‘देशमै रोजगारी सिर्जना गर्नु पहिलो आवश्यकता’

|

गोरखा : नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपाली युवावतीलाई नेपाल आउनुस् भनेर मात्र फर्केर आउन नसक्ने बताएका छन्। शनिबार गोरखा च्याम्बरले आयोजना गरेको दशैँ सस्तो बजार तथा सस्तो मेलाको उद्घाटन गर्दै नेपाल आर्थिक संमृद्धिको अभियानमा प्रवेश गरेको भन्दै उनीहरुलाई यहीँ काम गर्ने, रोजगारीको सिर्जना गरेर फर्काउनुपर्ने तर्क गरे।

‘हाम्रा लाखौँ युवाहरु विदेशमा छन्। उनीहरु खुसीले गएका छैनन् एउटा बाध्यता छ’ प्रचण्डले भने ‘रोजीरोटीको निम्ति, घरपरिवार चलाउन समस्या परेकोले लाखौँ युवायुवतीहरु विदेशमा छन्। उनीहरुलाई नेपाल आउनुस् भनेर राष्ट्रवादी कुरा गरेर मात्र उनीहरु नेपाल आउनेवाला छैनन्। जबसम्म देशभित्र उद्योगधन्दा, कलकारखाना, ब्यवसाय, सबै परिचालन गर्ने वातावरण बन्दैन, जबसम्म रोजगारी सृष्टि हुँदैन तबसम्म आउन गाह्रो छ।’

उनले मानिसलाई अगाडिबार्ट डोर्‍याएर समृद्धिको यात्रामा पुग्ने भन्दै यहाँका सबै आर्थिक क्षेत्रका कम्पनी तथा लगानी कर्ताहरुलाई त्यसको वातावरण बनाउन आग्रह गरे। ‘मानिसलाई पछाडीबाट डोर्‍याउन सकिँदैन। अगाडिबाट डोर्‍याउनुपर्छ,’ उनी भन्छन् ‘हामी यहाँ भएका राजनीतिक दल, नेताहरुले, सामाजिक संघसंस्थाहरूले राम्रो काम गरेर पछि मात्रै सबै डोरिएर फेरि नेपाल आउनेछन्। स्वर्ग जस्तो देशमा बस्न छोडेर विदेशमा बस्दैनन्। अझ मध्यपूर्वको त्यो डरलाग्दो गर्मीमा बस्न कसलाई पनि मन हुँदैन। सार्वजनिक र निजी क्षेत्रको सहकार्यलाई गुणात्मक ढंगले बढाएर नेपाललाई संमृद्धिको युगतिर लैजाने सबै आधारहरु निर्माण गर्न निजी क्षेत्र सम्बद्ध सबै क्षेत्रलाई तिनका नेताहरुलाई अपिल गर्न चाहन्छौँ।’

उनले ब्यवसायीहरुले पनि विगतका उत्पादनका परम्परा परिवर्तन गरे आर्थिक विकासमा लाग्नुपर्ने बताए। ‘तपाईंहरुले विगतका परम्परालाई तोडेर आर्थिक विकासको संस्कृतिमा सहकार्यको साझेदारीको संस्कार बनाउन तपाइँहरु पनि तयार हुनुस् हामी पनि वातावरण बनाउन तयार छौँ’ उनले भने।

उनले गोरखा जिल्ला नेपालको इतिहासमा, नेपालको राजनितिक परिवर्तनको इतिहासमा अग्रणी भूमीका खेलेको जिल्लाको रुपमा चिनिने भन्दै आर्थिक समृद्धिको अभियानमा पनि यसले ठुलो भूमिका खेल्नेमा विश्वास व्‍यक्त गरे। ‘गोरखालाई संसारले हेर्छ। विकास कसरी अघि जाला भनेर सबैको ध्यान गएको छ’ उनले थपे ‘अब विकास निर्माणको कामहरु, जनताको संमृद्धिको काम कसरी अघि जाला भनेर देशको पनि ध्यान छ।

दुनियाँको पनि ध्यान छ। त्यसकारण अहिले समृद्धिको अभियान नै नेपालको अभिान हो, विकास नै नेपालको अभियान हो। राजनितिक संघर्ष र परिवर्तनको एउटा अध्यायको समाप्त भएको छ। अब विकास निर्माणको सामाजिक न्यायको नयाँ अध्ययाको सुरुवात भएको छ। जसरी हिजो राजनितिक परिवर्तनको ऐजेण्डामा गोरखाले अग्रणि भूमिका खेल्यो। अब समृद्धिको नयाँ अभियानमा, समाजबाद निर्माणको नयाँ अभियानमा पनि गोरखाले अग्रणी भूमिका खेल्नेछ भन्ने विश्वास व्‍यक्त गर्दछु।’ उनले बुढी गण्डकी परियोजना, गोरखासँग जोडिएको चीनको नाका खोल्ने विषयमा पनि आफ्नो चीन भ्रमणमा छलफल भएको बताए।

‘यहाँ सम्भावना अपार छ। यहाँ जलविद्युतको दृष्टिकोणले बुढीगण्डकी आयोजना म दोस्रो पटक प्रधानमन्त्री यसलाई अगाडि बढाउने प्रयास गरेको थिएँ तर, दुर्भाग्य बीचमा त्यसै क्यान्सील भएको थियो। अहिले फेरि अगाडि बढाएका छौँ’ उनले भने ‘बूढी गण्डकी परियोजना गोरखाको लागि मात्रै होइन नेपालकै आर्थिक विकासमा एउटा गुणात्मक भूमिका खेल्छ भन्ने विश्वास हामीले लिएका छौँ।’ त्यस्तै चीन सरकारसँग छलफल गरेर गोरखाको ब्यापारिक नाका, उत्तरी नाका खोल्ने विषयमा पटक-पटक कुरा गरेको उनले बताए। ‘म भर्खरै चीनबाट फर्केँ।

त्यहाँ पनि गोरखाको ब्यापारिक नाका खोल्ने कुरा भएको छ।  तपाईंहरू सबैलाई थाहा छ हामी नेपाल र चीनलाई रेलमार्गबाट जोड्न केरुङ–काठमाडौँ, काठमाडौँबाट पोखरा, पोखराबाट लुम्बीनी लैजान भित्र पट्टि बाट काम भइरहेको छ। अध्ययन त्यही दृष्टिकोणबाट भइरहेको छ। त्यसले गोरखा जिल्लाको पनि धेरै भूभाग छ रेलवेद्धारा जोडिने त्यस्तै उत्तरी नाका खोलियो भने यता ठोरीसम्म जाने बाटोको सुनिश्चितता भयो भने यहाँको ठूलो ब्यापारको माध्यामबाट यहाँको जनताको आर्थिक विकास हुने कुरा सुनिश्चित नै छ।’ ब्यापारीकनाका सँगै रेलवे लाइन सञ्चालनमा आए यहाँको जडीबुटी निर्यात, पर्यटन विकास सबै क्षेत्रको विकास हुने बताए। 

देशलाई जति धेरै मार्गबाट जोड्यो उतिनै बिकासको बाटो खुल्ने उनको तर्क छ। ‘जति धेरै क्षेत्र बाट जोडियो उत्तिकै संमृद्धिको बाटो खुल्छ,’ उनले भने ‘रेल, सडकसँगै हवाईमार्गबाट यो सम्भव छ। पालुंटार एयरपोर्ट पर्यटन मन्त्रीसँग कुरा गरेर खुलाउने विषयमा कुरा भइरहेको छ। यो सार्वजनिक र निजी क्षेत्रको सहकार्यमा मात्रै सम्भव छ।’

अहिलेको अबसरलाई सरकार र निजी क्षेत्र कसैले पनि गुमाउन नहुने भन्दै उनले बिकासको कुन मोडलबाट जाने, निजी क्षेत्र र सरकारी क्षेत्र कसरी अघि बढ्ने विषयलाई टुंगोमा पुर्याउनुपर्ने बताए।  चीन भ्रमणको विषयमा उनले संक्षपमा भने ‘कसरी नेपाल, चीन र भारत रेलवे लाईनद्धारा जोडिने, उद्योग धन्दा कसरी चलाउने त्रिदेशीय साझेदारी कसरी गर्ने भन्ने विषयमा कुरा भएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.