|

काठमाडौं : समय निर्मम हुन्छ। समयसँगै आउने पीडाहरू अझ निर्मम हुन्छन्। समयका यस्तै घाउहरूले छट्पटाएकाहरूले सोच्दा हुन्, पीडा पनि सबैलाई बाँडफाँट हुनुपर्ने नि! यदि त्यस्तो हुँदो हो त!

त्यस्तै पीडाका थुप्राहरू उनको जीवनमा थुप्रिँदै थिए। कान्छी छोरी जोसिला चार महिनाकी थिइन्। चार महिने सुत्केरी भएकाले उनी माइती सिन्धुलीको बितिजोर हर्कपुरमा थिइन्। कम्युनिस्ट राजनीतिमा लागेका श्रीमानलाई राजद्रोहका नाममा तत्कालीन पंचायती सरकारले घरजग्गासहित सर्वस्व हरण गरेको थियो। श्रीमानको नाममा वारेन्ट जारी थियो, 'ऋषि देवकोटा 'आजाद'को टाउको काटेर ल्याउनेलाई पाँच लाख रुपैयाँ दिइनेछ भनेर।'

यो भवितव्य भोग्ने महिला हुन्- प्रतिनिधिसभा सदस्य गोमा देवकोटा। कान्छी छोरी जन्माएर माइतीमा बस्दै आएकी गोमाका श्रीमानको हत्या भएपछि काखमा भएका चार छोराछोरीलाई हुर्काउने, पढाउने जिम्मेवारी उनी एक्लैको काँधमा आयो।

घरजग्गा केही थिएन। बस्ने घरबास थिएन। जेठो छोरा सुवास आफन्तकहाँ बसेर पढिरहेका थिए। बाँकी सबै छोराछोरी भुसको मुठा। न टेक्ने लौरी थियो, न समाउने हाँगा नै। तर पनि गोमाले जीवनसँग हारिनन्। न त आफ्नो किस्मतसँग नै हारिन्। उल्टै श्रीमानले अधुरो छाडेको कम्युनिस्ट राजनीतिको बाँकी कार्यभार सम्हाल्न भूमिगत हुने निधो गरिन्।

हिम्मत गरेर उनी राजनीतिमा लागिन्। त्यस बेला कम्युनिस्ट राजनीतिक गर्नु फलामको चिउरा चपाउनु सरह थियो। राजनीतिलाई अगाडि बढाउने क्रममा उनी २०५४ सालमा राष्ट्रियसभा सदस्य भइन् भने अहिले प्रतिनिधिसभा सदस्य छन्। अखिल नेपाल महिला संघको अध्यक्षको जिम्मेवारीमा रहेकी गोमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)की केन्द्रीय सदस्यसमेत हुन्।

गोमाले श्रीमानबिना ससाना चार छोराछोरी हुर्काउँदै जीवन कसरी अगाडि बढाइन्? अझ भूमिगत कम्युनिस्ट राजनीतिलाई अगाडि बढाउन कति सहज भयो? एकल महिलाले परिवार सम्हाल्न कति गाह्रो छ? यी यावत् कुराहरू गोमाले यसरी सम्झिइन्।

'श्रीमानको खरानी पोको पारेर लालसलाम गरेँ'

त्यतिबेला राजाको व्यवस्थाको विरोध गर्नेलाई 'अराष्ट्रिय तत्त्व' भनिन्थ्यो। गोमाका श्रीमानले कम्युनिस्ट राजनीति गरेकै कारण उनीहरूको घरबास राज्यले लुट्यो। उनका श्रीमान आजादको हत्या गरेर टाउको काटेर ल्याउनेलाई पाँच लाख रुपैयाँसम्म पुरस्कार दिने भनेर त्यतिखेरको पंचायती सरकारले घोषणा नै गर्‍यो। 'जनताको काम गर्ने, कम्युनिस्ट पार्टीमा काम गर्ने मान्छेलाई त्यस्तो भनिन्थ्यो', गोमाले विगत सम्झिइन्, 'राजाको विरोध गर्ने, पंचायती व्यवस्थाको विरोध गर्नेहरूलाई अराष्ट्रिय तत्त्व भनिन्थ्यो।'

२०३७ फागुन १२ गते आजादको हत्या भयो। घटना हुने बेला उनीहरूकी कान्छी छोरी जोसिला चार महिनाकी थिइन्। दुई छोरा र दुई छोरी गरी चार सन्तानलाई हुर्काउन आजादको हत्यापछि गोमालाई कम्ता सकस परेन। ती दिनहरू उनी सम्झन पनि चाहन्नन्।

सवारी साधनको त्यो बेला कल्पना पनि थिएन। त्यसले गर्दा त्यो बेलाको कठिनाइको व्याख्यासमेत अहिले गर्न सक्दिनन् उनी। श्रीमानको हत्या भएको खबर पाएपछि उनी काखे छोरीसहित अरू दुई छोराछोरी बोकेर भीमानतिर शव खोज्न हिँडिन्। जेठा छोरा सुवास भने भीमानमै थिए।

भीमान खोलाको शिरतर्फ बाँसखोलाको दोभानमा पुगेपछि आगो बालेर खरानी पारेको देखियो। नजिकै एउटा खाल्डो भेटियो, जहाँ रगतका फाल्साहरू थिए। ती सबै संकेतहरूले स्पष्ट पार्थे- आजादको त्यहीँ हत्या गरिएको हो। भन्छिन्, 'सायद गोली हानेपछि बगेको रगतलाई त्यो खाल्डोमा राखिएको थियो। शरीर जलाएर खरानी मात्र बाँकी थियो।'

शरीर जलाइसकिएको थियो। केही रगतका फाल्सा र खरानीबाहेक उनीहरूले त्यहाँ केही पाउन सकेनन्। त्यसपछि त्यही खरानी पोको पारेर आजादलाई गोमाले अन्तिम पटक लालसलाम गरिन्। 'मैले खरानीको धुलो हातमा उठाएर एउटा कपडामा पोको पारेँ। त्यसपछि दाहिने हात उठाएर लालसलाम गरेँ, अन्तिम बिदाइका रूपमा', गोमाले त्यो कहालीलाग्दो क्षण स्मरण गरिन्, 'मसँग छोरा र त्यहाँ भएका सबैले त्यही गरे। त्यसपछि हत्याको बदला लिने संकल्प गर्दै हामी त्यहाँबाट हिँड्यौँ।'

त्यसपछि गोमा बच्चाबच्चीसहित काठमाडौं आएर सर्वोच्च अदालतमा रिट दिइन्। त्यस बेला आजादको विषयमा ६८ जना वकिलहरूले बहस गरे। बहस गर्दा उनलाई पक्राउ गरेको हो कि होइन? पक्रेको भए जिउँदो भएमा सास उपस्थित गराउने र मारेको भए लास उपस्थित गराउने भनेर सर्वोच्चले १५ दिनको म्याद दियो।

तर राज्यले धेरै पछि मात्रै स्पष्टीकरण दिएको भन्ने उनले सुन्न पाइन्। 'हामीले पक्राउ गरेको हो। पक्राउ गरेर जनकपुर जलेश्वर जेलमा लैजाँदाखेरि भाग्न खोज्दा कम्मरमुनि गोली हानियो। त्यसपछि अचानक त्यस्तो घटना घट्यो भन्ने कुरा गरेको सुनिन्छ', गोमा भन्छिन्।

कार्यकर्ताले छोराछोरी हुर्काइदिए

श्रीमान नभएपछि चार छोराछोरी हुर्काउने, पढाउने कुनै स्रोत थिएन। यहाँसम्म कl बस्नका निम्तl एउटा छानो पनि थिएन। मानोको कुनै टुंगो थिएन। तर जनताका निम्ति काम गर्दै गर्दा ज्यान गुमाएका श्रीमानको बाँकी काम पूरा गर्न उनी पनि राजनीतिमा लाग्ने निर्णय गरिन्। त्यसो त उनी पहिले पनि पार्टीको काम गर्ने कार्यकर्ता थिइन्।

आफ्ना सन्तानसँग छुट्टिएर बस्दा कुन आमा खुसी होलान् र! तर गोमालाई बाध्यता थियो- आफ्ना चार सन्तानसँग छुट्टिन। आफूसँग राख्‍न राजनीतिले दिँदैनथ्यो, घरमै लिएर राखूँ, घरमा केही पनि थिएन।

त्यसपछि उनी भूमिगत भइन्। केही बच्चाहरू माइतीमा राखिन् भने केही बच्चाहरू कार्यकर्ताको घरमा। जनताको बीचमा काम गर्दा कार्यकर्ताको साथका कारण काममा भने सफल हुन सकेको उनको भनाइ छ। 'सजिला, अप्ठ्यारा दुवै चिज हामीले भोग्यौँ किनकि त्यो बेला हामीसँग जनता, कार्यकर्ताको साथ थियो। रातबिरात नभनेर पार्टीका काम गर्दा पनि उहाँहरूको साथले बाँच्न पाइयो', उनी भन्छिन्।

त्यस बेलाको भूमिगत राजनीतिक दु:खका पनि छुट्टै कथाहरू छन्। खुलेर केही गर्न नपाइने। सबै कुरा लुकेर गर्नुपर्ने। त्यी कुरा पनि जनताका लागि गर्न पाउनुमा नै उनी गर्व महसुस गर्थिन्। पार्टीले गोमालाई पश्चिम इलाकामा खटाएको थियो। गण्डकी क्षेत्रमा आठ वर्ष र धौलागिरी क्षेत्रमा दुई वर्ष गरी १० वर्ष भूमिगत जीवन उनले पश्चिम क्षेत्रमै बिताइन्। उनी सम्झिन्छिन् ती दिनहरू, 'पंचायतकालमा एउटा कार्यक्रम गर्न पनि रातभर हिँडेर उज्यालो नहुँदै सेल्टरमा पुग्नुपर्थ्यो। दिनभर भित्रै बसेर रातमा कार्यक्रम सकेर हिँड्नुपर्थ्यो।'

छोराछोरी भेटेर रुँदै फर्कन्थे

आमा सृष्टिको सुन्दर रचना हो। आफ्ना सन्तानसँग छुट्टिएर बस्दा कुन आमा खुसी होलान् र! तर गोमालाई बाध्यता थियो- आफ्ना चार सन्तानसँग छुट्टिन। आफूसँग राख्‍न राजनीतिले दिँदैनथ्यो, घरमै लिएर राखूँ, घरमा केही पनि थिएन।

उनी शहीद पत्नी थिइन्। उनी पार्टी काममा जाने भएपछि पार्टीले सन्तानहरूको जिम्मा लिने भयो तर एकै ठाउँमा नभएर विभिन्न जिल्लामा। कोही पर्वत, कोही काभ्रे, कोही सिन्धुपाल्चोकमा त कोही कास्की जिल्लामा थिए बच्चाहरू। पार्टीले कार्यकर्तालाई जिम्मा लगाएको थियो। मुस्किलले छ महिनामा एकचोटि त कहिले वर्षमा एकचोटि मात्र उनी आफ्ना सन्तानलाई गला लगाउन पाउँथिन्। 'मैले एक ठाउँमा पार्टीको काम गरेँ तर बच्चाहरू विभिन्न जिल्लामा कार्यकर्ता साथीहरूको घरमा बसे। बेलाबेलामा मात्र भेट्न पाउँथेँ', उनले भनिन्।

शहीद आजादका छोराछोरी भनेर पार्टीले जिम्मा लगाएको थियो। ती ठाउँहरूमा कहिले राम्रो भयो, नराम्रो पनि भयो होला तर त्यो उनीहरूको बाध्यता थियो। 'उनीहरूलाई कठिनाइ पनि भयो होला, दु:ख पनि भयो होला, अपहेलना पनि भयो होला', गोमा भन्छिन्, 'त्यति हुँदाहुँदै पनि जुन साथीहरूले मेरा सन्तान राखेर पढाइदिनुभयो, उहाँहरूले पार्टीले दिएको जिम्मेवारी पूरा गरिदिनुभयो।'

छोराछोरी भेट्न जाँदा दु:ख पाएका पनि हुन्थे किनभने कार्यकर्तासँग सबै कुरा पुर्‍याउन सक्ने अवस्था पनि थिएन। आफ्ना सन्तानले दु:ख पाएको देख्दा उनको मन कुँडिएर आउँथ्यो। मन धरधरी रोइरहेको हुन्थ्यो। तर पार्टीको जिम्मेवारीका कारण उनी मन अमिलो बनाएर भए पनि कार्यक्षेत्रमा फर्कन्थिन्। कतै लुगा हुँदैनथ्यो, कतै खाना हुँदैनथ्यो। छोराछोरीको त्यस्तो अवस्था देख्दा उनलाई निकै पीर हुन्थ्यो। उनी भन्छिन्, 'पीडाले रुन मन लाग्थ्यो तर मन दुखाएर पनि आफ्नो काममा फर्कन्थेँ। त्यस्तो देखेपछि पार्टीमा खबर गर्थें।'

'२०४६ पछि सिन्धुली टेकेँ'

२०४६ सालको जनआन्दोलन सफल भयो। त्यसबेला गोमा पर्वत जिल्लामा कार्यरत थिइन्। आन्दोलनपछि राजनीतिक दलहरू खुला भए। त्यसपछि उनी सिन्धुली फर्किइन् र विभिन्न जिल्लामा भएका आफ्ना चार सन्तान लिएर सानो घर बनाएर बसिन्।

उनका चार सन्तानमध्ये जेठो सुवास हुन्, सरोज कान्छा छोरा र जेठी छोरी कल्पना, कान्छी छोरी जोसिला हुन्। यीमध्ये सुवास पत्रकार छन् भने कान्छा छोरा अहिले घरमै छन्। दुई छोरी भने अमेरिकामा बस्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.