तेह्रथुम : कर्णाली अञ्चलका विभिन्न जिल्लाहरूमा दशैँको मुखैमा खाद्यान्न अभाव भनेर समाचार आइरहेका वेला तेह्रथुममा भने ८ हजार मेट्रिक टन खाद्यान्न घरेलु मदिरा बनाउनैमा प्रयोग हुने गरेको पाइएको छ। घरेलु मदिरा बनाउन कुवाइने अन्नको बजारमूल्य २४ करोड रुपैयाँ बराबर रहेको जिल्ला कृषि विकास कार्यालय तेह्रथुमले जनाएको छ।
जिल्लामा उत्पादन हुने धान, मकै, कोदो, गहुँ, जौलगायत ८ हजार मेट्रिकटन खाद्यान्न घरेलु मदिरा जाँड, रक्सी, निगार र तोङ्बा बनाउन प्रयोग हुने गरेको छ।जिल्ला कृषि विकास कार्यालयले गरेको एक अध्ययनले जिल्लामा उत्पादित खाद्यान्न ५७ हजार मेट्रिक टनमध्ये ८ हजार मेट्रिक टन घरेलु मदिरा बनाएर नष्ट गरिएको पत्ता लगाएको हो। कार्यालयका अनुसार तेह्रथुममा १९ हजार ८८४ कृषक परिवारले ३० हजार ४२८ हेक्टर क्षेत्रफल जमिनमा खाद्यान्न खेती गर्दै आएका छन्।
आजकाल धान, मकै, कोदो, गहुँ, जौका साथै विभिन्न जातका फलफूलको रसबाट पनि रक्सी बनाउने गरेको पाइन्छ। तर, घरेलु मदिरा बनाउन कोदोको सबैभन्दा बढी प्रयोेग हुने गरेको छ। त्यसमा पनि चाडवाड नजिकिँदै गर्दा अरु बेलाको तुलनामा बढी मात्रामा रक्सी पार्ने गरेको घरेलु मदिरा व्यवसायी बताउँछन्।
जिल्लामा वार्षिक दई हजार ९०० मेट्रिक टन कोदो उत्पादन हुने गरेको तथ्यांक छ। घरेलु मदिरा बनाउन प्रयोग गरिने यो परिमाणको खाद्यान्नबाट २५ हजार जनालाई एक वर्षसम्म खान पुग्ने कृषि विकास कार्यालय, तेह्रथुमका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताएका छन्। २५ हजार जनसंख्या तेह्रथुमको कुल जनसंख्याको करिब एक चौथाई हुन आउँछ।
जिल्लामा उत्पादन भएको कोदोले नपुग्ने भएकाले घरेलु मदिरा बनाउन छिमेकी जिल्लाका साथै पूर्वी तराईबाट समेत ठूलो परिमाणमा कोदो आयात हुने गरेको कार्यालयले जनाएको छ। जाँड, रक्सी लगायत घरेलु मादक पदार्थ बनाउन जिल्ला बाहिरबाट वार्षिक ५०० मेट्रिकटन कोदो आयात भइरहेको कार्यालयको अभिलेख छ।
मानव स्वास्थ्यका लागि हानिकारक रहेको मदिरा बनाउन प्राण बचाउने अन्न नष्ट गरिनु आफैंमा राम्रो काम अगुवाहरु बताउँछन्। यद्यपि यसको व्यापार व्यवसायबाट मनग्ये आम्दानी भने हुने गरेको पाइन्छ। तर पैसा कमाउनु भन्दा महत्वपूर्ण कुरा स्वस्थ रहनु हुने हुनाले यस किसिमका कार्य सञ्चालनमा सरकार र सरोकारवाला सबै सचेत हुनु आवश्यक छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।