थाहा संवाद : स्थानीय सरकार

'भौतिक पूर्वाधार सम्पन्न चौदण्डीगढी बनाउँछु'
SHARES

असोज २४, २०७५

    उदयपुर : उदयपुर जिल्लाका चारवटा नगरपालिका र चारवटा गाउँपालिकामध्ये चौदण्डीगढी नगरपालिका वेलका नगरपालिकाभन्दा पश्चिम, त्रियुगा नगरपालिकाभन्दा पूर्वमा पर्छ। २०७१ बैशाख ३१ को मन्त्रिपरिषद्को निर्णयअनुसार साविक वेल्टार र वसाहा गाविस समेटेर वेल्टार वसाहा नगरपालिका बनेको थियो भने राज्य पुनर्संरचनाको क्रममा नेपाल सरकारको ०७३ फागुन १७ को स्थानीय तहको घोषणाबाट साविक वेल्टार वसाहा नगरपालिका र चौदण्डी, सिद्धिपुर, सुन्दरपुर र हडिया गाविस मिलाएर चौदण्डीगढी नगरपालिका भएको हो। यहाँ जम्मा १० वटा वडा छन्।

    चौदाण्डीगढी नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट खगेन्द्र राई निर्वाचित पहिलो नगर प्रमुख हुन्। चौदण्डीगढी नगरपालिकाको समस्या, चुनौती, विकास निर्माणलगायतका विषयमा केन्द्रित रहेर थाहाखबरकर्मी विदुर कटुवालले नगर प्रमुख खगेन्द्र राईसँग गरेको कुराकानी प्रस्तुत छ।

    चौदण्डीगढी नगरपालिकाको प्रमुख भएर अहिलेसम्म केके गर्नुभयो?

    हाम्रो संविधानले तीन सरकारको परिकल्पना गरेको छ। त्यसमध्ये हामी स्थानीय सरकार हौँ। यो सरकार जनताका सानाभन्दा साना समस्याहरूसँग जोडिन्छ। जनताको पाँच हजारको कुलोदेखि लिएर विभिन्न समस्याहरूसँग जोडिन्छ। हामीले एक वर्षको समयमा पालिका र वडा कार्यालयमा आएका सेवाग्रहीलाई नफर्काअौँ भन्ने हिसाबले काम गर्‍यौँ। सुरुसुरुमा राम्रो योजना पनि नबनाईकन काम गर्‍यौँ। जनताका ससाना समस्या नै वास्तविक समस्या हुन्। तिनै चौदण्डीको विकासका लागि आधार हुन्। यसैगरी एक वर्षसम्म काम गर्‍यौँ। गरिरहेकै छौँ।

    गएको वर्षसम्म त ससाना योजनामै रुमलिएर बिताउनुभएछ, दोस्रो वर्षका लागि चुनावी घोषणापत्रको आधारमा कस्ता योजनाहरू ल्याउनुभएको छ?

    अघि मैले भनेका साना योजनाहरूमा सडक कालेपत्रे गर्ने, स्वास्थ्य चौकीका भवनहरू बनाउने काम पनि भएका छन्। प्रहरीका भवनहरू छन्। चौदण्डीको मुख्य समस्या भनेको नदी नियन्त्रण छ। गत वर्ष पनि एक करोडजति खर्च गरेका थियौँ। चुनावी घोषणापत्रकै आधारमा नदी नियन्त्रणका लागि उच्च जोखिममा परेका मानव बस्तीको छेउमा, खेतीयोग्य जमिनको छेउमा कसरी नदी नियन्त्रण गर्न सकिन्छ भनेर गुरुयोजना बनाइरहेका छौँ। शिक्षा, स्वास्थ्य जस्ता विषयमा दुई करोड रुपैयाँका योजना ल्याएका छौँ।

    चौदण्डीगढी नगरपालिकालाई स्वास्थ्य, शिक्षामैत्री बनाउन कतिको जोड दिनुभएको छ?

    गर्भवती महिलाका लागि विशेष सेवा दिन स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन गरेका छौँ। स्वास्थ्य चौकीमा गुणस्तरीय सेवा दिन थालेका छौँ। शिक्षामा पनि पहिलाको भन्दा अहिले सुधार गरेका छौँ।

    समग्रमा चुनावी घोषणापत्रमा राखिएका स्मार्ट सिटीदेखिका सबै कामहरू कति गर्नुभएको छ?

    ग्रामीण सडकको आधार तयार गरिसकेका छौँ। कुनै पनि वडाको बजार क्षेत्रबाट गाउँसम्म पुग्ने बाटो निर्माण गरिसकेका छौँ। सडकको मादण्ड छ मिटरदेखि माथिको लिएर ट्र्याक खोल्नेदेखि ग्राभेल गर्ने काम सबै वडामा सकिएको छ। कुनैकुनै ठाउँमा समस्या छ। बर्खामा पुल नहुँदाको समस्या छ। वर्षाबाहेकको अन्य महिनामा निरन्तर सडक संचालनमा आउने भएका छन्। चुनावी घोषणापत्रको आधारमा धेरै काम भएका छन्। चुनावी घोषणापत्रकै आधारमा चौदण्डीगढीलाई आधारभूत भौतिक पूर्वाधार सम्पन्न बनाउने गरी काममा लागेका छौँ। 

    चौदण्डीमा रहेको सिंहदरबारले सबै अधिकार कार्यान्वयमा ल्याएको छ त?

    संविधानमा २२ वटा अधिकार छन्। त्यही अधिकारमा रहेका कानुनहरू बनाउनुपर्ने थियो। त्यो बनाएर हामीले राजपत्रमा प्रकाशित गरिसकेका छौँ। तर पनि गाउँघरका केहीकेही समस्याहरूलाई सम्बोधन गर्न सकेका छैनौँ। गाउँघरमा नागरिकताका समस्या छन्। बाबुआमाको नागरिकता नभएपछि बालबालिका पढ्ने अधिकारबाट वंचित भएका समस्या छन्। यस्ता समस्याहरूलाई सम्बोधन गर्ने काम नगरेको हुँदाखेरी सिंहदरबार गाउँमा नआएको जस्तो लाग्छ। जसलाई मान्छेहरूले गाउँगाउँमा सिंहदरबार मुखमा मात्र रहेछ भन्ने गुनासो गरेको पनि पाइन्छ।

    संविधानमा स्थानीय सरकारले प्रष्ट रूपमा नागरिकता दिन पाउने नभनेकाले समस्या भएको हो?

    प्रत्येक वडामा २५ देखि ५० को हाराहारीमा, नागरिकताको समस्या छ। मुख्यगरी नागरिकता नभएपछि विवाह दर्ता नभएको अवस्थामा बुबाआमाको नागरिकता नभएपछि विवाह दर्ता हुँदैन। विवाह दर्ता नभएपछि छोराछोरी पढ्न पाउने अधिकारबाट पनि वंचित भएका छन्। संविधानमा नागरिकताको बारेमा लेखिएका अधिकार छन्। ती अधिकार कानुन बनाएर पनि दिन नपाउँदा समस्या भएको छ।

    स्थानीय सरकारलाई केन्द्र सरकारले नागरिकताको सम्बन्धमा झनै समस्यामा पारेको हो? 

    झनै समस्या छ। अर्को कुरा, कानुनमा लेखिएको भए तापनि जिल्ला प्रशासनमा जो बस्नुहुन्छ उहाँहरूले स्थानीय जनताले निर्वाचित गरेर बनाएको सरकारले सिफारिस गरेको कुरामा दु:ख दिने गरेको पाइन्छ। हामीले सिफारिस गर्दा प्रहरीसँग बसेर मुचुल्का उठाएर, नगरपालिकामा पनि दोहोरो सिफारिस गरेर पठाउँछौँ। सिडिओसा'बहरूले पनि कहिलेकाहीँ अन्य समस्या दिने गर्नुभएको छ।

    स्थानीय सरकारले सिफारिस गरेका नेपालीलाई जिल्ला प्रशासन कार्यालयले नागरिकता नदिएको अवस्था छ? 

    छ। पूरा रोकिदिएको अवस्था पनि छ। वडाले नागरिकताका लागि सिफारिस गरेर पठाउँछ। सिडिओसा'बकहाँ जान्छ। सिडिओले फेरि प्रहरी मुचुल्का ल्याऊ भन्नुहुन्छ। अनि प्रहरीले त्यही वडा अध्यक्षलाई बोलउँछ। वडा अध्यक्षकै सिफारिसमा त्यो मान्छे त्यहाँ पुगेको हुन्छ। फेरि प्रहरीकहाँ सिडिओसा'बले पठाइदिनुहुन्छ। यस्तो खालको वातावरण छ, जसले गर्दा समस्या परेको छ।

    चौदण्डीमा नगर प्रमुख र सिडिओको तालमेल नमिलेको हो? 

    त्यस्तोचाहिँ होइन। नागरिकताको केसमा मात्र हो। फेरि चौदण्डीको मात्र होइन, देशभरकै नगरपालिकाको समस्या हो यो। नगरपालिका महासंघको अधिवेशनको निर्वाचनमा पनि अन्य नगरपालिकाका प्रमुखहरूसँग बुझ्दा यो समस्या धेरैतिर रहेछ। धेरै नगर प्रमुखहरूले आफूले भनेको सिडिओसा'बहरूले मान्नु नै हुन्न। हामीले चिनिराखेको बच्चा हुन्छ, पठाइदियो, उहाँहरूले हुँदैन भन्नुहुन्छ, गाह्रो भइसक्यो भन्नुभएको छ। हामीबीचमा पनि टीका टिप्पणी उठेको थियो। मेरो चौदण्डी नगरपालिका र सिडिओसा'बसँगको सम्बन्धको कुरा होइन, समग्र देशको समस्या हो। अंगीकृत नागरिकता र वंशजको नागरिता मात्र दिने व्यवस्था छ। अंगीकृत र वंशजको पनि नभएपछि सिडिओसा'बहरूले त्यही गर्नुहुन्छ। स्वाभाविक पनि हो तर जननिर्वाचित सरकारबाट दोहोरो सिफारिस भएर गएपछि दिने वातावरण भए हामी जस्तोसुकै ग्यारेन्टी गर्न पनि तयार थियौँ।

    चुनावको बेला वेल्टार बजारलाई स्मार्ट सिटी बनाउने परिकल्पना गर्नुभएको थियो। अहिले कामचाहिँ कहाँ पुर्‍याउनु भयो?

    स्मार्ट सिटीको परिकल्पना गरेर अहिले हामीले वेल्टार बजारदेखl चौदण्डीगढी दरबार पर्यटकीय क्षेत्र जोड्ने सडक पनि लभभग बनाइसकेका छौँ। गुरुयोजनासमेत बनाइसकेका छौँ। यसपालि पनि ५० लाख रुपैयाँ छुट्याएर,तत्काल गर्न सकिने नसकिने योजनालाई इंगित गरेर विज्ञहरूलाई ल्याएर काम सुरु गरिसकेका छौँ।

    एउटा गुरुयोजना बनिसकेको थियो फेरि ५० लाख छुट्याएर गुरुयोजना बनाउँदा मोटो रकम खर्च हुँदैन?

    यहाँचाहिँ डिटेल सर्भे हो। पहिलाको चाहिँ पूरै गुरुयोजना भयो। यो यो गर्न सकिन्छ भनेर बनाइएको। अहिलेचाहिँ यो यो गर्ने भनेर डिपिआर तयार गर्ने हो। 

    चौदण्डीगढी नगरपालिकाका समस्याहरू चाहिँ केके देख्नुभएको छ?

    त्यस्ता खासै समस्याचाहिँ छैनन्। हामीसँग भएको बजेट जनतासँगै रहेर खर्च गरेका छौँ। हामीले बनाएका बजेट नीति, निर्देशिकाबमोजिम नै खर्च गरेका छौँ। जनताकै साथ, सहयोग र सल्लाहमा काम गर्ने भएकाले हामीमा समस्या छैन। हामीसँग कर्मचारी पनि अभाव छैनन्। सबैभन्दा जटिलचाहिँ महिला तथा बालबालिकामा थियो। त्यो पनि लगभग टरिसकेको छ। समस्या खासै छैन।

    कहिलेकाहीँ चौदण्डी नगरपालिकामा वडा अध्यक्षहरू बैठकमै बोतल हानाहान गर्छन्, किन यस्ता खालका समस्या आउँछन्?

    उहाँले म को हुँ भनेर, म कुन बैठकमा छु, अलिकति नयाँनयाँ भएकाले हिजो हामी खाटतिर बसेर छलफल गर्थ्यौं, त्यहाँ पनि चर्काचर्की हुन्थ्यो। अहिलेका तीन सरकारका परिकल्पनामध्ये चौदण्डी सरकारभित्रको मन्त्री हुँ भन्ने नसोचेकै कारण त्यो घटना भएको थियो। हामीकहाँ त्यो घटनाबाहेक अन्य घटना घटेका छैनन्। त्यसपछि धेरै बैठकहरू विवाद नभई भएका छन्। नगरपालिका र योजनाकै विषयलाई लिएर ठूलो विवाद हुँदैन। जुनसुकै पार्टीबाट वडा अध्यक्ष निर्वाचित हुनुभएकाले पनि, जुनसुकै एजेन्डा भए पनि सहज ढंगले स्वीकार गरेर पास भएर अघि बढेको अवस्था छ। त्यो दिनको घटना भनेको उहाँहरूको पर्सनल पनि पर्‍यो। विगतमा उहाँहरूको एउटै गाविस थियो। त्यो अपवादमा भएको को घटना हो। त्यसपछि कुनै पनि त्यस्तो घटना भएको छैन।

    ढुंगा, गिट्टी, बालुवाको ठेक्का र नगरपालिकाले उठाउने विभिन्न कर कसरी लगाउनुभएको छ?

    ढुंगा, गिट्टी, बालुवा पहिला जिल्ला समन्वय समितिले ठेक्का लगाएको हो। बाहिर चलेको हल्ला जस्तो छैन। आइई रिपोर्टका लागि भर्खर सूचना निस्किएको छ। गएको भदौ ३१ गतेको बोर्ड बैठकले पारित गरेर सूचना निकालेका छौँ। अधिकांश कर पहिलाकै रेटमा छन्। जनतालाई मार पर्ने गरी कर लगाएका छैनौँ। करका बारेमा हामी सचेत छौँ। अन्य नगरपालिकाको जस्तो छैन।

    पाँच वर्षपछि चौदण्डीगढी नगरपालिका कस्तो हुन्छ?

    धेरै गर्छु भन्दिनँ। स्रोत साधन कमी छ। जति आएको बजेट छ, त्यसलाई पारदर्शिताका साथ, इमान्दारीसाथ राम्रो गर्छु भनेर म लागेको छु। एउटा सुन्दर शहर वेल्टार बजार र आधारभूत भौतिक पूर्वाधार सम्पन्न चौदण्डीगढी नगरपालिका बनाउने परिकल्पना गरेको छु।

विदुर कटुवाल

कटुवाल थाहाखबरका उदयपुर संवादाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]