|

तनहुँ : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले संघीयता र नेकपाको सरकार मन नपराउनेहरूबाट करबारे भ्रम फैल्याएर जनतालाई त्रसित पार्ने काम भइरहेको बताएका छन्। मन्त्री गुरुङले लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी टावनको आयोजनामा तनहुँको बेलचौतारामा सञ्चालित 'शुक्लागण्डकी लायन्स महोत्सव २०७५' को उद्घाटन गर्दै भ्रम नफैलाउन आग्रह गरेका हुन्। 

'जनताको ढाड सेक्ने गरी सरकारले कर तिर्न बाध्य गराएको छैन,' मन्त्री गुरुङले भने। केही अराजक तत्वले सामाजिक सञ्जालमा भ्रम फैलाएर कर तिर्ने धारणा पनि विगारी दिएको मन्त्री गुरुङको भनाई भनाई थियो। लायन्स क्वलको ‘दिएर बाँचौ’ भन्ने नारा र सरकारको कर तिर्नुपर्ने धारणा उस्तै भएकाले लायन्सको नारा जस्तै कर तिरेर सन्तुष्टि लिनुपर्ने गुरुङले बताए। उनले राष्ट्रिय एकताको लागि लायन्स महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

नेपालीहरूका बीच धेरै विविधता रहेको छ, त्यो विविधतालाई एकतामा परिणत गर्नका लागि यस्ता महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख उनले गरे। महोत्सवमा गण्डकी प्रदेश सांसद आशा कोइरालाले महोत्सव नाफा कमाउने भन्दा पनि सेवा भाव र संस्कृति संरक्षण एवं स्थानीय व्यापारलाई प्रवर्द्धन गर्ने खालको हुनुपर्ने बताइन्। 

कार्यक्रममा लायन्स क्लवका डिस्ट्रिक गभर्नर अशोककुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष हरिबहादुर थापा, नेकपाका नेता चित्रबहादुर थापा नेपाली कांग्रेसका नगरसभापति माधव भट्टराई लगायतले महोत्सवले स्थानीय भाषा, संस्कृति, व्यवसायको प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए। 

लायन्स महोत्सवमा प्रवेश शुल्कबाट संकलित हुने सम्पूर्ण रकम शिक्षा, स्वास्थ्य लगायतका सामाजिक कार्यमा लगानी गर्ने बताइएको छ। महोत्सवभर विभिन्न रोगका विशेषज्ञ डाक्टरहरूद्वारा हरेक दिन स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, ५० जना अशक्त अपांगलाई ह्युलचियर वितरण र शुक्लागण्डकी नगरपालिकाभित्रका ५०० जना विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको क्लवका अध्यक्ष एवं महोत्सवका संयोजक प्रदीप थापाले जानकारी दिए।

जिल्ला व्यापी विद्यालयस्तरीय नृत्य प्रतियोगिता, शुक्लागण्डकी नगरपालिकाभित्रको भुजिकोट दगामको गुरुङ होम स्टे, फिरफिरेको मेलिनियम गुफाको अवलोकनका साथै गुरुङ संस्कृति र स्वागत सत्कारमा रम्न पाउने व्यवस्था समेत गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.