|

विराटनगर : शेयर बजारसम्बन्धी जानकारी दिन पहिलो पल्ट विराटनगरमा दुई दिने प्रादेशिक पुँजी बजार प्रदर्शनी २०७५ सुरु भएको छ। 

नेपाल धितोपत्र बोर्डद्वारा आयोजित प्रदर्शनीमा धितोपत्रसम्बन्धी ज्ञान र आवश्यक सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यका साथ काठमाडौँ बाहिर पहिलो पटक ‘प्रादेशिक पुँजी बजार प्रदर्शनी’ आयोजना गरिएको हो।

प्रदर्शनीमा लगानीकर्तासहित लगानकर्ताका लागि जानकारी दिने, धितोपत्र बजार नियमन निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएससी, क्रेडिट रेटिङ संस्था, सामूहिक लगानी कोष, मर्चेन्ट बैंक, धितोपत्र दलाल व्यवसायी, डिम्याट खाता खोल्ने निक्षेप सदस्यसम्बन्धी सेवा प्रदान गरिनेछ। प्रदर्शनीको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधान राईले उद्घाटन गर्दै पूँजीको विकासबिना अर्थतन्त्रको विकास असम्भव रहेको बताए। उनले पुँजी बजारलाई विकास गर्न संघीय, प्रादेशिक र स्थानीय गरी तीनवटै सरकार मिलेर अघि बढ्नु पर्नेमा जोड दिए।

धितोपत्र बोर्डका अनुसार प्रदर्शनीमा सहभागीहरूले निःशुल्क डिम्याट खाता खोल्ने सुविधा पाउने र एक नेपाली एक डिम्याट खाता अभियानको सुरुवात समेत गरिनेछ। बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले नेपाली पुँजी बजारलाई व्यवस्थित गर्दै विकासमा लैजाने बताए। यस्ता प्रदर्शनीसँगै नेपालको पुँजी बजार, धितोपत्र बजार थप विस्तर हुने उनको भनाइ थियो। त्यसैगरी प्रदर्शनीमा धितोपत्र बजारसम्बन्धी विभिन्न पुस्तक तथा प्रकाशनको निःशुल्क वितरण तथा प्रदेश तथा स्थानीय निकायको विकास निर्माणका लागि आवश्यक पुँजी परिचालनको सम्भावनका सम्बन्धमा जानकारी दिनेछ।

प्रदर्शनीमा सहभागी हुन आउने आगन्तुकलाई एकै छानामुनि धितोपत्र र वस्तु विनियम बजारसम्बन्धी विविध जानकारी बोर्डले जनाएको छ। यस क्षेत्रका नागरिकलाई धितोपत्र बजारका बारेमा सम्पूर्ण जानकारी गराउने मूल उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बोर्डले जनाएको छ।

प्रदर्शनी समारोहमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सीडीएससीका प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ता, मर्चेन्ट बैंकर एसोसिएनका महासचिव मेखबहादुर थापा, स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट, मोरङ चेम्बर एण्ड कमर्शका अध्यक्ष सुरेशमान श्रेष्ठ, उद्योग संगठन मोरङका अध्यक्ष भीमप्रसाद घिमिरे, नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका प्रमुख विनोद आचार्य, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, लगायतको सहभागिता रहेको थियो।

उक्त शेयर बजारसम्बन्धी प्रादेशिक पुँजी बजार प्रदर्शनीमा १२० स्टल रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.