|

 त्रिपुराकोट(डोल्पा) : हिमाली जिल्ला डोल्पालाई राष्ट्रिय सडकसञ्जालमा जोड्ने सडकको रुपमा निर्माण भएको जाजरकोट-डोल्पा सडकखन्डको स्थलगत अनुगमन गरिएको छ। अनुगमनका लागि सेनाको हेलिकोप्टरबाट डोल्पा पुगेका महालेखा परीक्षकको कार्यालयका प्रमुख दामोदर पुडाशैनी, रक्षामन्त्रीको नीजि सचिवालयबाट प्रभात विक्रम कटुवाल, रक्षा मन्त्रालयक सहसचिव तुलसीराम सेडाई, अर्थ मन्त्रालयका उपसचिव तीर्थराज सिलवाल, भौतिक पूर्वधार तथा तायायात मन्त्रालयबाट सहसचिव राजेन्द्र शर्मा , सहसचिव हरी बस्याल ,सडक विभागका सहसचिव मुक्ती गौतम, सहसचिव अर्जुनजंग थापा, नेपाली सेनाका विकास निर्माण निर्देशनायल निर्देशक सहायकरथी रामधर सिंह सहितको टोलीले सामूहिक अनुगमन गरेको हो।

११७ दशमलव ७ किमि लम्बाई भएको जाजरकोट डोल्पा सडकखन्डको एकसाता अगाडि मात्रै अन्तिम भीरको रुपमा निर्माण कार्य भईरहेको तरपरे भिर छिचोलेर पुर्ण रुपमा ट्रयाक खुलाईएको थियो। अनुगमन टोलीले जाजरकोट-डोल्पा सडकखन्ड अन्तर्गतको खदाङ त्रिपुराकोट खन्डको चिप्लेभीरमा हेलिकप्टर अवतरण गरेर सडकको स्थलगत अनुगमन गरेको जाजरकोट डोल्पा सडक निर्माण कार्यदल प्रमुख कर्णेल बिश्वबन्धु पहाडिले जानकारी दिए। थुप्रै भौगोलिक कठिनाईका बाबजुत पनि आँखा घुमाउने भीर खोपेर चौँडा गाडी गुड्ने सडक निर्माण गरेको भन्दै अनुगमन टोलीले सेनाको प्रशंसासमेत गरेको थियो।

डोल्पा जोड्ने सडकको पूर्ण रुपमा ट्रयाक खुलिसकेकाले जिरो पोईन्टको रुपमा रहेको जाजरकोटको पासगाडदेखि डोल्पाको दुनैसम्म सिधा यातायात सञ्चालनमा ल्याउन सडकको बिचबिचमा पर्ने खोलाहरुमा पक्की पुल निर्माणमा जोड दिईने अनुगमन टोलीले जनाएको छ। त्रिपुरा सुन्दरी नगरपालिकाअन्तर्गत वडा नं ५ मा पर्ने खदाङसम्मको ८७ किमि सडक निर्माणकार्य सम्पन्न भएर जीप,ट्रयाकटर लगायतका यातायात संञ्चालनमा ल्याईसकिएको पहाडीले बताए। तिहारभित्रै जाजरकोट डोल्पा सडकको औपचारिक उद्घाटन गर्ने तयारी भईरहेको सेनाले जनाएको छ।

जम्भो अनुगमन टोलीले कर्णाली करिडोर, फुलालु-लैभु सडकखण्ड सिमीकोटको पनि आइतबारै अनुगमन गर्ने कार्यक्रम रहेको बताइएको छ। उक्त टोलीले नेपालकै गहिरो शे फोक्सुन्डो तालको आकाशबाटै अवलोकन गर्नुका साथै सदरमुकाम दुनैमा सुरक्षा प्रमुखहरुसँग भेटघाट समेत गरिएको बताईएको छ। त्यसैगरि अनुगमन टोलीले त्रिपुरा सुन्दरी नगरपालिका १ मा रहेको प्रशिद्द शक्तिपिठ त्रिपुरा सुन्दरी मन्दिरमा सामुहिक पुजापाठ समेत गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.