|

बैतडी : देश संघीय संरचनामा गएर स्थानीय तहमा जनप्रतिनिधि आएको १ वर्ष बढी भइसकेको छ तर बैतडीका स्थानीय तहहरुले अझै पनि आफ्नो भवना निर्माण गर्न सकेका छैनन्।  धेरैजसो स्थानीय तहमा भौतिक संरचनाको अभावमा काम सञ्चालन गर्न अप्ठ्यारो भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका बाहेक अरु स्थानीय तहसंग आफ्ना भवन छैन्। सिगास र शिवनाथ गाउँपालिकाको भवन निर्माण भएसँगै तीनओटा स्थानीय तहसंग आफ्नै भवन भएका छन्। जिल्लाका सातओटा स्थानीय तह अझै पनि भाडाका भवनमा कार्यालय सञ्चालन गरिरहेका छन्।

नगरपालिकाहरुकै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको जनप्रतिनिधिहरुले बताएका छन्। जिल्लाको मेलौली, पुर्चौडी र पाटन नगरपालिका भवनको अभाव छ भने गाउँपालिकाहरुमा पनि भवनको अभाव रहेको छ। भवनको अभावमा नगरपालिका भित्र शाखाहरु नै स्थापना गर्न नसकिएको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए। यस्तै मेलौली नगरपालिकामा पनि भवनको अभाव रहेको छ। भवनको अभाव हुँदा भवन भाडामा लिएर काम सञ्चालन गर्ने तयारी भइरहेको नगर प्रमुख कृष्णसिंह नायकले जानकारी दिए। मेलौलीमा विद्युत्, सञ्चारको समेत समस्या रहेको छ। विद्युत नहुँदा धेरै समस्या भएको स्थानीय नागरिकले बताएका छन्।

 यस्तै पुर्चौडी नगरपालिकामा पनि भवनको अभाव छ भने त्यहाँ पनि विद्युत र सञ्चारको समस्या रहेको छ। यस्तै गाउँपालिकाहरुमा पनि भवनको अभाव नै रहेको छ। विकास न्यूनतम पूर्वाधार समेत नहुँदा स्थानीय तहले प्रदान गर्ने सेवामा कठीनाइ भइरहेको जनप्रतिनिधिले बताएका छन्। डिलाशैनी गाउँपालिकामा भवन अभाव तथा अन्य विविध कारणले स्थानीय तहको केन्द्रभन्दा बाहिर रुद्रेश्वरमा सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गरिरेहेको छ।  दोगडाकोदार गाउँपालिकासंग पनि आफ्नो भवन नरहेको जनाएको छ। अधिकांश स्थानीय तहमा भवनकै समस्या छ भने धेरै ठाउँमा विद्युत र सञ्चारको समेत समस्या रहेको छ।बैतडीमा ४ नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तहहरु रहेका छन्। 

तीन स्थानीय तह आफ्नै भवनमा

संघिय संरचना अनुसार बनेका बैतडीका दुई स्थानीय तहले गत आर्थिक बर्ष आफ्नै भवन निर्माण गरेका छन्। जिल्लाको शिवनाथ गाउँपालिका र सिगास गाउँपालिकाले आफ्नै भवन निर्माण गरेका हुन्।

सिगास गाउँपालिकाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने शिवनाथ गाउँपालिकाले नयाँ भवनबाट सेवा दिन शुरु गरिसकेको छ। ४० लाखको लागतमा दुईकोठा र एक सभाहल सहितको भवन निर्माण गरिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए। गाउँपालिकाको वडा नं ६ सुल्लेखानमा भवन निर्माण गरिएको हो उनले भने’ गाउँपालिकाको भवन निर्माण भएपछि कार्यालय सञ्चालनमा सजिलो भएको छ’ गाउँपालिकाको केन्द्र तोकिएको ठाउँ सुल्लेखानमा कुनै पनि सरकारी भवन नहुँदा गाउँपालिकाको गत बर्षको गाउँसभाले भवन निर्माण गर्ने निर्णय गरेको थियो।

यस्तै सिगास गाउँपालिकाको केन्द्र तोकिएको ठाउँ गर्जेमा पनि कुनै सरकारी भवन नहुँदा गाउँपालिकाको गत आर्थिक बर्षको सभाले भवन निर्माणको निर्णय गरेको गाउँपालिका उपाध्यक्ष द्रोपती चन्दले बताईन्। उनले भनिन् ‘गाउँपालिकाको १० कोठे भवन ९९ लाखको लागतमा निर्माण भईरहेको छ’ भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको र केही दिनमै कार्यालय नयाँ भवनमा सर्ने सिगास गाउँपालिकाले जनाएको छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.