|

पोखरा : विभिन्न ट्राभल कम्पनी मार्फत हेलिकोप्टर सञ्चालकहरुले सगरमाथालगायत क्षेत्रमा 'फेक रेस्क्यु' उडान गरिरहेको बेला पोखरामा पनि हेलिकोप्टर कम्पनीहरूले यसको अनुकरण गर्न थालेका छन्। 

अन्नपूर्ण पदमार्ग विश्वमै चर्चित रहेको र यसलाई पदमार्गकै रूपमा नै राखिरहनुपर्ने भन्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाले गरेको निर्णयविपरीत हेली कम्पनीहरूले रेस्क्यू भन्दै व्यावसायिक उडान गरेका हुन्। अन्नपूर्ण गाउँकार्यपालिकाको बैठकले उद्धारको काममा बाहेक अन्नपूर्ण क्षेत्रमा हेलिकोप्टर 'ल्याण्ड' गर्न नदिने निर्णय गरेको थियो। 

गाउँपालिकाले गरेको निर्णयलाई बेवास्ता गर्दै हेलीकम्पनीहरुले गत शुक्रबार देखि रेस्क्यु भन्दै धमाधम व्यावसायिक उडान गरेका छन्। फेक रेस्क्यु भएको पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाईँले स्वीकार गरे। ‘रेस्क्यु भन्दै हेलिकोप्टरहरु 'फुल सिट' मान्छे बोकेर उडिरहेका छन्’, उनले भने, ‘यसरी उडेका हेलिकोप्टरलाई केही गर्न सकिन्न। अर्काे कुरा अन्नपूर्ण गाउँपालिकाले हेलिकोप्टर त्यहाँ ल्याण्ड गर्न नदिने विषयमा हामीलाई आधिकारिक जानकारी गराएको छैन।’ पोखरा विमानस्थल स्रोतका अनुसार पोखराबाट अन्नपूर्ण क्षेत्रमा सिम्रिक, प्रभु हेली कम्पनीले रेस्क्युको नाममा व्यवसायिक उडान गरेका हुन्। ती हेलिकोप्टरले अहिले रेस्क्युको नाममा दैनिक झण्डै दर्जन उडान भरिरहेका छन्। 

यता गाउँपालिका प्रमुख युवराज कुँवर भने स्थानीयको रोजीरोटी नै खोस्नेगरी हेलिकोप्टर उडान हुन थाले पनि त्यसको प्रतिवाद गरेरै छोड्ने बताउँछन्। ‘यहाँका जनताको रोजीरोटी, व्यवसाय जे भने पनि पर्यटन नै हो,’ कुँवरले भने ‘जनतालाई ढाड सेक्नेगरी भएको उडानविरुद्ध गाउँपालिकाले प्रतिवाद गर्छ। गाउँले आफैँले गरेको निर्णयलाई कसैले चाहेर पनि लत्याएर जान सक्दैन।’

यस अघि यहाँका पर्यटन व्यवसायीहरुले पनि अन्नपूर्ण आधार शिविरमा सिधै हेलिकोप्टर ल्याण्ड हुँदा विश्वमै चर्चित एबीसी पदमार्गको औचित्य समाप्त हुने भन्दै गुनासो गर्दै आइरहेका छन्। ‘अन्नपूर्ण क्षेत्र पैदलमार्गबाट एक हप्ता लाग्छ, विदेशीहरू पनि त्यही मानसिकताले यहाँ आउँछन्,’ टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले भने ‘विदेशीहरु यहाँ आउँदा लाखौँ खर्च गर्ने हिसाबले आउँछन्, हेलिकोप्टरहरूले आधाघण्टामै बेसक्याम्प पुर्‍याइदिनाले नेपालमा रहने विदेशीको पैसा समेत विदेशमै जाने गरेको छ।’

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पनि हेलिकोप्टरवालाले अवैध उडान गरेपछि विज्ञप्ति नै जारी गरी विरोध गरेको छ। अन्नपूर्ण क्षेत्र प्रवेश गर्ने पर्यटकले अनुमतिसँगै प्रवेश शुल्क तिर्नुपर्ने भए पनि हेलिकोप्टरमा जाने भएपछि सो शुल्क समेत पर्यटकले तिर्दैनन्। हेलिकोप्टर उडानले त्यहाँको वातावरणीय पर्यावरण जोखिममा पर्ने, जीवजन्तुहरू भाग्ने समस्या देखिन थालेको गाउँपालिका प्रमुख कुँवरको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.