कच्चा पदार्थको अभावमा बन्द हुँदै उद्योग

|

इलाम : चियाको राजधानीको रुपमा परिचित सूर्योदय नगरपालिकामा कच्चा पदार्थको अभावमा चिया उद्योग बन्द हुन थालेका छन्। उद्योगको संख्या बढे पनि चिया बगान नबढेपछि  चिया उद्योग बन्द हुन थालेको हो। 

कच्चा पदार्थको खरिदमा अत्याधिक प्रतिस्पर्धा समेत भएकाले उद्योग बन्द गर्नु परेको मेची भ्याली चिया उद्योगका संचालक विमल प्रधानले बताए। उद्योगको दैनिक प्रशोधन क्षमता छ हजार केजी भए पनि एक हजार २०० किलो मात्र संकलन हुँदै आएकाले २०७५ साउन देखि नै उद्योग बन्द गरेको संचालक प्रधानको भनाइ छ। उद्योगको क्षमताअनुसारको चिया नआउनु र भारतीय बजारमा चिया बिक्री नहुँदा किसानलाई हरियो पत्तीको मूल्य (पेमेन्ट) दिन नसकेका कारण पनि उद्योग मेची भ्याली उद्योग बन्द भएको हो।

मेची भ्याली मात्रै होइन, सूर्योदय नगरपालिकामा स्थापना भएका इन्द्रावती चिया उद्योग, झुल्केघाम चिया उद्योग, इलामेली चिया उद्योग, चाहना हाते चिया उद्योग र आयुष चिया उद्योग बन्द भएका छन्। बिषादी प्रयोग गरेकाले तेस्रो मुलकमा चिया निर्यात नहुँदा भारतीय बजारमा भर पर्नुपर्ने र भारतीय बजारमा चिया खरिद बिक्री कम भएपछि खर्च धान्न नसकेर उद्योग नै बन्द हुन थालेको सूर्योदय नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष टीका अधिकारीले बताए। विद्युत आपूर्ति नियमित नहुनु, पाँच ठाउँमा कर तिर्नुपर्ने, भारतीय बजारमा चिया बिक्री नहुनु र हरियो चिया पत्तिको न्युनतम मूल्य ४० रुपैयाँ भए पनि गुणस्तरीय नहुने भएकाले उद्योग बन्द हुने क्रम बढेको उपाध्यक्ष अधिकारीको भनाइ छ।

चियापत्ती कम उत्पादन

केन्द्रीय तथ्याङ्क विभाग र चिया तथा कफी विकास बोर्डले गरेको व्यवसायिक चिया खेती सर्वेक्षणअनुसार नेपालमा चिया प्रशोधन गर्ने कारखानाको क्षमताभन्दा एक तिहाई कम हरियो चियापत्ती उत्पादन हुने गरेको छ। नेपालमा चिया प्रशोधनका लागि ११३ वटा उद्योग संचालनमा छन्। चिया प्रशोधन उद्योगको वार्षिक तयारी चिया उत्पादन क्षमता पाँच करोड २१ लाख किलो रहेको छ। तर, ती उद्योगले वार्षिक एक करोड ८९ हजार ५८ हजार किलो हरियो चियापत्ती प्रशोधन गर्दै आएको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक वद्री कार्कीले जानकारी दिए। कार्कीका अनुसार नेपालमा रहेका चिया कारखानाका उपयोग ३६ दशमलब ४ प्रतिशत मात्रै रहेको हो।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार पछिल्लो समय उद्योगको संस्था बढ्दै गए पनि चिया खेती बिस्तार कम हुँदै गएको छ। उद्योगहरु धेरै खोलिएका कारण उत्पादन भएको हरियो चियापत्ती तीनै उद्योगहरुमा बाँडिने र चिया खेती विस्तार कम हुँदा उद्योगहरुको वार्षिक क्षमताभन्दा ६४ दशमलब ४ प्रतिशत कमीले तयारी चिया उत्पादन हुँदै आएको चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए। 

पछिल्ला वर्षमा कारखानाको क्षमताअनुसार हरियो पत्ती आउन छोडेको इलाम टि प्रोडुसर्स प्रालिका प्रबन्धक ओम काफ्लले बताए। साना र ठूला कारखानाहरु धेरै खुलेकाले दैनिक १० हजार हरियो चियापत्ती प्रशोधनको क्षमता रहेको कारखानमा छ हजार केजी मात्रै संकलन हुने गरेको छ।

दैनिक २० हजार हरियो चियापत्ती प्रशोधनको क्षमता रहेको इलामका श्रीअन्तुस्थित समाल भ्याली चिया कारखानामा पनि मुस्किलले दैनिक छ हजार किलो मात्रै संकलन हुने गरेको छ। केही वर्षअघिसम्म उद्योगको संख्या कम हुँदा क्षमताभन्दा बढी संकलन हुने गरेको थियो। डेनिस सरकारको सहयोगमा संचालित उन्नति समावेशी परियोजनाले चिया उद्योग स्थापनमा अनुदान दिन थालेपछि ह्वात्तै चिया उद्योगको संख्या बढेको हो।

नेपालमा एक करोड ६० लाख ३६ हजार सिटिसी, २६ लाख ७० हजार अर्थोडक्स, दुई लाख २० हजार ग्रीन टि, ३२ हजार केजी स्पेसियल तयारी चिया उत्पादन हुँदै आएको छ।  चिया प्रशोधन उद्योगका अनुसार चार किलो हरियो चियापत्तीबाट एक किलो तयारी चिया बन्ने गरेको छ।

चिया रोपण घट्दै

२०७० देखि चिया रोपण कम हुँदै आएको छ। उद्योग खोल्ने क्रम बढे पनि सोही मात्रामा चिया खेती बिस्तार नभएकाले उद्योगले समस्या भोग्दै आएको चिया उद्यमी एवं प्रदेश १ का सांसद काजीमान कागतेले बताए।

चिया रोपणका लागि सरकारी क्षेत्र र बैंक तथा वित्तीय संस्थाबाट ऋण नपाइने भएकाले पनि किसानले चिया खेती बिस्तार गर्न सकेका छैनन्। रोपिएका चार वर्षपछि मात्रै उत्पादन दिने भएकाले चिया किसानले चिया रोपणमा लिएको ऋणको ब्याज तिर्न समस्या हुने गरेको चिया किसान सागर पराजुलीले बताए।

सीमावर्ती भारतीय क्षेत्रमा रहेका चिया उद्योगमा कच्चा पदार्थ कम भएका कारण नेपालबाट महँगो मूल्यमा चिया खरिद गरी निर्यात भएकाले पनि नेपाली चिया उद्योगमा कच्चा पदार्थको अभाव भएको उद्योगीको भनाइ छ। सूर्योदय नगरपालिकाले चियाको समर्थन मूल्य तोक्दा नेपाली हरियो चिया भारतीय बजारमा निर्यात गर्न नपाउने नियम बनाए पनि हरियो चिया निर्यात भइरहेको चिया उद्योगी सुजन नेपालले बताउँछन।

नेपाली चिया उद्योगमा कच्चा पदार्थको अभाव भइरहेका बेला भारतीय चिया उद्योगले नेपाली चिया खरिद गरेपछि सूर्योदय चिया एशोसिएसन इलामले हरियो चियापत्ती निर्यात रोक्न सरकारी निकायलाई आग्रह गरे पनि चासो नदिएको एसोसिएनसका सचिव गोपाल कट्टेलले बताए। उनका अनुसार सूर्योदय नगरपालिकामा दैनिक ४० हजार केजी हरियो चियापत्ती अभाव छ। नगर क्षेत्रभित्र संचालनमा रहेका ५८ मध्ये पाँच उद्योग कच्चा पदार्थ अभावका कारण बन्द छन। यस क्षेत्रबाट भारततर्फ दैनिक ११ हजार केजी हरियोपत्ती निर्यात हुने गरेको छ। भारततर्फ निर्यात रोक्न सके ३/४ वटा उद्योग संचालन हुन सक्ने व्यवसायीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.