|

धनगढी : तपाईंलाई दशैँ तिहारका लागि कति फुट्कर पैसा चाहिएको छ ? २७ हजार भन्दा कम हो भने नजिकैको राष्ट्र बैंकबाट सजिलै लिन सकिन्छ। त्यो भन्दा बढीका लागि भने आवश्यक कारण खुलाउन सके सहजै पैसा सटही गर्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ।

दशैँ र तिहारका लागि आइतबारदेखि राष्ट्र बैंकले यस्तो सुविधा सुरु गरेको हो। नजिकैको बैंक तथा बित्तीय क्षेत्रबाट पनि रकम सटही गर्न सकिने व्यवस्था गरिएको छ। कैलालीको धनगढीस्थित नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालयले आइतबार पहिलो दिन ४ सय ६५ जनाले ८० लाख रुपैयाँ सटही गरेका छन्। राष्ट्रबैंक क्षेत्रीय कार्यालयका निर्देशक किरण पण्डितकाअनुसार पहिलो दिन बैंक तथा बित्तीय क्षेत्रहरूले तीन करोड बढी रकम लिएका छन्।

आइतबार पहिलो दिन कैलालीका बिभिन्न क्षेत्रबाट रकम सटही गर्न धनगढीस्थित राष्ट्र बैंक पुगेकाहरू आवश्यक मात्रामा रकम पाएपछि मख्ख परेका थिए।उनीहरूले भीडभाड कम भएकाले रकम सटहीका लागि समय धेरै नलागेको बताए। कैलालीको घोडाघोडी नगरपालिकाबाट रकम सटही गर्न आएका रामबहादुर चौधरीले १० मिनेटमा २० हजार रुपैयाँ सटही गरेको बताए। ‘आजबाट रकम साटिन्छ भनेर धेरै टाडाबाट आएको थिए। समय धेरै लाग्छ जस्तो लागेको थियो त्यस्तो भएन’ चौधरीले भने।

राष्ट्रबैंक धनगढीले ४ वटा काउन्टर बनाएर रकम सटही सुरु गरेपछि सेवाग्राहीले सहजै रकम साट्न पाएको बताए। आइतबारदेखि २९ गतेसम्म रकम साटही गर्न पाउने राष्ट्र बैंकले जनाएको छ। धनगढी शाखाले ५, १०, २० र ५० का दुई/दुई र १०० दरका एक पाकेट गरी प्रतिव्यक्ति २७ हजारका दरले सटही सुविधा उपलब्ध गराएको राष्ट्रबैंक धनगढीका निर्देशक पण्डितले बताए। ‘बैंक तथा वित्तीय संस्थालाई ११ गतेदेखि नयाँ नोट वितरण गरेका थियौं। बैंक तथा वित्तीय संस्थाहरूले पनि आजदेखि नै सटही सुरु गरेका हुन्’  निर्देशक पण्डितले भने।

आइतबारदेखि २९ गतेसम्म राष्ट्रबैंक क्षेत्रीय कार्यालयका धनगढीले ५५ करोड भन्दा बढी रकम सटही गर्ने लक्ष्य राखेको छ। धनगढीको कार्यालयबाट मात्रै करिव ८ हजार जनाले रकम सटही गर्ने राष्ट्र बैंकले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.