‘सांसद समितिमा सांसदकै रूपमा प्रस्तुत हुनुपर्छ’

|

ललितपुर : सभामुख कृष्णबहादुर महराले संसदीय समितिमा हुने गतिविधिलाई पारदर्शी र प्रभावकारी बनाउन पहल गर्ने बताएका छन्।

संसदीय मामिला पत्रकारितासम्बन्धि संघ स्तरीय अन्तरक्रिया कार्यक्रममा सभामुख महराले संसद सरकारको पक्षधर नभएर रचनात्मक सहयोगी बन्ने बताएका छन्। उनले संसदीय समिति बैठकको निर्णय प्रक्रियामा पछिल्लो समय  भएका मन्त्रीहरूका हस्तक्षेप र पत्रकारहरूलाई समिति बैठक प्रवेशमा लगाएको निषेधका विषयमा आफूले सुधारका लागि पहल गर्ने बताए।

विकास तथा प्रविधि समितिमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले समिति सभापति कल्याणी खड्काले निर्णय तथा निर्दशन सुनाउँदै गर्ने क्रममा गरेको हस्तक्षेपबारे आफूलाई जानकारी भएको र त्यसबारेमा मन्त्रीलाई बोलाएर कुरा गर्ने बताए। सभामुख महराले भने, ‘हामी सरकारलाई रचनात्मक सहयोग गर्छौं तर सरकार होइनौँ। सरकारले गरेका नराम्रा कामहरूलाई ‘वाचडग’ का रूपमा हेर्छौँ।‘ उनले थपे, ‘संसदीय समितिहरू सरकारको इच्छाअनुसार काम गर्ने निकाय होइनन्।‘

पछिल्लो केही दिनयता संघीय संसदका समितिमा सरकारका मन्त्रीहरूले निर्णय प्रकियामा नै हस्तक्षेप गर्ने गरेका थिए। सार्वजनिक लेखा समितिले चिनीको मूल्य ६३ रुपैयाँ तोक्न भनेर माग गर्ने सांसदहरूलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सभामुखलाई चिठी लेखेर कारबाही गर्न माग गरेका थिए। उनले चिनीको मूल्य ७० रुपैयाँ प्रतिकेजी नै हुने दबाब दिँदै आएका थिए। मन्त्रीको चिठी आफूकहाँ आएको र समितिमा उठेका विषयमा समितिमै छलफल हुने जवाफ दिएको सभामुख महराले बताए।

त्यसैगरी मन्त्री बाँस्कोटाले नेपाल टेलिकमको प्रवन्ध निर्देशकलाई प्रतिस्पर्धाका आधारमा नियुक्त गर्न निर्देश गर्ने क्रममा हस्तक्षेप गरेर निर्णय नै परिवर्तन गर्न दबाब दिएका थिए। विभिन्न विषयमा छलफलका लागि समितिमा बोलाइएका अन्य मन्त्रीहरूले पनि संसदको निर्णय प्रक्रियामा नै हस्तक्षेप गर्ने गरेका छन्।

त्यसैगरी सभामुख महराले समितिका कामहरू एकअर्कासँग बाँझिने अवस्था आउन नदिइने बताएका छन्। उनले एक समितिले मन्त्रीलाई बोलाउने र सोही विषयमा अर्को समितिले पनि त्यहीँ मन्त्रीलाई बोलाउने कामको अन्त्य गर्न पहल गर्ने बताए।

मन्त्रीहरूका यी गतिविधिले सरकारले सदनलाई छायामा पार्न खोजेको हो कि भन्ने चिन्ता जायज भएको बताउँदै सभामुख महराले भने, ‘संसद छायामा पर्दैन। संसद सरकारको विरोधि होइन। संसदमा प्रतिपक्षी पनि छ।‘

सांसद समितिमा जाँदा सांसद भएर प्रस्तुत हुनुपर्छ

सभामुख महराले विषयगत समिति गठन गर्दाखेरि केही स्वार्थ रहेका सांसदहरूलाई सम्बन्धित समितिमा राखिएको भन्नेबारे आफू पनि चनाखो रहेको बताए। उनले स्वार्थ बाँझिने सांसदहरूले त्यस्तो स्वार्थ समितिमा नै देखाए ‘एक्सन’ लिइने बताए। समिति गठन गर्दा जानाजान त्यस्तो नगरिएपनि अब थाहा भयो भने कदम चाल्ने उनको भनाइ थियो।

 पत्रकारहरूलाई समितिमा बन्देज गरिनु हुन्न

संघीय संसदको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सभापति शशी श्रेष्ठको निर्देशनमा पत्रकारहरूलाई पटकपटक बैठकबाट बाहिर निकाल्ने गरिएको विषयमा सभामुख महराले उक्त कुराबारे बुझ्ने र समिति बैठकबाट पत्रकारहरूलाई बन्देज नगरिने बताए।

उनले विशेष समयमा मात्रै भएपनि सामान्य अवस्थामा पत्रकारहरूलाई निषेध गर्न नहुने बताए। ‘आम रूपमा समितिमा पत्रकारहरूलाई जान दिनुपर्छ। यसलाई कायमै राखिन्छ। पहिले पनि पत्रकारहरूलाई जाने व्यवस्था जारी छ’ सभामुख महराले भने। उनले समिति सभापतिहरू नयाँ भएको र उनीहरूलाई बोलाएर सबै विषयमा छलफल गर्ने बताए।

राज्य व्यवस्था समितिमा पत्रकारलाई निषेध गरिने व्यवस्थाबारे उनले भने, ‘विशेष स्थितिमा कर्मचारीलाई पनि बाहिर निकालेर कुरा गर्नुपर्ने अवस्था भएपनि आम स्थितिमा त्यस्तो होइन। सामान्य अवस्थामा पत्रकारहरूलाई समिति बैठकमा जान दिनुपर्छ।‘

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.