स्थानीय तहमा एकीकरणको अनुभूति नै छैन

|

धनकुटा : नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता घोषणा भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको लामो समय बितिसकेको छ। एकीकरणको लामो समय बितिसक्दा पनि स्थानीय तहमा अझैसम्म दुईवटा फरक पार्टी जसरी नै संगठन चलिरहेका छन्। दुई पार्टी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण अभियान अझै पनि स्थानीय तहसम्म पुग्न सकेको छैन। प्रदेशमा एकता प्रक्रिया सकिए पनि जिल्ला तहमा एकीकरणको प्रक्रिया निरन्तर जारी छ। तर, स्थानीय तहमा एकीकरण पुग्न सकेको छैन।

नेकपाले प्रदेश १ मा जिल्ला तहभन्दा तल्ला समितिको एकीकरण प्रक्रिया अगाडि बढी सकेको जनाएको छ। प्रदेश समितिले जिल्ला समिति, गाउँ तथा नगर समिति, वडा समितिको एकीकरण गर्न गृहकार्य थालेको जनाएको छ। पार्टीको विधान, नियमावली र पार्टीको निर्देशनबमोजिम तल्ला समितिको एकीकरणका लागि प्रक्रिया सुरु भएको प्रदेश १ इन्चार्ज भीम आचार्यले जानकारी दिए। उनले जिल्ला समितिको एकीकरण दशैंअघि नै टुङ्गो लगाउने गृहकार्य भइरहेको जानकारी दिए।

सोहीबमोजिम नेकपाले प्रदेश १ मा जिल्ला तथा मातहतसम्म पार्टी एकता अभियान तीव्र पारेको जनाएको हो। नेकपा प्रदेश १ ले आगामी २४ गतेभित्र कार्यसम्पादन गर्ने गरी जिल्लागत रुपमा पार्टी एकता सिफारिश कार्यदलसमेत गठन गरेको छ। प्रदेश कमिटीले प्रदेशका १४ वटै जिल्लामा पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका चार/चार जना रहेको कार्यदल गठन गरेको छ। प्रदेशले जिल्ला मातहतका पूर्व दुवै पार्टीका पार्टी कार्यालय एवं भौतिक सम्पत्तिको अभिलेख तयार गरी मातहतका कार्यालय व्यवस्थापनको योजना सहित प्रदेश कमिटीमा प्रस्ताव गर्ने, पूर्व दुवै पार्टीका अलगअलग रूपमा रहेका पार्टी सदस्यता अभिलेखलाई एकीकृत रुपमा व्यवस्थित गर्ने, जनवर्गीय संगठनको नेतृत्व चयन गर्ने, स्थानीय तहको नेतृत्व चयन गर्ने लगायत काम गरि एकीकृत प्रतिवेदनलाई प्रदेश कमिटीमा सिफारिश गर्न कार्यदल गठन गरिएको नेकपाका प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले जानकारी दिए।

संख्या टुंगियो नाम टुंगिएन

पार्टी केन्द्रीय सचिवालयको गत असोज ६ गते बसेको बैठकले प्रदेश इन्चार्ज, सह–इन्चार्ज तथा प्रदेश समिति अध्यक्ष र सचिवको टुङ्गो लगाएपनि जिल्ला तह देखि तल्लो तहमा पार्टी एकता पुगेको छैन। प्रदेश १ मा भीम आचार्यले इन्चार्ज, सावित्री कुमार काफ्ले ‘समर’ले सहइन्चार्ज, देवराज घिमिरेले अध्यक्ष र सुरेश कुमार राई ‘हिमाल’ले सचिवको जिम्मेवारी पाएर प्रदेश १ को पार्टी एकीकरणको व्यवस्थापन मिलाउने जिम्मा पाएको छ।

तर अझैसम्म प्रदेश स्तर मै कमिटी गठन हुन सकेको छैन। प्रदेश कमिटीको विषयमा भने भागबण्डा मिलिसकेको छ। पूर्व एमालेले १ सय २२ र पूर्व-माओवादी केन्द्रले ८५ सदस्य पाउने गरी प्रदेश कमिटी बन्न लागेको हो। जसको लागि पार्टीको स्थायी समितिले अनुमोदन गर्नुपर्ने हुन्छ। जुन हालसम्म नेतृत्व चयन भएपनि सदस्य को को भन्ने टुंगिएको छैन।

जिल्लामा नेतृत्व चयन अझै सकस

यसअघि नेकपाले हरेक जिल्लामा एउटा-एउटा कार्यदल गठन गरेको थियो। जसले जिल्ला कमिटी गठनको लागि नामावली सहितको सुझाव प्रदेश कार्यदलमा सिफारिस गरिसकेको छ। प्रदेश १ का १४ वटै जिल्लाबाट प्रदेश कार्यदलमा नामावली सिफारिस भइसकेको छ। सबै जिल्ला कार्यदलले पदाधिकारीका आकांक्षी र सदस्यको नामावली सिफारिश गरेको प्रदेश इन्चार्ज आचार्यले बताए।

भागबण्डा नमिलेका कारण अझैसम्म जिल्ला कमिटी नेतृत्व कसले पाउने भन्ने अन्यौल छ। प्रदेश १ का १४ मध्ये ९ जिल्लामा पूर्व एमाले र ५ जिल्लामा पूर्व माओवादी केन्द्रले नेतृत्व पाउनुपर्ने अडान पूर्व एमालेले राखेको छ। तर, पूर्व-माओवादी केन्द्रले बराबरीको अडान राखेको छ। सो भागबण्डा मिलाउने जिम्मेवारी प्रदेश समितिले पाएको छ।

जिल्ला कार्यदलले प्रदेश कार्यदललाई पठाएको सुझावसहितको नामावलीमा अनुमोदन गर्न सक्ने र त्यसो नभए प्रदेश कमिटीले स्थायी समितिमा सिफारिस गर्न सक्ने बताइएको छ। हाल पार्टी एकीकरणमा को अध्यक्ष बन्छ र कसले नेतृत्व पाउँछ भन्ने भन्दा पनि पूर्व-दुईवटा पार्टीबीचको भागबण्डा मुख्य विषय रहेको नेकपा स्रोतले जनाएको छ। प्रदेश कमिटी गठनमा ढिलाइ भइरहेको अवस्थामा जिल्ला तहका कमिटी पनि बन्न सकेका छैनन।

जिल्ला तहमा नेतृत्व छनोट हुन नसक्दा क्षेत्र, नगर र वडास्तरका कमिटी बन्न ढिलाइ भइरहेको छ। नेकपामा बाहिर हल्ला भएजस्तो विवाद नभएर जिम्मेवारी लिनका लागि आकांक्षी धेरै देखिएको बताउँदै नेकपा प्रदेश १ का अध्यक्ष घिमिरेले विधि र प्रक्रियाबाटै उठेका विषयलाई टुंग्याइने बताए। उनले एकता प्रक्रियाले नेपालको कम्युनिष्ट आन्दोलन बल्ल मूल धारमा पुगेकाले ऐतिहासिक जिम्मेवारी पूरा सबै कटिबद्ध भएर लाग्नुपर्ने बताए।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गत जेठ ३ गते मदन–जीवराज स्मृति दिवसका दिन एकता भएसँगै तल्ला तहको एकता तीन महिनाभित्र गरिसक्ने बताइएको थियो। पहिलो पटक भदौ ५ गतेभित्र पार्टी एकता गर्ने भनिए पनि कसैले पनि प्रतिवेदन नबुझाएपछि भदौ मसान्तका लागि म्याद थपिएको थियो तर भदौ मसान्तमा पनि नेतृत्वमा विवाद आएपछि एकता प्रक्रिया असोजसम्म सारिएको छ।

दुई बामपन्थी पार्टीबीच एकीकरण भएर बनेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को प्रदेश १ मा एकता प्रक्रियालाई दशैं अगाडि अन्तिम रुप दिने भनिएता पनि अहिलेको गतिमा काम हुँदा दशैं अगाडिको संभावना टर्दै गएको नेकपाका एक नेताले बताए। प्रदेशका अधिकांश जिल्लामा एकताको खाका तयार भएता पनि नेतृत्व चयनमा समस्या हुँदै आएको छ। नेकपाले प्रदेश १ मा एकता प्रक्रिया अन्तिम चरणमा पुगेको दावी गर्दै आएको छ।

जनवर्गीय संगठनको एकताका लागि प्रदेशमा कार्यदल बनेनन्

प्रदेश १ मा जनवर्गीय सङ्गठनको एकताको लागि कार्यदल बनेको छैन। एकीकरणको लामो समय बितिसक्दा पनि प्रदेश १ मा र मातहतका जिल्लमा अझैसम्म दुईवटा फरक जनवर्गीय सङ्गठन चलिरहेका छन। मुख्य जनवर्गीय सङ्गठन युवा, विद्यार्थी, महिला र पत्रकारमा कार्यदल नबन्दा छलफल हुन सकेको छैन। भदौ मसान्तभित्र प्रदेश र जिल्लामा  जनवर्गीय सङ्गठनको एकता प्रक्रिया टुंग्याउने भने पनि असोज वित्न लाग्दा पनि प्रदेशमा कार्यदल समेत नबन्दा छलफलसम्म हुन सकेको छैन।

पार्टीमा जस्तै जनवर्गीय सङ्गठनको नेतृत्वमा सहमति सजिलै हुने सक्ने अवस्था छैन। धेरै जनवर्गीय सङ्गठनको नेतृत्वमा दुवै पक्षले आधिकारीक रुपमा नभएपनि दाबी गरिरहेका छन। कतिपय संगठनको एकताका लागि केन्द्रिय कार्यदलले संगठनको नाममा सहमति गरे पनि कतिपय संगठनले नाम पनि टुङ्गो लगाउन सकेका छैनन।

प्रदेश १ का १४ जिल्लामा नेकपाको एकता सकस 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.