उक्त वार रुम निर्माण पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो कार्यालयबाटै प्रादेशिक तथा राष्ट्रिय गौरवको आयोजनाहरुको अनुगमन गर्न सक्नुहुनेछ,’ सचिव पौडेलले भने ‘कार्यकक्षबाटै अनुगमन गरेर प्रभावकारी भएको छ छैन भन्ने निर्णय गरी आवश्यक निर्देशन समेत वार रुमबाटै दिन सक्नुहुनेछ।’ केन्द्रमा पनि उक्त वार रुम जस्तै एक्सन रुप निर्माणको प्रक्रिया सुरु भएको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रगतिबारे संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिलाई जानकारी दिँदै मुख्य सचिव लोकदर्शन रेग्मीले प्रधानमन्त्री कार्यालयमा वार रुम बन्न लागेको जानकारी गराएका थिए। 

मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द नेपालीले प्रदेशबाट सञ्चालन हुने ठुला आयोजनाहरुलाई अनुगमन गर्न, निर्देशन दिनका लागि वार रुमको परिकल्पना गरिएको बताए। ‘पहिले वार रुमबाट युद्धलाई कमाण्ड गर्न गरिन्थ्यो,’ उनले भने ‘अब प्रदेश अन्तर्गत सञ्चालन हुने प्रोजेक्टहरु एउटै सफ्टवेयरबाट अनुगमन गर्न यसको स्थापना गर्न लागिएको हो । अनुगमन प्रभावकारी नभएकै कारणले विकास निर्माणको काम लथालिंग भएको गुनासो आएपछि अनुगमनको पाटोलाई बलियो बनाउन यसो गरिएको हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.