|

सल्यान : गत आर्थिक वर्षमा सल्यानमा ३५ करोड ३९ लाख २५ हजार रुपैयाँ बराबरको आलु उत्पादन भएको छ। कृषि ज्ञान केन्द्र सल्यानका अनुसार गत आर्थिक वर्षमा एक हजार ७६५ हेक्टर क्षेत्रफलमा हिँउदे र ४०३ हेक्टर क्षेत्रफलमा वर्षे आलु खेती गरिएको थियो।

उक्त क्षेत्रमा हिउँदे १६ हजार ३१५ मेट्रिक टन र वर्षे तीन हजार ६४० मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुअ अम्मरराज शर्मा घिमिरेले जानकारी दिए। ‘हिउँदे र वर्षे गरी १९ हजार ९५५ मेट्रिक टन आलु उत्पादन भएको छ,’ शर्माले भने, ‘औषतमा हिउँदे आलु प्रतिकेजी १५ र वर्षे आलु प्रतिकेजी ३० रुपैयाँका दरले बिक्री भएको हो।’

जिल्लाको वाँफुखोला, कोटमौला, दमाचौर ढाकाडाम, कोटबारालगायतका क्षेत्रका किसानले आलु खेती गर्दै आएका छन्। 

वाँफुखोलामा मात्रै ११ करोडको आलु

बागचौर नगरपालिका–१२ वाँफुखोलाका किसानहरुले ११ करोड रुपैयाँभन्दा बढी रकम आलु बिक्रीबाट भित्र्याएका छन्। यस क्षेत्रमा झण्डै ८० हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको छ।
‘व्यावसायिक आलु खेतीमा लागेपछि जीवनस्तर फेरिएको छ,’ किसान डिल्ली ओलीले भने, ‘यस वर्ष मैले मात्रै ४० क्विन्टल आलु उत्पादन गरेर सात लाख रुपैयाँ कमाएँ।’ विगतमा आलु उत्पादन भए पनि बजारको समस्या हुने गरेको भए पनि अहिले व्यापारीहरु खेतवारीमै आइपुग्ने उनको भनाइ छ।

केही वर्ष अघिसम्म परिवार पाल्नका लागि भारतमा जाने गरेको यस क्षेत्रका नागरिक आलु खेती गर्न थालेपछि त्यो क्रम रोकिएका छ। करिब एक हजार घरधुरी रहेको बाँफुखोलाका ८० प्रतिशत किसान व्यावसायिक आलु खेतीमा लागेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.