|

काठमाडौं :  २०७२ सालको मदन पुरस्कार विजेता कथाकार रामलाल जोशीको नयाँ उपन्यास 'सखी' बजारमा आउँदै छ। जोशीको कथासंग्रह ‘ऐना’लाई २०७२ सालको मदन पुरस्कार पाएलगत्तै नेपाली साहित्य वृत्तमा नयाँ तरंग पैदा भएको थियो। मोफसलमा बसेर लामो समय कथा लेखनमा सक्रिय उनी यस पटक सखी उपन्यास सार्वजनिक गर्न राजधानीमा छन्।

मदन पुरस्कार प्राप्त गरिसकेपछि पाठकले आफूलाई र ‌ऐनालाई दिएको स्नेहले आफूभित्र एक किसिमको उत्साह त छँदै छ, साथमा दबाब पनि थपिएको अनुभव छ उनको। 'उत्साह यस अर्थमा छ कि अब मैले लेख्नुपर्छ भन्ने छ। मेरो शैली, उठान गरेको विषयवस्तुलाई जुन किसिमले रुचाइएको छ, त्यो हिसाबले उत्साह छ', उनी भन्छन्, 'ऐनाले पाएको पाठकको स्नेह र मायालाई धान्न सखीले सक्छ कि सक्दैन भन्ने दबाब पनि सिर्जना भएको छ।' दबाबै दबाबलाई थाँती राखेर एक वर्षको अवधिमा सखी उपन्यास लेखेर सकेको उनले बताए।

ऐनाजत्तिकै माया र स्नेह पाठकबाट सखीले पनि पाउने आशा उनले राखेका छन्। उनी भन्छन्, 'अब पाठकको हातमा गएपछि पाठकको प्रतिक्रिया कस्तो हुन्छ, त्यसैको प्रतीक्षामा छु।' उनले आफ्नो लेखनको रुचि नेपाली साहित्यको मूलधारमा आउन नसकेको विषयलाई उठान गर्नु रहेको बताए। जुन जातीको कुरा, जुन क्षेत्रको कुरा, जुन पाटो उघ्रन सकेको छैन, त्यही पाटोलाई ल्याउनुपर्छ भन्ने सोचले सखी लेखेको उनको दाबी छ।

सखी उपन्यासमा थारू जातिलाई  मुख्य विषयवस्तु बनाएका छन्। राज्यले ध्यान नदिएको थारू जातिको जीवन चरित्र ल्याउने कोसिस गरेको उनी बताउँछन्। 'त्यस जातिको जुन संघर्षपूर्ण जीवन पद्धति छ, त्यही जीवन पद्धतिलाई मूलधारको साहित्यमा ल्याउने कोसिस गरेको हुँ', उनले भने। सखीभित्र सुदूरपश्चिम क्षेत्रको थारू जातिभित्रको कम्लरी केटीको संघर्षको कथा रहेको उनको तर्क छ।

बाह्र वर्षको शिक्षण पेसालाई बिट मार्दै उनी अहिले लेखनमा व्यस्त छन्। देशका कुनाकुनामा हुने साहित्यिक सम्मेलन, साहित्यिक अन्तर्क्रियामा उनलाई निमन्त्रणा आउँछ। नाइँ भन्न नसक्ने अवस्था सिर्जना भएकाले शिक्षण पेसालाई बिदाइको हात हल्लाएका हुन् उनले। विद्यार्थीको भविष्यको कुरा भएको र आफ्नो कारण विद्यार्थीलाई कुनै समस्या नहोस् भन्ने मनसायले नै आफूले शिक्षण पेसाबाट हात झिकेको बताउँछन् उनी।

बाह्र वर्षको शिक्षण पेसाको दौरानमा विद्यार्थीको साथ र सहयोग अत्यधिक रहेको उनले बताए। यता, साहित्यमा पनि आमपाठकको माया एकदम धेरै पाएकाले पनि लेखनमा निरन्तरता दिएको उनी बताउँछन्। लेख्छु नै भनेर आफूले जागिर छाडेको हुनाले सखी उपन्यासपछि कि कथा कि उपन्यास आउने कुरामा पाठकलाई ढुक्क हुनसमेत उनले अनुरोध गरे। 'धेरै पाठकहरूले अब राजधानी बस्नुहुन्छ कि धनगढी? भनेर प्रश्न गरिरहनुभएकाले सम्भवत: मोफसलमा बसेर लामो समय साहित्य लेखनमा छु। नयाँ कृति लेखिसकेपछि मात्र राजधानी आउन सक्ने सम्भावना पनि छ', उनी भन्छन्, 'जहाँ बसे पनि अबको यात्रा साहित्य लेखन मात्र हुन्छ।'

एउटा लेखकले समाजको कुनै एक विषयवस्तुमा आधारित भएर जब लेख्छ, उसले दिने सूचना हो। त्यही सूचनामा आधारित रहेर राज्यको ध्यान, पाठकको ध्यान त्यस वर्गप्रति आकृष्ट हुन्छ। लेखकले लेखबाट आमपाठक, त्यो वर्ग र समुदायप्रति कतिको संवेदनशील भए या भएनन् भन्ने ख्याल गर्छ। किनकि राज्यले संवोधन गरिदियोस् भनेरै एउटा लेखकले लेख्ने हो जस्तो लाग्छ उनलाई।

'मिडियामा प्रकाशित समाचारले पाठकको हृदयसम्म नछुन सक्छ। जब कथा वा उपन्यासको माध्यमबाट कुनै विषयवस्तु आउँछ, त्यस विषयले धेरै लामो समयसम्म पाठकलाई रन्थन्याउँछ सक्छ। किनकि पाठक भनेको सत्तामा बस्ने मन्त्री पनि हो, सांसद पनि हो, पत्रकार पनि हो', उनी भन्छन्। कुनै बेला जोशी आत्मसन्तुष्टिका लागि लेख्ने गर्थे। उनी भन्छन्, 'जब आफूले लेखेको रचना अरूका लागि पनि आकर्षण बन्छ र पाठकले रचनाको प्रतीक्षा गर्छन्, तब आफ्नो प्रतिस्पर्धी आफ्नै रचना हुनेरहेछन्।'

गजल  लेखनमा उनी चर्चित छन्। गजलमा सबै कुरा अभिव्यक्त गर्न नसकेर कथा र उपन्यासको सहारा लिएको समेत उनले बताए। आफूले देखेको र भोगेको सामाजिक विसंगतिलाई अभिव्यक्त गर्न कथा लेखेको बताउँछन् उनी। कथा लेखनमा स्थापित लेखक उपन्यासमा किन आयो भन्ने पाठकहरूको पनि प्रश्न आइरहने गरेको उनले बताए। कथा र उपन्यासमा खास अन्तर नरहेको उनको तर्क छ। उनी भन्छन्, 'कथा घटना विशेषमा आधारित रहेर लेखिने विधा हो भने उपन्यास भनेको जनजीवनको लामो चित्रण हो।'

आफ्नो कथासंग्रहमा केही फुटकर रूपमा थारू समुदायको कथा आए पनि त्यो जातिको समग्र संघर्षको कथा राज्य र आमपाठकको हृदयसम्म पुगोस् भन्ने हेतुले नै उपन्यास लेखेको उनी बताउँछन्। यति धेरै जाति, यति धेरै विषयवस्तुका बाबजुद पनि थारूको विषयवस्तु उठाउनुको मुख्य धेय किन पर्‍यो भन्ने आमपाठकको धारणा हुन पनि सक्छ। यस विषयमा उनी भन्छन्, 'लेखकहरूले विभिन्न विषयवस्तुमा लेखिरहेका छन् तर थारू जातिको विषयमा त्यति ध्यान नदिएको हुनाले त्यो पाटोलाई निकाल्न नै म थारू जातितिर आकर्षित भएको हुँ।'

थारू समुदाय नजिक रहेको र उनीहरूको संघर्ष देख्दा यस जातिको बारेमा लेख्छु भनेर सोचिरहेका थिए रे उनले। थारू इमान्दार, आदिम सभ्यता भएको एकदम अबोध सोझो जातिको जीवन शैली र उनीहरूका बाजे बराजुबाट वर्तमानसम्म आइपुग्दा त्यो जातिले भोगेको शोषण, दु:खको पाटोले आफूलाई छोएकाले सखी लेखिएको उनको भनाइ छ। यस कृतिभित्र दु:ख र अभाव मात्र छैन, आत्मसम्मान र पहिचानका कुरा पनि समावेश छन्। यो समुदाय आफ्नै शक्तिले स्वतन्त्रतापूर्वक बाँच्न सफल पनि रहेकाले उक्त जातिको सफलताको कथा यस उपन्यासमा रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.