सत्यतथ्य छानबिन गर्न माग

|

काठमाडौं  : कागेश्वरी मनहरा नगरपालिका- ७ स्थित एक भवनको तेस्रो तलामा तास खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरी पुगेपछि हामफालेर दुई जनाको मृत्यु भएको भनिएको घटनामा मृतकका परिवारले शंका जनाएका छन्। 

शुक्रबार राती जुवा खेलिरहेको भन्ने सूचना पाएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक होवीन्द्र बोगटीको कमान्डमा प्रहरीले जुवाखालमा छापा मारेको थियो। प्रहरीले छापा मार्ने क्रममा स्थानीय ४१ वर्षीय सरोज घले र सिन्धुपाल्चोक घर भई काठमाडौं जोरपाटी बस्ने सोमलाल तामाङको मृत्यु भएको थियो। गम्भीर घाइते उनीहरूको उपचारको क्रममा ललितपुरस्थित बिएण्डबी अस्पतालमा शनिबार मृत्यु भएको हो। सोमलालको टाउकोमा गहिरो चोट लागेको देखिन्छ।

मृतक सोमलालका ससुराली दाइ तेम्बो तामाङले यो घटनामा हामफाल्दा मृत्यु भएको नभई प्रहरीले गोली जस्तै केही वस्तु हानेको र यस सम्बन्धमा सत्यतथ्य छानबिन गर्न आग्रह गरेका छन्। उनले भने, ‘मृत्यु जुवा खालबाट भागेर हामफाल्दा भएको होइन, प्रहरीले गोली जस्तै आवाजसहितको केही वस्तु हानेको छ’, उनले थपे, ‘यस घटनाको सत्यतथ्य छानबिन हुनुपर्छ।' त्यस्तै, मृतक सोमलालका दाइ दीपलाल तामाङले पनि यस घटनामा शंका गर्ने ठाउँ रहेको बताएका छन्। 'प्रहरीले घरभित्रै कुनै धारिलो हतियार प्रयोग गरेको छ र मान्छे मर्न लागेपछि वहानाका लागि उपचार गर्न भन्दै अस्पताल लगेको हो', उनले थपे, 'यो घटनामा पूरा आशंका छ, सत्यतथ्य छानबिन होस्।' 

जुवा खेलिरहेको भन्ने सूचनापछि टेण्डी शेर्पाको घरमा प्रहरीले शुक्रबार राती १० बजे छापा मारेको थियो। प्रहरीले जुवाखालबाट एक महिलासहित २३ जनालाई पक्राउ गर्नुका साथै चार लाख ५८ हजार रुपैयाँ र केही थान सुनका गरगहनासमेत बरामद गरेको थियो।

यस घटनाबारे काठमाडौं प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले प्रहरीले छानबिन गरिरहेको बताए। 'घरको तेस्रो तलामा होहल्ला सुनेपछि प्रहरी जाने क्रममा घरको च्यानल गेट नजिक प्रहरी पुग्‍दा प्रहरी आयो भन्दै भागदौड मच्चिएको हो', उनले भने, 'जुवाडेहरूबीच नै तनावको स्थिति पनि भएको हुन सक्छ। यसबारे हामी अनुसन्धानमा छौँ।' जुवा खेलाउने मुख्य योजनाकार हुमा गुरुङ फरार रहेको र उनको खोजी कार्य जारी रहेको पनि एसएसपी लामाले जानकारी दिए।

जुवा खालबाट हामफाल्दा दुई जनाको मृत्यु 
 

'मृत भनिएकाको नाम फरक पर्‍यो' 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.