|

काठमाडौं : २०औं संस्करणको इमेज अवार्ड शनिबार सम्पन्न भएको छ। काठमाडौंको होटल सोल्टीमा आयोजित समारोहमा वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरियो।

त्यसैगरी, ऊर्जाको क्षेत्रमा अतुलनीय योगदान दिएर नेपाललाई लोडसेडिङबाट मुक्त गराउन अहं भूमिका खेलेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘बेस्ट पर्सनालिटी अफ दी इयर’ प्रदान गरियो।

कार्यक्रममा २०७४ साल असार १ गतेदेखि २०७५ साल जेठ मसान्तसम्म सार्वजनिक भई दर्ता भएका नेपाली गीतका एल्बम, म्यूजिक भिडियो एवं सिंगल ट्रयाकहरूमध्येबाट १८ओटा विधामा स्रस्टाहरुलाई पुरस्कार प्रदान गरियो। उत्कृष्ट गीत रचनातर्फको अवार्ड ‘यो ऐना भनाउँदो...’ गीतका रचनाकार आनन्द अधिकारीले हात पारे।

सर्वोत्कृष्ट समूह वा युगल गायन अवार्ड ‘हावा घरैमा...’ गीतका लागि पूजन लोहागन र अनुपमा प्रधानलाई प्रदान गरियो। त्यसैगरी, रेडबुल सर्वोत्कृष्ट नवकलाकार अवार्ड ‘छामी हेर न’ बोलको गीतका गायक सुवासचन्द्र जोशी र सर्वोत्कृष्ट संगीततर्फ ‘जाउँला रेलैमा...’ गीतका संगीतकार कमल खत्रीले अवार्ड प्राप्त गर्न सफल भए। सर्वोत्कृष्ट गीतको अवार्ड कमल खत्रीको ‘जाउँला रेलैमा...’ले पाउन सफल भयो।

‘नौलाई शून्य नब्बे’ गीतका रूपकुमार राई र मेनुका राई सर्वोत्कृष्ट गायन दोहोरी गीततर्फको अवार्ड पाउन सफल भए। सर्वोत्कृष्ट गायन लोकगीततर्फ ‘दुई रुपैयाँको बिँडी’ गीतकी गायिका सीता थापालाई अवार्ड दिइयो। सर्वोत्कृष्ट लोकगीत संकलकको अवार्ड ‘बोल माया’ गीतका संकलक प्रकाश सपुतलाई प्रदान गरियो। यसैगरी, सर्वोत्कृष्ट दोहोरी गीतको अवार्ड पशुपति शर्मा र सम्झना भण्डारीको स्वरमा रहेको ‘छिनछिन बज्ने चुरा’ले हात पार्‍यो।

सर्वोत्कृष्ट म्युजिक भिडियो छायाकारतर्फ ‘तिमीलाई छुँदै’ गीतका बुद्ध थापा र सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादकमा सोही गीतका विकास धमलाले अवार्ड पाए। सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकमा ‘डोन्ट किल मी’का निशान घिमिरे घोषित भए। यस्तै, सर्वोत्कृष्ट म्यूजिक भिडियो विधामा दीपक बज्राचार्यको ‘मन मगन’लाई दिइयो।

सर्वोत्कृष्ट गायन पुरुषतर्फको अवार्ड ‘जाऊ तिमी...’ गीतका कर्मा ग्याल्जेन बोमजन र सर्वोत्कृष्ट गायन महिलातर्फको अवार्ड ‘वन फूल’ गीतकी गायिका दुर्गा परियारलाई प्रदान गरियो। त्यसैगरी, सर्वोत्कृष्ट पप गायन महिलातर्फको अवार्ड ‘मनचरी’ गीतकी गायिका श्रेया सोताङ र सर्वोत्कृष्ट पप गायन पुरुषतर्फको अवार्ड दीपक बज्राचार्यको पोल्टामा पर्‍यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.