विचार

चिन नेपाली हो, आफैँलाई चिन
SHARES

असोज २२, २०७५

    अहिलेको राजनीतिमा आफूलाई, आफ्नो देश र जनता, आफ्नो इतिहास, आफ्नो संस्कृति चिनेर म राजनीति गर्दै छु भन्न सक्ने कति नेपाली राजनेता छन्, म भन्न सक्दिनँ। पहिले मैले राजनीतिमा पाइला चाल्दा ठूलाबडाले भन्थे- 'राजनीति गर्ने मान्छेमा अर्थशास्त्रको राम्रो ज्ञान हुनुपर्छ तर राजनीति गर्नेहरूसँग आफू र आफ्नो देश र आफ्ना देशवासीहरूको चिनारी हुनुपर्छ भन्ने मैले कहिल्यै सुनिनँ।'

    त्यसैले हाम्रो थालनी नै गलत भयो। राजनीति गर्नेले सबैभन्दा पहिले नेपाल चिन्नुपर्छ। नेपालको इतिहास चिन्नुपर्छ। नेपालीहरूको औसत अवस्था थाहा पाउनुपर्छ। विदेशका अनुभवनहरू हाम्रा सन्दर्भ सामग्री हुन सक्छन् तर ती हाम्रा पाठ्यसामग्री हुन सक्दैनन्। हाम्रो आफ्नै वर्ग विश्लेषण हुनुपर्छ। प्रजातन्त्रको हाम्रो आफ्नै परिभाषा हुनुपर्छ। नेपाली वामपन्थीका लागि माओत्से तुङको नौलो जनवाद र दक्षिणपन्थीहरूका लागि अब्राहम लिंकनको- जनताद्वारा, जनताका लागि ... भन्ने मान्यता सन्दर्भ सामग्री हुन सक्छन् तर ती नेपालका राजनीतिक पार्टीका लागि मार्गनिर्देशक हुँदैनन्। यी सिद्धान्त प्रजातन्त्रका दुई दशकमै खण्डित भइसकेका छन्। २० वर्षमा नेपालीले तीन तन्त्रका नाम सुने- राजतन्त्र, संवैधानिक राजतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्र।

    नेपालमा सबैभन्दा ठूला नेता मदन भण्डारी भए। मैले मदन भण्डारीको गीत त्यसै गाएको होइन। उनले नेपालका अरू कुनै कम्युनिस्ट वा समाजवादी नेताले गर्न नसकेको काम गरे। मदन भण्डारीअघिसम्म नेपाली कम्युनिस्टको परिचय कर्मकाण्डी मार्क्सवाद–लेनिनवाद–माओ विचारधारा अथवा माओवाद थियो। यही अन्योलको बीचमा ०४६ सालको आन्दोलनमा उनले नेपाली कांग्रेससँग सहकार्यको प्रस्ताव राखे। नेपाली कम्युनिस्टका लागि यो कुनै नयाँ प्रस्ताव थिएन। उहिल्यै पुष्पलालले संयुक्त जनआन्दोलनको प्रस्ताव राख्नुभएको थियो तर कांग्रेसको अस्वीकृतिका कारण त्यो सफल भएन। त्यसैले अधिकांश कम्युनिस्टले यसलाई संयुक्त जनआन्दोलनको दोस्रो संस्करण सम्झिए। यथार्थमा त्यो दोस्रो संस्करण थिएन। यो एकदमै नयाँ र सबैलाई छक्क पार्ने विचार थियो।

    उनले नेपाल कम्युनिस्ट पार्टीलाई माओत्से तुङ विचारधाराबाट बाहिर निकाले। नागरिक सर्वोच्चतालाई स्वीकार गरे। ‘जनतालाई काम नलाग्ने सिद्धान्त हामीलाई पनि काम लाग्दैन’ भन्ने उनको आह्वान अहिलेसम्म पनि विभिन्न जिल्लाका पार्टी कार्यालयका भित्तामा टाँसिइरहेका छन्। उनले बहुलवाद र नागरिक स्वतन्त्रताको सुनिश्चितता गरे। जनतालाई काम नलाग्ने, जनतासँग सरोकार नराख्ने सिद्धान्त पार्टीले बोकिरहनु हुँदैन भन्ने निष्कर्ष निकाले। नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा सिद्धान्तीकृत गरिएका यी बिलकुलै नयाँ विचार थिए।

    यिनै नयाँ विचारका कारण तत्कालीन नेकपा एमालेले मदन भण्डारीलाई नवीन विचारक मान्यो भने कर्मकाण्डी कम्युनिस्टहरूले मदन भण्डारी घाँसमा लुकेको हरियो सर्पजस्तो संशोधनवादी भएको घोषणा पनि गरे। तर समयले घोषणा गर्‍यो- मदन भण्डारीले घोेषणा गरेको जनताको बहुदलीय जनवाद नै नेपाली कम्युनिस्ट आन्दोलनको मार्गदर्शक सिद्धान्त थियो। यसै अर्थमा जनताको बहुदलीय जनवाद नै नेपालको सन्दर्भमा मार्क्सवाद भयो।

    नेपालमा हरेक मान्छेले आफ्नो सोचलाई विचारधारा ठान्छ। अहिले जनताको बहुदलीय जनवाद (जबज)को समय सकिएको घोषण पनि नेकपावृत्तबाटै उठेको छ। के साँच्चै जबजको समय सकिएकै हो? त्यसो भए अहिले कुन सिद्धान्तको आधारमा नेपाल कम्युनिस्ट पार्टी चलिरहेको छ। सिद्धान्तबिनाको पार्टी हुँदैन भन्ने सबै कम्युनिस्टहरूले जानेको कुरा हो। खोइ जनताको बहुदलीय जनवादको विकल्प? 

    शिक्षामन्त्री भएर म फिनल्याण्ड पुग्दा हाम्रो दोभाषेले भनेका थिए- हेलसिन्की शहरमा कि साइकलमा चढ्नुपर्छ कि पैदल हिँड्नुपर्छ। उताका मन्त्रीहरू साइकलमा गुड्दै विदेश विभागमा आएका थिए। मेरो टोली सफा सडकमा हिँड्दै हिँडदै त्यहाँ पुगेको थियो जबकि अहिले पनि फिनल्याण्ड पुँजीवादी मुलुक नै हो।

    जनताको बहुदलीय जनवादलाई बुझ्ने आ-आफ्नै दिमाग हुन्छ। मैले कसैलाई डोपामिन खुवाइरहनु पर्दैन। मदन भण्डारीले नै जबजको सीमा तोकिदिनुभएको छ। सम्पूर्ण रूपमा समाजवादको स्थापना नभइन्जेलसम्म जबजको सान्दर्भिकता रहिरहन्छ। अहिले हामी समाज विकासको कुन चरणमा छौँ? काँचो पुँजीवाद, जुन समाजमा पुँजीवाद पनि दह्रो भइसेकेको छैन, त्यो देशमा समाजवादको कुरा गर्नु लाजमर्दो कुरा हो। नेताहरूको दिमागमा जर्रो सामन्तवाद, आमजनताले सिंहदरबारलाई माननीय मानिरहेको अवस्था हो यो। यसलाई फिनल्याण्ड या स्विट्जरल्याण्डको जस्तो परिपक्व पुँजीवाद मान्न सकिँदैन। अहिलेको नेपाली पुँजीवाद भनेको कुपोषणले मर्न आँटेको सुडानको बच्चाजस्तो हो।

    नेता र जनता, नेता र कार्यकर्ताका बीचमा ‘वान वे ट्राफिक’ चलिरहेको अवस्था हो यो। नेताहरू अहिलेसम्म पनि हामी ठूला हौँ, कार्यकर्ता साना हुन् भन्ने मानसिकताबाट बाहिर निस्किन सकिरहेका छैनन्। आमजनताले सिद्धान्त बुझेपछि पुँजीवाद आउँछ भन्ने अबुझ कुरो मैले गरेको होइन, तर देश हाँक्ने नेताहरूमा न्यूनतम रूपमा पनि पुँजीवादी व्यवहार त हुनुपर्‍यो नि! युरोपमा राष्ट्रपति र प्रधानमन्त्री सडकमा निस्कँदा ट्राफिक जाम हुँदैन। उनीहरू आफ्नै देशमा उत्पादन हुने महँगा कार चढ्दैनन्। साइकल चढेका तस्वीरहरू फेसबुकमा सबैले देखेको हुनुपर्छ।

    शिक्षामन्त्री भएर म फिनल्याण्ड पुग्दा हाम्रो दोभाषेले भनेका थिए- हेलसिन्की शहरमा कि साइकलमा चढ्नुपर्छ कि पैदल हिँड्नुपर्छ। उताका मन्त्रीहरू साइकलमा गुड्दै विदेश विभागमा आएका थिए। मेरो टोली सफा सडकमा हिँड्दै हिँड्दै त्यहाँ पुगेको थियो जबकि अहिले पनि फिनल्याण्ड पुँजीवादी मुलुक नै हो।

    संघीयता नक्कल गरेरै आएको हो। यो जनताको माग थिएन। किनभने जनता त के संघीयताको नारा दिने एक जनासँग पनि संघीयतासम्बन्धी ज्ञान थिएन। त्यसैले संघीय सरकार गठन भएको एक वर्षमा पनि त्यो समूहले संविधान जलाउने काम गरिरहेकै छ। 

    मेरो बुझाइमा अहिले पनि संघीयता नेपाली राजनीतिको ढोकाबाहिरै छ। त्यसलाई भित्र ल्याउने हो भने अहिलेको शासन प्रणालीलाई ठ्याक्कै उल्टाइदिनुपर्छ। विकास निर्माणको सम्पूर्ण अधिकार स्थानीय सरकारको हो। माध्यमिक तहसम्मको शिक्षा पनि उसकै अधिकारभित्र पर्छ।

    म नेपालको राजनीति बिगार्ने नेतालाई युरोपियन युनियनका विद्यार्थी भन्छु। अहिले पनि राजनीतिको केन्द्रमा यिनकै रजगज छ। जहिलेसम्म यिनीहरूको रजगज रहिरहन्छ, तहिलेसम्म नेपालको प्रजातन्त्र पनि सुरक्षित हुँदैन। पुँजीवाद र समाजवाद त कल्पनाका कुरा भए किनभने उनीहरूले नेपाली प्रजातन्त्रको मर्म बुझेका छैनन्। यिनीहरू युरोपबाट नराम्रो कुरो जस्ताको तस्तै यता सार्छन्, जुन कुरो कुनै हिसाबले पनि नेपालमा फिट हुँदैन। त्यसैले आफूलाई महान् प्रजातन्त्रवादी ठान्नेहरू पाइलैपिच्छे पछारिइरहेका छन्।

प्रदीप नेपाल

नेकपाका नेता प्रदीप नेपाल राजनीतिसँगै साहित्य रचनामासमेत क्रियाशील छन् ।

 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]