|

दाङ : २०६६ सालमा घोराही उपमहानगरपालिका २ पनौरामा स्थापना गरिएको थारु सांस्कृतिक संग्रहालयमा राजनीतिक विवाद भएपछि संकटमा परेको छ। थारु समुदायको संस्कृति र पहिचानसँग जोडिएर स्थापना गरिएको उक्त थारु संग्रहालय अहिले संरक्षणको अभावमा परेको छ।

संरक्षणको अभावमा थारु जातिसँग जोडिएर निर्माण गरिएका सामग्री समेत विग्रन थाले पछि अहिले संग्रहालय संकटमा परेको सरोकारवालाहरू बताउँछन्। स्थापना भएको  केही वर्षसम्म सञ्चालनमा आए पनि अहिले संग्रहालय पूर्ण रुपमा बन्द रहेको छ।

स्थापनाकालमा देशको विभिन्न ठाउँ र बाहिर देशबाट जिल्लामा आउने पर्यटकहरू अवलोकन गर्न आउने गरेका थिए। तर करिब तीन वर्ष यतादेखि संग्रहालय बन्द भएपछि संग्रहालयमा अवलोकन गर्न आउने पर्यटकहरू फर्केर जाने गरेको पत्रकार एवम त्यहाँका स्थानीय सन्तोष दहितले बताए। यस्तै संग्रहालयको संरक्षणको भूमिका निभाउँदै आएको थारु कल्याणकारिणी सभाको नेतृत्व चयनमा देखिएको राजनीतिक खिचातानीले संग्रालय संकटमा परेको दहित बताए।  

लामो समयसम्म संग्रहालय खुल्न नसेपछि संग्रहालयभित्र रहेका विभिन्न सामग्रीहरूमा ढुसी लागेर कुहिन थालेको संग्रहालय संरक्षकहरूको भनाई छ। त्यस्तै थारु समुदायभित्र विवादका कारण संग्रहालयको नाममा आएको रकम पटक-पटक फ्रिज भएर जाने गरेको छ।

संग्रहालयको भौतिक निर्माण तथा व्यवस्थापनका लागि पुरातत्व विभाग काठमाडाैंले संग्रहालयको भौतिक पूर्वाधारमा सुधार तथा निर्माणको लागि बजेट छुट्याए पनि सम्बन्धित निकायले सम्झौता गर्न नआएपछि बजेट फ्रिज हुने गरेको संग्रहालय निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका लोक संस्कृतविद डाक्टर गोविन्द आचार्यले बताए।

थारु जाति भित्रको राजनीतिक विवादले संग्रहालय संकटमा परेको उनले बताए। उक्त संग्रहालयको व्यवस्थापन समितिका सचिव समेत रहेका थम्मन चौधरीले आफूले संग्रहालयको विकासका लागि धेरै कोसिस गर्दा पनि साथीहरूले साथ नदिएपछि संग्रहालय यस्तो अवस्था हुन पुगेको बताए। थारु समुदायको बाहुल्य रहेको जिल्लामा एउटा थारु संग्रहालयको विकासका लागि थारु अगुवाहरूसँग पटक-पटक छलफल गरे पनि खासै चासो नदिएपछि आफू पनि चुप लागेर बसेको उनले बताए।

संग्रहालयमा थारु समुदायको पहिचान भल्किने विभिन्न सामग्रीहरु राखिएका छन्। परम्परागतमा थारु समुदायले प्रयोग गर्दै आएका विभिन्न किसिमका माटाका भाँडाकुँडाका सामग्रीहरू राखिएका छन्। त्यसैगरी पूर्खाले लगाउँदै आएका भेषभुषा, खेतीपातीमा प्रयोग गर्दै आएको हलो, वर्षामा ओढ्ने छत्री, धान राख्नको लागि माटोका भाँडा ‘डेहरी’, भात पकाउने माटाका भाँडा, तरकारी चलाउने काठको डाडु राखिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.