|

प्युठान : प्युठानमा दुई नगरपालिका र सात गाउँपालिका छन्। यी नौ वटै स्थानीय तहका आफ्नै भवन छैन। जनप्रतिनिधिले स्थानीय सरकार संचालन गरेको १६ महिना बितिसक्दा पनि भाडा कै घरमा बस्न बाध्य छन्।
 

गाउँपालिका तथा नगरपालिकाका केन्द्रमा रहेका कार्यालयहरु एक वा एकभन्दा बढी घर भाडामा लिएर ठूलो मात्रामा घरभाडा तिरिरहेका छन्। गाउँका सिंहदरबार भनिने स्थानीय तहहरुले घरभाडामा वार्षिक ४१ लाख ७१ हजार २०० रुपैयाँ खर्च गरिरहेका छन्।

जिल्लाका दुई नगरपालिकामध्ये प्युठान नगरपालिकाले कार्यालय भवन निर्माण सम्पन्न गरेको छ। कात्तिक पहिलो सातासम्म आफ्नै भवनमा कार्यालय सञ्चालन गर्ने नगर उपप्रमुख शान्ता आचार्यले बताइन्। यस नगरपालिकाले कार्यालय संचालनका लागि मासिक ७५ हजार रुपैयाँ घरभाडा तिर्दै आएको थियो।

स्वर्गद्वारी नगरपालिकाको कार्यालय भाडाका लागि मासिक ६० हजार रुपैयाँ खर्च गर्दै आएको छ। यस नगरपालिकाले भवन निर्माणका लागि डिपिआर तयार गरेको नगरप्रमुख नेत्रबहादुर रोकायले बताए। ‘स्थानीय सहयोगदाताहरुबाट नगरपालिकाको भवन निर्माणको लागि १० रोपनी जग्गा प्राप्त भएको छ,’ उनले भने, ‘विस्तृत परियोजना रिर्पोट तयार हुँदैछ, तीव्र गतिमा भवन निर्माण हुनेछ।’

जिल्लाका सबै गाउँपालिकाका कार्यालय भाडाका घरमा सञ्चालन हुँदै आएको छ। सरुमारानी, नौबहिनी, गौमुखी, ऐरावती, झिमरुक, मल्लरानी र माण्डवी गाउँपालिका आफ्नो कार्यालय भवन छैन। गाउँपालिकाको केन्द्र कहाँ रहने भन्ने विषय पनि टुंगिन बाँकी नै छ। त्यसैले गाउँपालिका कार्यालय भवन कहाँ निर्माण गर्ने भन्ने अझै नटुंगिएको जनप्रतिनिधिहरुको भनाइ छ।

मण्डवी मासिक २२ हजार ५००, सरुमारानीले ३४ हजार, मल्लरानीले ३८ हजार, ऐरावतीले २४ हजार, झिमरुकले २५ हजार, नौबहिनीले ४० हजार र गौमुखी गाउँपालिकाले २९ हजार १०० रुपैयाँ भाडा कार्यालय संचालनबापत तिर्दै आएका छन्।

वडा कार्यालय पनि भाडामा 

प्युठानका नौ स्थानीय तहका ६४ वडा छन्। ती वडामध्ये अधिकांश भाडाको घरमा संचालनमा छन्।  नौबहिनी गाउँपालिका वडा नंं ७ का वडाध्यक्ष डिलमान रानाले मासिक दुई हजार रुपैयाँ भाडमा वडा कार्यालय सञ्चालन गर्दै आएको जानकारी दिए। तत्कालीन गाउँ विकास समिति टुक्रिएर फरकफरक वडा भएकाले वडा कार्यालय भाडामा सञ्चालन गर्नु परेको वडाध्यक्षहरु बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.