|

तनहुँ :  प्रसिद्ध धार्मिक क्षेत्र देवघाटधाम नदी कटानको जोखिममा परेको छ। देवघाट गाउँपालिका– ५ का एक दर्जन घरधुरी पहिरोको उच्च जोखिममा छन् भने केही स्थानीय विस्थापित भएका छन्। प्रसिद्ध धार्मिक क्षेत्र नै खतरामा पर्न थालेपछि स्थानीयबासी चिन्तित बन्दै गएका छन्। वर्षा भएसँगै नदीको बहाव बढ्ने भएकाले धार्मिक क्षेत्र आसपासका जमिनहरु नदी कटानका कारण खसेर स्थानीयमा त्रास बढेको छ। 

देवघाटधाम नै संकटमा पर्ने अवस्था आइसक्दा समेत कसैको चासो नपुग्दा स्थानीय रुष्ट छन्। त्रिशुली नदी उर्लिदा त्यस क्षेत्रका स्थानीयबासी सतर्क भएर बस्नुपर्ने अवस्था छ। नदी आसपास क्षेत्रका घरपरिवारका स्थानीय पानी पर्ने बित्तिकै दौडाधुप चल्ने गरेको छ। केही आश्रम जान्छन् भने केही अटेर गरी घरमा नै बस्ने गरेका छन्। 

देवघाट गाउँपालिका– ५ का वडा अध्यक्ष यल बहादुर गुरुङले देवघाट क्षेत्रको स्थानीयले भोग्दै आएको जोखिमले देवघाट नै खतरामा पर्ने अवस्था पुगेको र संरक्षणमा ध्यान दिनुपर्ने बताए। ‘तनहुँको मात्र नभै देशकै महत्वपूर्ण प्रसिद्ध धार्मिक स्थल नदी कटानका कारण खतरामा पर्दै गएको छ,’ उनले भने ‘त्यस क्षेत्रका कतिपय स्थानीय जोखिम मोल्दै त्यँही बस्दै आएका छन् भने केही विस्थापित भएका छन्, त्यसैले देवघाट धाम संरक्षण र नदी नियन्त्रणका लागि स्थानीय सरकारले केही गर्न नसक्ने हुँदा राज्यले तुरुन्तै पहल थाल्नुपर्छ।’ 

स्वदेशमा मात्रै नभएर विदेशमा समेत परिचित देवघाटधामको संरक्षण र प्रवद्र्धन गर्न सके धार्मिक पर्यटन बृद्धि गर्न सकिने विश्वास छ। तर यस क्षेत्रको समस्याको रुपमा देखिएको नदी कटानलाई समयमै व्यवस्थापन गर्न सके अझ बढी पर्यटकहरु भित्र्याउन सकिनेछ । प्रसिद्ध देवघाटधाममा दैनिक सयौँको संख्यामा धार्मिक पर्यटकहरु आउने गर्दछन्। त्रिशुलीमा स्नान गरी आस्था पुरा हुने विश्वासका साथ धार्मिक पर्यटकहरु त्यहाँ आउने गरेका छन्। देवघाटधाममा हिन्दुहरुको विशेष पर्वहरुमा मेला लाग्ने गर्दछ। साउने संक्रान्ति, माघे संक्रान्ति, शिवरात्रीलगायतका विभिन्न चाड पर्वमा स्वदेशी तथा विदेशी धार्मिक पर्यटकहरुको घुइचो लाग्ने गर्दछ।

स्थानीय देउ कुमारी पौडेलले १३ वर्ष देखि देवघाटधाममा बस्दै आएको बताइन्। ‘पानी पर्न थालेपछि घर बाहिर निस्कन्छौ, जाने ठाउँ कहिँ नभएपछि आश्रम तिर लाग्छौ,’ उनले भनिन् ‘जहिल्यै पानी पर्ने मौसम सुरु भएसँगै काल पर्खे जस्तो लाग्छ, कुन बेलामा घर लाने हो थाहा छैन।’ उनको घर नदीको छेवैमा छ, तर पनि ठाउँ छाडेकी छैनन् । त्यहीँ नै जीवन निर्वाह गर्दै बसेकी छिन्। उनी मात्र होइन अरु केही घरपरिवारका स्थानीय समेत त्यहीँ बसिरहेका छन्। उक्त क्षेत्रमा दिर्घकालिन समाधान खोजिनुपर्ने स्थानीयको माग छ। वर्षै पिच्छे वर्षातको समय सुरु हुने वित्तिकै स्थानीयमा रुवाबासी चल्ने हुँदा छिटो समाधान खोज्नुपर्ने स्थानीयको माग छ। नदी कटानले स्थानीयको घर मात्र नभइ मानिसमा समेत क्षति पुग्न सक्छ। त्यस्तै गरी देवघाटधाममा रहेका पुरातात्विक संरचना तथा प्राचीन सभ्यताका मन्दिर समेत खतरामा पर्ने अवस्थामा छ।

७८ वर्षका वृद्ध बाबा आमा लिएर जीवनयापन गरिरहेका स्थानीय बिष्णु सुबेदीले नदी कटानले घर खस्ने स्थितिमा पुगेको र पानी पर्न थालेपछी स्थानीयमा डरत्रास फैलिएको बताए। ‘पानी परेपछि चिन्ता लाग्छ वृद्ध भएका बाबा आमा हुनुहुन्छ पानी पर्यो बाबा आमा उठ्नुस आश्रम तिर जाम भन्छु, राम्रोसँग कान सुन्न पनि छाडिसक्नु भयो बोलाउँदा बोलाउदै पहिरोले लाने होकि भन्ने डर लाग्छ, उनले भने।’ 

त्यस क्षेत्रमा पहिरोको जोखिममा रहेका एक दर्जन घरका स्थानीय पानी परेपछि आश्रम तथा  सुरक्षित तिर जाने गरेका छन्। उनीहरु वर्षा भएसँगै पानीको बहाब बढ्ने र नदी कटानको खतरामा पर्ने हुँदा सुरक्षित ठाउँ खोज्छन्। 

गाउँपालिकाद्वारा छुट्याइएन बजेट

देवघाट गाउँपालिकाले नदी कटान नियन्त्रणका लागि बजेट छुट्याएको छैन। गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले कम बजेटले नियन्त्रण गर्न नसकिने भएकाले गाउँपालिकाले बजेट नछुट्याएको बताए। ‘एक÷दुई लाखको बजेटले कटान नियन्त्रण गर्न सकिदैन, त्यसैले कटान नियन्त्रणका लागि प्रदेश र संघीय सरकारलाई पत्राचार गरी सहयोगको अपिल गरेका छौँ,’ उनले भने। 

नदी नियन्त्रणका लागि ३० करोड

देवघाट क्षेत्र विकासको लागि ३० करोड बजेट छुट्याइएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ। नदी कटानका कारण देवघाट क्षेत्रको जोखिम व्यवस्थापनका लागि जलस्रोत तथा सिञ्चाई मन्त्रालयले बजेट छुट्याएको हो। देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले नदी कटान रोकथामका लागि करिव ३० करोडको बजेट विनीयोजन भएको बताए। ‘जलस्रोत तथा सिञ्चाई मन्त्रालयबाट कटान व्यवस्थापनका लागि बजेट छुट्याइएको छ,’ उनले भने ‘नदी कटान व्यवस्थापन परियोजना २०७५ बाट नै सुरु हुन्छ, झोलुङ्गे पुलदेखि त्रिशुली नदीको संगमस्थलसम्म कलभर्ट बनाइनेछ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.